हवाई भाडा अब साढे आठ हजार

शेयेर गर्नुहोस


टीकापुर ०५ पुस /
टीकापुरबाट काठमाडौंसम्मको हवाई भाडा समायोजन गरिएको छ ।
यति एयरलाइन्सले अब टीकापुर-काठमाडौंसम्मको हवाई भाडा ८ हजार पाँच सय रुपैयाँ कार्यान्वयन गर्ने भएको हो । सुरुमा हवाई भाडा ९ हजार हवाई भाडा कायम भएको थियो । त्यसैगरी हप्तामा दुई दिन आइतबार र बिहीवार सञ्चालन हुँदै आएको हवाई सेवा अबदेखि मंगलबार पनि थप गरिएको छ । अबदेखि हप्तामा तीन दिन सञ्चालनमा आउने भएको छ ।
शुक्रबार टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले पत्रकार सम्मेलन मार्फत स्थानीयको मागअनुसार हप्तामा तीनदिन हवाई सेवा सञ्चालन गर्न लागिएको बताएका छन् । “हामीलाई सुरुमा बाहिरबाट विमानस्थल चल्दैन भनेर अफवाह फैलाउने काम भएको थियो । अहिले हामीले प्रमाणित गरिसकेका छौँ कि अहिले नगरपालिकाले कुनै दायित्व लिनुपर्ने स्थिति देखिएको छैन ।” नगर प्रमुख थारुले भने, “अहिले नागरिकहरूले टिकट पाइरहेका छैनन् । मागअनुसार नै अहिले एकदिन थप गरेर तीन दिन बनाउने तयारी गरेका छौँ ।” यात्रुको यस्तै चाप रहने अपेक्षा उनले गरेका छन् ।
टीकापुर विमानस्थल सञ्चालनका लागि विगतदेखि नै महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका समाजसेवी टीकाराम जैशीले पटकपटकको प्रयासका साथ विमानस्थल सञ्चालनमा ल्याउन सकिएको बताउँदै आगामी दिनमा अझै विमानस्थललाई व्यवस्थापन गर्नेतर्फ लाग्ने बताएका छन् । उनले आवश्यकताको आधारमा दिन थप्ने विषयमा पनि एयरलाइन्ससँग छलफल हुँदै आएको भन्दै भाडाको विषयमा अझै लचिलो बन्न प्रयास गरिँदै आएको बताएका छन् । उनले विमानस्थल सञ्चालनमा आउनु टीकापुरका लागि महत्त्वपूर्ण विषय भएको बताएका छन् । “हामी जसरी टीकापुर विमानस्थल सञ्चालन गर्न सफल भयौं, त्यसैगरी विमानस्थलको स्तरोन्नतिका लागि पनि लाग्नुपर्ने देखिन्छ ।” जैशीले भने, “विमानस्थलबाट जहाज चलाउन सकिन्छ भन्ने प्रमाणित भैसकेको अवस्थामा ठूलो जहाज टीकापुरबाट काठमाडौं उडान भर्ने पुर्वाधार विकास गरेर त्यसलाई पनि सफल बनाउनु छ । त्यो पनि सफल हुन्छ ।” उनले यात्रुका कारण विमानस्थल सञ्चालनमा आउन चुनौती नभएको पुष्टि भैसकेको बताएका छन् ।
सम्मेलन मार्फत विमानस्थल सञ्चालनमा ल्याउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *