प्रदेश सभा सदस्य देउवा पदमुक्त

शेयेर गर्नुहोस


टीकापुर ०३ भदौ /
सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।
लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै देउवा पदमुक्त भएका हुन ।
उक्त निर्णय आगामी सांसद बैठकमा सभामुखले जानकारी गराउने छन् ।
देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलन लगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उपचारका लागि अमेरिकाबाटै पत्राचार गरेका थिए । अमेरिका गएको ११ महिना पुगिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् ।
छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए ।
सभामुखलाई सम्बोधन गरी पठाइएको पत्रमा उनले व्यक्तिगत कामका सिलसिलामा अमेरिका पुगेको र त्यसपछि स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहनुपरेको बताएका थिए । स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता जनाएका उनी नेपाल फर्किएनन ।
नेपालको संविधानमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ । धारा १८० को (घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था उल्लेख गरिएको छ । यही व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो ।
सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।
देउवा सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उपस्थित भएनन् । पछिल्लो २७ वटा बैठकमा उनको हाजिरी नरहेको प्रदेश सभा सचिवालयको अभिलेखमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म एक्व सय २८ वटा बैठक बसेका छन् । तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन् ।
अमेरिकामा रहेका देउवाको खातामा प्रदेश सभा सचिवालयले नियमित रूपमा सेवा–सुविधा बापतको रकम भने पठाउँदै आएको छ । सचिवालयका अनुसार ११ महिनामा मात्रै देउवाले ७ लाख ५३ हजार पाँच सय रुपैयाँ बुझेका छन् । उनको खातामा मासिक पारिश्रमिक, धाराबिजुली, सञ्चार र अतिथि सत्कार लगायतका शीर्षकमा रकम पठाइँदै आएको थियो ।
प्रदेश सभा सचिवालयले पारिश्रमिकबापत ५६ हजार पाँच सय रुपैयाँ, धाराबिजुलीबापत दुई हजार, सञ्चार सुविधाबापत तीन हजार र अतिथि सत्कारबापत ७ हजार रुपैयाँ गरी मासिक ६८ हजार पाँच सय रुपैयाँ देउवाको खातामा जम्मा गर्दै आएको जनाएको छ । गत जेठमा निजी आवास मर्मत शीर्षकमा थप ३५ हजार रुपैयाँसमेत उनको खातामा पठाइएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *