शेयेर गर्नुहोस
टीकापुर २८ वैशाख /
हुलाकी राजमार्ग अन्तर्गत कैलालीको लम्की-टीकापुर-खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकहरूले निकै सास्ती खेप्नुपरेको छ । २०७७ सालमा तीन प्याकेजमा सुरु भएको २९ किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकहरूले सास्ती खेप्नुपरेको हो । हालसम्म दुई प्याकेजमा सम्पन्न हुँदा टीकापुरको अस्नेहरी हुँदै खक्रौलासम्मको ११ किलोमिटर सडकको पाँच वर्षसम्म सम्पन्न हुन सकेको छैन ।
प्रत्येक दिन त्यहीँ सडक प्रयोग गर्दै आउनुभएको निरा काफ्ले धुलो र हालेका गिट्टीले निकै समस्या पारेको बताउनुहुन्छ । धुलोका कारण कार्यालय पुग्दासम्म लुगा र अनुहार कुरुप बन्ने गरेको उहाँको गुनासो छ । “सडकमा गिट्टी हालेर छोडेको पनि महिनौं भयो । त्यो गिट्टीमा गाडी चलाउन निकै गाह्रो हुन्छ ।” उहाँ भन्नुहुन्छ, “दुर्घटनाको निकै जोखिम छ । गिट्टीमा गाडी कन्ट्रोल गर्न निकै गाह्रो हुन्छ ।”
२०७७ असार १४ गते सम्झौता भएर २०७९ पुस १३ गते सम्पन्न गर्नुपर्ने आयोजनाको म्याद तीनपटक थप भैसकेको छ । उक्त म्याद पनि फागुन २५ गते सकिएको हुकाकी राजमार्ग निर्देशनालय आयोजना कार्यान्वयन कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले जानकारी दिनुभएको छ । ३३ करोड २० लाख ६६ हजार ६ सय ३० रुपैयाँको लागतमा निर्माण सुरु भएको योजनाको काम रायमाझी लाग्वा जगदम्बा जेभीले गर्दै आएको छ ।
केही वर्ष तिलक लम्साललाई उक्त आयोजनाको काम गरे पनि काम सम्पन्न नभएपछि जेभीले आफै काम गर्ने निर्देशक भरत रायमाझीले जानकारी दिनुभएको छ । उहाँले अरुको भरमा पर्दा काममा ढिलाइ भएको बताउनुभयो । बढ्दो महंगीले काम सुचारु गर्न समस्या भएको उल्लेख गर्दै रायमाझीले बाध्यताले भए पनि काम गर्नुपर्ने बताउनुभयो ।
समयमा काम सम्पन्न नहुँदा सडक आसपासका नागरिकहरूलाई झन समस्या हुँदै आएको छ । गर्मीको मौसममा उड्ने धुलोले जनस्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको स्थानीय सुन्दरलाल चौधरी बताउनुहुन्छ । “मालवाहक गाडी गुड्दा उड्ने धुलो घरभित्रसम्म पुग्छ । त्यहीँ धुलो खानेकुरामा मिसिन्छ । उहाँले भन्नुभयो, ” सडमा सिँचाइको लागि पटकपटक निर्माण कम्पनीलाई ताकेता गर्दा कोहि सम्पर्कमै आउँदैनन् ।”
त्यस्तै टीकापुर नगरपालिका वडा नं. ७ सत्ती हुँदै भजनी नगरपालिका वडा नं. ३ ठेकिपुरसम्मको साढे १० किलोमीटर सडकको अवस्था झन खराब छ । हुलाकी राजमार्गमै पर्ने यो सडक निर्माणको ठेक्का २०७७ सालमै भएको थियो । चार प्याकेजमा ठेक्का भएको आयोजनाको तेस्रो प्याकेजसम्मको काम सम्पन्न भएको छ । सडक निर्माणको ठेक्का कालिका जोशी जेभीले पाएको छ । सडकको प्रगति ५० प्रतिशत मात्रै छ । ३२ करोड ६२ लाख ३९ हजार ६ सय ३८ रुपैयाँमा लागत रहेको सडक यसवर्ष पनि सम्पन्न हुने सम्भावना नरहेको भजनी नगरपालिका वडा नं. ८ का कालुराम पाण्डे बताउनुहुन्छ । कालिका जोशी जेभीका निर्देशक गणेश जोशीले विगतमा भुक्तानीमा समस्या हुँदा समयमा काम सम्पन्न गर्न नसकिएको जानकारी दिनुभयो । महंगीका कारण काम गर्न चुनौती थपिएको उहाँको भनाइ छ । धुलाम्मे सडकमा पानी हाल्ने उहाँले बताउनुभयो ।
झलनाथ खनाल
९८६८७७०००३










