अख्तियारमा उजुरी बढ्दै

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १६ मंसिर /
सुदुरपश्चिममा अख्तियारमा उजुरीको संख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषययक अन्तरक्रिया कार्यक्रममा दैनिक उजुरीहरु बढ्दै गएको बताएको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २७७/०७८ मा आयोगको कार्यालयमा ९०७ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ बाट ८३८ उजुरी सरिआएका थिए भने , ती मध्ये ७०७ उजुरी आत्रै फछ्र्यौट भएको आयोगको कार्यालयका अनुसन्धान अधिकृत रामचन्द्र बस्नेतले बताउनुभएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै स्थानीय तहका उजुरी परेको बताउँदै अनुसन्धान अधिकृत बस्नेतले स्थानीय तह अन्तरगतका ३३३ उजुरी परेकोमा शिक्षा अन्तर्गत १४३ र उद्योग वन पर्यटन अन्तर्गत ९६ उजुरी परेको बताउनुभयो ।
आयोगले गत आर्थिक वर्षमा ११४ वटा उजुरी अन्तर्गत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको भन्दै अनुसन्धान अधिकृत बस्नेतले मुद्दा दायर भएका व्यक्तिहरुबाट आयोगले १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो माग दावी गरेको समेत बताउनुभएको छ । कार्यालयले हाल ८३ उजुरीको विस्तृत र १ हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । जसमध्ये सबैभन्दा धेरै कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ रहेका छन् ।
कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले अनियमितता नेतृत्वबाटै बढी हुने गरेको बताउँदै स्थानीय तहमा धेरै चुनौतीका बाबजुद काम गर्दै जाँदा समस्या भएको हुनसक्ने बताउनुभएको छ । “हामी जनप्रतिनिधि एक नाङ्गो आँखा हौं । हामिले हेर्नेको नाङ्गो आँखाले मात्रै हो ।” उपाध्यक्ष महतोले भन्नुभयो, “स्थानीय तहलाई कानुन र बिधिलाई व्यवस्थापन गर्न लामो समय लागेका कारण पनि भ्रष्टाचार बढेको देखिन्छ । खासमा सहि नियतले काम गर्न सकेमात्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरका प्रमुख रामबहादुर कुरुम्वाङले दक्ष ब्याक्तीहरुबाट नै भ्रष्टाचारको खतरा बढ्दै गएको बताउँदै नेपालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकै कारणले पनि भ्रष्टाचार बढेको बताउनुभएको छ। उहाँले अख्तियारसँग कर्मचारीहरुले त्रसित हुनुपर्ने कुनै कारण नभएको भन्दै सबैको सामुहिक प्रयासले मात्रै भ्रष्टाचारलाई कम गर्न सकिने बताउनुभयो ।
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले कर्मचारीहरुलाई स्थानीय तहमा काम गर्न निकै चुनौती भएको बताउँदै चुनौतीसँगै सिकाइका अवसरहरु पनि स्थानीय तहमा रहेको बताउनुभएको छ । उहाँले स्थानीय तहमा उपभोक्ता समिती गठनका लागि केन्द्रबाट कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने भन्दै भ्रष्टाचारका विषयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई सँगै राखेर छलफल चलाउन आवश्यक रहेको बताउनुभयो ।
जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले अख्तियारमा उजुरी बढ्दै गएको भएपनि त्यसको फरफारकमा निकै समय लाग्ने गरेको बताउँदै गलत नियतले परेका उजुरीमा उजुरी हाल्नेलाई पनि कार्वाहीको व्यवस्था हुन आवश्यक रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *