मापदण्डअनुसार चल्न मेडिकल सञ्चालकलाई आग्रह

शेयेर गर्नुहोस


टीकापुर १४ वैशाख /
टीकापुर नगरपालिकाले टीकापुरमा सञ्चालन हुँदै आएका मेडिकल तथा औषधि पसललाई नियमअनुसार चल्न आग्रह गरेको छ ।
नगरपालिकाले जुन प्रयोजनको लागि मेडिकल वा औषधि पसल सञ्चालन गरिएको हो त्यतिमात्र काम गर्न आग्रह गरेको हो । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कमलबहादुर रावलले मापदण्डअनुसार सबै औषधि पसल वा मेडिकललाई सञ्चालन गर्न सञ्चालकहरुलाई आग्रह गरेका छन् । “अहिले यहाँ औसधि बिक्रेता भनेर बिरामी चेकजाँचदेखि सबै काम गर्ने गरिएको देखिन्छ । त्यो नियम सम्मत छैन ।” रावलले भने, “यसमा हामीले पटकपटक चेतावनी दिँदै आएका छौँ । अब चेतावनी नभई जरीवाना तिराउने, त्यसै परे पसक सिल गर्नुपर्ने हुनसक्छ ।”
टीकापुर बजारमा रहेका अधिकांश मेडिकल तथा औषधि पसल मापदण्ड विपरीत सञ्चालन हुँदै आएका छन् । सरकारले रोक लगाइएका औषधि तथा अन्य सामाग्रीहरु ती मेडिकल, क्लिनिकहरुले बिक्रीवितरण गर्दै आएका छन् । अझै कैयौं प्रयोगशाला मापदण्ड भन्दा गम्भीर लापरबाहीका साथ सञ्चालन भैरहेका छन् । औषधि बिक्रेता भएर बिरामीको उपचार मात्रै हुँदैन, रोग पत्ता लगाएर भन्दा अनुमानको भरमा हुने उपचारले मानव स्वास्थ्यमा अर्को जोखिम निम्त्याउने खतरा बढ्दै गएको छ ।
उता नेपालको कानुनतर्फ हेर्दा, मातृदूधको विकल्प (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले मातृदूधको विकल्पका सामग्रीहरूको बिक्री–वितरण र प्रचारप्रसारमा कडा व्यवस्था गरेको भए पनि बजारमा रहेका मेडिकल, क्लिनिक तथा औषधि पसलले खुला रुपममा शिशुलाई दूध खुवाउने बोतल, निप्पल, फिडर आदिको सहज बिक्रीवितरण गर्दै आएका छन् ।
यसको मुख्य उद्देश्य आमाको दूधलाई प्रोत्साहन गर्नु हो।
कानुन अनुसार ६ महिनाभन्दा कम उमेरका शिशुका लागि बजारमा पाइने दूध, शिशुलाई दूध खुवाउने बोतल, निप्पल, फिडर आदि बिक्रीवितरण गर्न पाइँदैन । बिक्रीवितरण गरेको पाइएमा जरिवाना, सामग्री जफत, इजाजतमा कारबाही,
वा अन्य कानुनी दण्ड हुनसक्ने व्यवस्था छ ।
जनस्वास्थ्य निरीक्षक रावलले नगरपालिकाले गरेको कैयौंपटकको अनुगमनमा सचेत गराउने काम मात्रै भएको उल्लेख गर्दै यसपछिको अनुगमनमा कारबाहीको सिफारिस हुने जानकारी मेडिकल सञ्चालकहरुलाई दिएका छन् । “सबैलाई हामीले कानुनलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्छौं ।” उनले भने, “कानुनभन्दा बाहिर रहेर कुनै काम भएको भए त्यो स्विकार्य हुनेछैन । त्यसले सजाय पाउनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *