शेयेर गर्नुहोस
टीकापुर १५ फागुन /
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अरुण ठकुल्लाले जनकराज चौधरीलाई समर्थन जनाएका छन् ।
कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका ठकुल्लाले नेपाली काँग्रेसका उम्मेदवार चौधरीलाई समर्थन गरेका हुन । बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै चौधरीलाई सहयोग गर्ने जानकारी दिएका छन् । ठकुल्लाले आफ्ना मतदाता, समर्थक तथा शुभेच्छुक सबैलाई नेपाली काँग्रेसका चौधरीलाई सहयोग गर्न अपिल गरेका छन् ।
व्यक्तिगत तथा पारिवारिक पृष्ठभुमि नेपाली काँग्रेस आस्थावान रहे पनि देशको विषयम परिस्थितिलाई मध्यनजर गर्दै आफुले देश र जनताको आवश्यकता अनुसार स्वतन्त्र उम्मेदवारी दिएको उल्लेख गर्दै पछिल्लो समयमा कसैसँग पुर्वाग्रहको भावना नराखी टीकापुर क्षेत्र बनोस् र यस क्षेत्रले सक्षम नेतृत्व पाओस् भन्ने चाहनाअनुसार उम्मेदवारी निष्क्रिय पारेको बताए ।
“कैलाली क्षेत्र नं. १ का लागि उपयुक्त पात्र जनकराज चौधरीलाई उपयुक्त नेतृत्व महसुस गरेर आफ्नो उम्मेदवारी रद्द गरेको सबै क्षेत्र नं. १ बासीमा जानकारी गराउँदछु ।” उनले सार्वजनिक गरेको प्रेस बिज्ञाप्तिमा भनिएको छ, “सामाजिक न्याय, विधिको शासन, आर्थिक पारदर्शिता, सुशासन कायम, विकासको आकांक्षा, संविधानको रक्षा र समुन्नत लोकतन्त्रको निरन्तरताको लागि मैले नेपाली काँग्रेसका जनकराज चौधरीलाई समर्थन गरेको छु ।”
यसअघि नेतृत्वका विरुद्ध असन्तुष्टि जनाउँदै ठकुल्लाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । ठकुल्लासँगै स्वतन्त्र उम्मेदवारी दिएका तपेन्द्र शाह र सत्यनारायण भट्टराईले पनि आफ्नो उम्मेदवारी यसअघि नै निष्क्रिय पारिसकेका छन् । शाह र भट्टराईले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौरा थारुलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए ।










