शेयेर गर्नुहोस
टीकापुर ३२ असार /
सुगम क्षेत्रमा सञ्चालनमा रहेको एक ग्रामीण विद्युत सहकारी संस्था अस्तव्यस्त अवस्थामा सञ्चालन भैरहेको पाइएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ टीकापुरमा रहेको न्यु साहारा ग्रामीण विद्युत सहकारी संस्थाको कार्यसञ्चालन निकै अस्तव्यस्त पाइएको हो । डेनमार्क विद्युत लाइनको नामबाट परिचीत उक्त क्षेत्रका नागरिकहरूले न त राम्रो सेवा पाउन सकेका छन् न त आफुले सहकारीको हर हिसाब बुझ्न नै । नेपाल विद्युत प्राधिकरण भन्दा महंगोमा विद्युत सेवा उपभोग गर्दै आएका उपभोक्तालाई ग्रामीण सहकारीको भविष्य नै अन्योलमा देखिएको छ ।
त्यतिमात्र होइन प्राधिकरणको दररेट भन्दा महंगो विद्युत महसुस तिर्दै आएका उपभोक्ताले भोल्टेजको समस्या झेल्दौ आएका छन् । अत्याधिक गर्मी भएको दिनमा भोल्टेज कम हुँदा घरमा पंखा चल्दैनन । अन्य मेसिनरी सामानको कुरा त धेरै परको कुरा हो । उपभोक्ताले अनावश्यक रुपमा सहकारीलाई विद्युत चुहावट बातत मासिक १० रुपैयाँ तिर्दै पनि आएका छन् भने थप १० रुपैयाँ सेवा शुल्क पनि तिर्दै आएका छन् ।
झण्डै आठ सय उपभोक्ता भएको विद्युत सहकारी दुई वर्ष भन्दा लामो समयदेखि नेतृत्व बिहिन अवस्थामा छ । कार्यवाहकबाट सञ्चालन हुँदै आएको सहकारीले चालू आर्थिक वर्ष लगाएर तीन वर्षदेखि सहकारीको लेखापरीक्षण समेत हुन सकेको छैन । साधारण सभा आयोजना हुने कुरै भएन । उपभोक्तालाई गुमराहमा राखेर आर्थिक चलखेल भएको हुनसक्ने अनुमान समेत गर्न थालिएको छ ।
“आर्थिक वर्ष २०७९/०८० देखि सहकारीको लेखापरीक्षण हुन सकेको छैन । हामीले यसवर्ष लेखापरीक्षण गर्ने भनेका थियौं, तर हुन सकेन ।” सहकारीका व्यवस्थापक गोविन्द चौधरीले भने, “अब साउनमा लेखापरीक्षण गरेर साधारण सभा गर्ने तयारी छ ।” सहकारीमा उनी सहित तीनजना कर्मचारी छन् । एकजना लाइन म्यानको पदमा कार्यरत छन् भने अर्को मिटर रिडरको रुपमा काम गर्दै आएका छन् ।
सहकारीका अध्यक्ष गणेश ओली विदेश छन् । उनी विदेश गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी टेकबहादुर कडायतलाई दिइएको छ । उनले कार्यवाहकको जिम्मेवारी पाएको पनि दुई वर्ष भन्दा बढी भैसक्यो । सहकारीको साधारण सभाका गर्ने कुरा उठे पनि आवश्यक तयारी हुन नसक्दा लम्बिँदै गएको कार्यवाहक अध्यक्ष कडायत बताउँछन् । “वर्षैपिच्छे साधारण सभा र सहकारीको लेखापरीक्षण गरिनुपर्ने हो । संस्था भित्रका केही आन्तरिक कुराहरूले हुन सकेको छैन ।” उनले भने, “आउने वर्षको साउनमै साधारण सभा गर्ने भनेका छौँ ।” उनले कर्मचारीको लापरबाहीका कारण पनि समयमा हुनुपर्ने काम नभएको आरोप लगाए ।










