अक्सिजन प्लान्ट जडान अझै अनिश्चित

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १२ भदौ /
टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चित जस्तै बनेको छ ।
कोरोनाको दोस्रो संक्रमणको बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदुरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो । टीकापुर अस्पतालमै दैनिक ६/७ जना कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि नागरिक स्तरबाट समेत सहयोगको आव्हान गरिएको थियो । त्यसपछि टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाले पनि अक्सिजन प्लान्ट जडानका लागि बजेट दिने निर्णय गरि प्रक्रिया अगाडि बढाइएको भएपनि निर्माण कम्पनिको ढिलाइका कारण अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको हो ।
अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि हेल्थ केयर सप्लायर्स काठमाडौसँग २०७८ जेठ १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार सप्लायर्सले असार १७ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो । त्यसपछि पनि अस्पतालले थप ४ दिनका लागि म्याद थप गर्यो । म्याद सकिएको पनि करिब दुई महिना पुग्नैलाग्दा समेत सप्लायर्स सम्पर्कमा आउन सकेको छैन । अस्पताल विकास समितीका अध्यक्ष दिपक रावलले अक्सिजन प्लान्ट जडान भदौ १५ गतेभित्र सम्पन्न गर्ने आश्वासन दिएको बताएका छन् ।
उनले मन्त्रालयमा बुझ्दा अन्य कुनै ठाउँमा पनि अक्सिजन प्लान्ट जडानको काम नभएको र अहिले नै आत्तिहाल्नु पर्ने अवस्था पनि आइनसकेको भन्ने जवाफ आएको बताए । “ढुवानीको समस्याका कारण अन्त पनि काम अगाडि बढ्न सकेको छैन । अब यो महिनाभित्र काम सम्पन्न भए पनि राम्रै हुन्थ्यो ।” अध्यक्ष रावलले भने, “सम्झौता खारेज गरेर अर्को गर्दा झन बढी समय लाग्ने भएका कारण यसैलाई निरन्तरता दिइएको हो । भदौ सम्म काम सकेन भने सप्लायर्सले पैसा पाउदैन र धरौटी बापतको ८ लाख रुपैयाँ पनि जफत हुन्छ ।” संघीय सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको अक्सिजन प्लान्ट जडानका लागि विनियोजन गरेको बजेट भदौ मसान्तसम्म खर्च गर्न पाउने व्यवस्था मिलाएको छ । भदौ मसान्तसम्म पनि रकम खर्च हुन सकेन भने बजेट फ्रीज जाने भएकाले पनि यहि मसान्तसम्म काम हुने बिश्वास अध्यक्ष रावलले ब्याक्त गरेका छन् ।
सप्लायर्सका अमीर खानले अक्सिजन प्लान्टको सामान भन्सार पुगेको बताउँदै भदौ भित्र प्लान्ट जडान गरिसक्ने बताएका छन् । “सामानहरु भन्सार पुगेको छ । केही दिनमा काठमाडौ पुगेपछि हामिले सामान छुट्याएर टीकापुरको लागि पठाउँछौ ।” खानले भने, “सामान आपूर्तिमा ढिलाई भएका कारण समय लागेको हो । अब सामान आइसकेको छ । सामान पुगेपछि ३/४ दिनमा अक्सिजन प्लान्ट जडानको काम सम्पन्न भैहाल्छ ।”
सामान यति गते टीकापुर पुग्छ भन्ने कुनै निश्चित नभएको बताउँदै खानले भदौ भित्र जसरी पनि काम सम्पन्न हुने दाबी गरेका छन् । उनले भदौमा काम सम्पन्न नगरे आफुहरुले जम्मा गरेको धरौटी रकम समेत जफत हुने भन्दै जसरी पनि काम सम्पन्न गर्नुपर्ने बताए ।८९ लाख २७ हजार रुपैयाँमा सप्लायर्सले अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *