दुई महिनादेखि कर्मचारी तलबबाट बञ्चित

शेयेर गर्नुहोस


टीकापुर ०६ असोज/
चालू आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्दा टीकापुर नगरपालिकामा कार्यरत कर्मचारीहरु दुई महिनादेखि तलबभत्ताबाट बञ्चित भएका छन् ।
सरकारले १५/१५ दिनमा निजामती कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउने नीति ल्याएका बेला बजेट कार्यान्वयनमा देखिएको अन्योलताले दुई महिनादेखि नगरपालिकामा कार्यरत कर्मचारी दुई महिनादेखि तलबभत्ताबाट बञ्चित भएका हुन । नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले आफू अनुपस्थित भएको नगर सभाले पारित गरेको बजेट कार्यान्वयनका लागि अख्तियारी दिन नसक्ने अडान लिएपछि नगरपालिका दुई महिनादेखि बजेट शुन्यतामा चलिरहेको छ ।
कार्यवाहक नगर प्रमुखको आधिकारिकताको विवादले निम्त्याएको समस्याको प्रत्यक्ष मारमा सिंगो नगरपालिका परेको छ । जसोतसो भदौ १७ गते बसेको कार्यपालिका बैठकले महिनौं देखिको बजेट कार्यान्वयनको समस्यालाई समाधान गर्ने आश पलाए पनि अन्ततः कार्यवाहक नगर प्रमुख नगार्जीले पुरानै अडान लिएपछि बजेट कार्यान्वयनमा जान सकेको छैन । “दुई महिनादेखि तलब पाइएको छैन । यो समस्या कतिसम्म जाने हो थाहा छैन ।” नगरपालिकामा कार्यरत एकजना कर्मचारीले भने, “यस्तै स्थिति हो भने दशैमा पनि तलबभत्ता आउने सम्भावना देखिँदैन ।” उनले तलब नआउँदा घरायसी खर्च व्यवस्थापन गर्न समेत समस्या हुन थालेको बताएका छन् ।
नगर प्रमुख नगार्जीले भने नगर सभाको विकल्प नरहेको बताए । उनले कागजमा भए पनि नगर सभा हुनुपर्ने बताएका छन् । “म उपस्थित नभएको नगर सभाले पारित गरेको बजेट कार्यान्वयनका लागि अख्तियारी दिन सक्दैन ” उनले भने, “कागजमै भए पनि नगर सभा गरौं, मेरो सहभागिता रहन्छ, त्यसपछि मात्रै बजेट कार्यान्वयनको लागि अख्तियारी दिन सक्छु ।” आफुले जति नै लचकता अपनाए पनि वडा अध्यक्ष आफ्नो अडानबाट टसमस नहुँदा समस्या सिर्जना भएको नगार्जीको आरोप छ ।
कार्यवाहक नगर प्रमुख नगार्जीले कार्यपालिकाको बैठक पछि
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग बजेट कार्यान्वयनको लागि राय माग गरेका थिए । भदौ १८ गते मन्त्रालयलाई पत्र लेख्दै माग भएको रायमा मन्त्रालयको सचीव स्तरीय निर्णयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ को उपदफा (१) मा अध्यक्ष उपाध्यक्ष वा नगर प्रमुख र उपप्रमुख दुवै निलम्वनमा परेमा वा अन्य कुनै कारणले रिक्त रहेको अवस्थामा कार्यपालिकाका सदस्यले आफूहरु मध्येबाट छनोट गरेको सदस्यले अध्यक्ष वा उपाध्यक्ष प्रमुख वा उपप्रमुख भई काम गर्नेछ भन्ने व्यवस्था रहेको हुँदा तहाँ नगरपालिकामा कार्यवाहक अध्यक्ष कायम रहेकै अवस्थामा निजको अनुपस्थितिमा सभा सम्पन्न भएको र कार्यपालिकाको सदस्यले सर्वसम्मत रुपमा उक्त अधिकार प्रदान गरेको भन्ने लगायतको विषय प्रचलित कानून बमोजिम भए वा नभएको सम्वन्धमा संवैधानिक, कानूनी एवं सम्मानित अदालतको आदेश समेतको आधारमा तहाँ नगरपालिकाबाट नै एकिन गरी काम कारवाही अगाडी बढाउन भनिएको छ ।
बजेट शुन्यताले नगरपालिकाको दुई महिना कुनै आर्थिकसँग जोडिएको काम अगाडि बढ्न सकेको छैन । नगरपालिकाको प्रशासनिक कामकाज सबै उधारोमा चलिरहेको छ् । उता सामाजिक सुरक्षा भत्ता वितरणको समय नजिकिँदै छ । चाडपर्वको समयमा सडक बजार सरसफाइ, बजार अनुगमन, सडक बत्ती जडान लगायतका कामकाज पनि प्रभावित बन्दै गएका छन् । “नगरपालिकालाई निकास दिनुपर्छ भन्ने सोचमा जनप्रतिनिधि छैनन् । जसरी पनि आफ्नो स्वार्थ पूरा गर्नुपर्छ भन्ने सोच मात्रै छ ।” स्थानीय कैलाश विश्वकर्माले भने, “आआफ्नो जिद्दीमा रहने हो भने नगरपालिकामा निकास निस्कदैन । जसरी आफ्नो राजनीतिक प्रतिशोध साटेर जनप्रतिनिधि आपसमा लडिरहेका छन्, त्यो समग्र नगरपालिकाको हित विपरीत छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *