म सेवा गर्न राजनीतिमा आएको हुँ : थारु

शेयेर गर्नुहोस

टीकापुर १८ माघ/

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामलाल डगौरा थारुले सेवा गर्नकै लागि आफु राजनीतिमा आएको बताएका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा थारुले आफ्नो सबै परिवार व्यवसायमा लागेको बताउँदै पैसा कमाउनको लागि नभई आफू विशुद्ध सेवाको लागि राजनीतिमा आएको बताएका हुन । “मेरो छोरा व्यापार गर्छ । भाइले व्यापार गर्छन् । छोरी जागिरमा छन् । श्रीमती कुखुरा फार्म सहित अन्य काममा व्यस्त छन् ।” उनले भने, “मलाई अपुग केही छैन । म कमैयाको छोरा उत्पीडित, जाती, समुदाय र नागरिकहरुको पक्षमा कटिबद्ध भएर लाग्ने छु । यो मेरो प्रण हो ।” पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाइएको भन्ने आम जनगुनासो आउने गरेको उल्लेख गर्दै आफू भने सेवाको लागि राजनीतिमा आएको बताए ।
टीकापुर नगरपालिकाको साढे तीन वर्ष नगर प्रमुखको जिम्मेवारीमा रहेका थारुले संविधानको कार्यान्वयनमा देखिएको उल्झनका कारण स्थानीय तहबाट अपेक्षा अनुसार काम गर्न असम्भव भएको उल्लेख गरेका छन् । “मैले धेरै गरौंला सोचेको थिए । नेतृत्वमा रहँदा कानुनी अड्चन अनि संविधान कार्यान्वयनमा देखिएको उल्झनले सोचेअनुसार काम हुन सकेको छैन ।” थारुले भने, “त्यसका लागि संसदमा पुग्न सके, नीति निर्माण तहमा हुँदा स्थानीय तहलाई काम गर्न देखिएका उल्झनलाई सुल्झाउने वातावरण सिर्जना गरेर सम्भावनालाई साकार पार्न सकिनेछ ।”
उनले राजनीतिक दल र राजनीतिक आस्थाले मात्रै सक्षम नेतृत्व चयन हुन नसक्ने बताएका छन् । “म सक्षम छु वा छैन त्यो जनताले छुट्याउने कुरा हो । मैले आफै सक्षम छु भन्न मिल्दैन ।” रामलाल भन्छन्, “यदि म भन्दा अर्को व्यक्ति सक्षम भए मलाई भोट नदिँदा हुन्छ । म सक्षम देखिन्छु भने मलाई भोट दिनुहोला ।” कैलाली क्षेत्र नं. १ धेरै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै नेकपाका उम्मेदवार थारुले कृषि क्षेत्रसँगै पर्यटनको क्षेत्रबाट समृद्ध बनाउन सकिने बताएका छन् ।
साथै सुकुम्बासी समस्या समाधान वर्तमान समयमा गर्न निकै कठिन भएको उल्लेख गर्दै उनले संसदमा पुगेर अहिलेको नीति नै परिवर्तन गरेर यथास्थितिको जग्गाको लेखाजोखा गरेर सुकुम्बासी समस्या समाधान गर्न सकिने बताएका छन् । थारुले स्थानीय सरकारले चाहेर अनि अहिलेको भुमी आयोगले चाहेर टीकापुरका सुकुम्बासीको व्यवस्थापन गर्न कठिन देखिएको उल्लेख गर्दै त्यसका लागि संसदबाट नयाँ विकल्पका साथ आगामी दिनमा समाधान खोजिने प्रतिबद्धता व्यक्त गरे ।
टीकापुर विमानस्थलको विषयमा थारुले आफुले पटकपटक विमानस्थल सञ्चालनका लागि प्रयास गरेको स्मरण गर्दै सञ्चालन गर्न नसकिने अवस्थामा टीकापुरको साझा सम्पत्ति कसैले अलपत्र पारेर कब्जामा राख्न नपाउने बताएका छन् । उनले विमानस्थल सञ्चालनको विषयलाई जसरी पनि टुंगोमा पुर्याउने बताए । कैलाली क्षेत्र नं. १ मा थारुले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् । उनले प्रत्येक वडा तथा क्षेत्रमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेर जनतालाई जोड्ने काम गरेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *