शेयेर गर्नुहोस
भजनी २१ वैशाख /
कुनै समय अस्तव्यस्त अवस्थामा रहेको भजनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पछिल्लो समय लय समात्न सफल भएको छ ।
२०५४ सालमा स्थापना भएको भजनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पछिल्लो समय चयन भएर आएको व्यवस्थापन समितिले खानेपानीलाई मजबुत बनाउँदै लयमा ल्याउन सफल भएका हो । २०७७ सालको चैतसम्म विवादित अवस्थामा रहेको भजनी खानेपानीले आफ्नो साधारण सभासम्म गर्न सकेको थिएन । साधारण सभामा विवाद हुँंदा केही समय भजनी नगरपालिकाले आफ्नो मातहतमा लिएर सञ्चालन गरेको संस्थाले २०७७ चैत २१ गते नयाँ कार्यसमिति पाएसँगै खानेपानी संस्था व्यवस्थित बनेको छ ।
उसरी कैलाली जिल्लाकै दोस्रो पुरानो खानेपानी आयोजना भए पनि संस्थाले दुई लाख भन्दा बढी एकै जना कर्मचारीको पारिश्रमिक मात्रै तिर्न बाँकी रहेको संस्थाका अध्यक्ष नैन बहादुर चौधरी बताउँछन् । “हामी समितिमा आउँदा कर्मचारीलाई तिर्नुपर्ने पारिश्रमिक सहित संस्थाको स्थिति निकै दयनीय थियो । त्यसलाई तीन वर्षमा एउटा लयमा ल्याउन सफल भएका छौँ । आज संस्थाले कसैको तिर्नुपर्ने कुनै रकम छैन ।” उनले भने, “व्यवस्थापकीय पाटोमा संस्थालाई व्यवस्थित र मजबुत बनाउन सफल भएका छौँ । यति भनिरहँदा अझै संस्थामा धेरै कामहरू बाँकी छन् ।”
तीन सय ९४ उपभोक्ता रहेको खानेपानीमा त्यसबेला एक सयभन्दा बढी धारा बन्द अवस्थामा रहेको दाबी गर्दै अध्यक्ष चौधरीले अहिले पाँच सय ७८ उपभोक्ता रहेको बताए । त्यसबेला प्रती उपभोक्ता एक सयका दरले महसुल लिने व्यवस्था खानेपानीमा थियो । जुन महसुलले खानेपानीको विद्युत महसुल तिर्न पनि मुस्किल हुन्थ्यो । उनले धारामा मिटर सिस्टम जडान गर्नुका साथै सफ्टवेयर मार्फत पानीको महसुल भुक्तानीको व्यवस्था गरिएको बताएका छन् । खानेपानी संस्थाले एक सय ५० रुपैयाँ न्युनतम शुल्क खानेपानीको तोकेको छ । त्यतिमात्र नभई बजार क्षेत्रमा स्थानीयका लागि एउटा धारा नि:शुल्क जडान गरिएको छ भने अन्य पाँच धारा नि:शुल्क वितरण गरिएका छन् । संस्थाले दैनिक आठ घण्टा उपभोक्ताका लागि पानी छोड्ने गरेको छ ।
खानेपानीको महसुलबाट अहिले कर्मचारीको पारिश्रमिक, कार्यालय व्यवस्थापन खर्च, विद्युतको महसुल खर्च धान्न पुगेको संस्थाका सचीव टीकाराम जोशीले बताएका छन् । “सुरुमा निर्वाचित भएर आउँदा संस्थाको अवस्था देखेर केही गर्न सकिँदैन कि भन्ने लागेको थियो । कार्यसमितिका पदाधिकारीहरुको मिहेनत र उपभोक्ताको विश्वासले खानेपानीमा धेरै गर्न सकेको महसुस हुँदै गएको छ ।” सचीव जोशी भन्छन्, “अझै केही महत्त्वपूर्ण कामहरू गर्न बाँकी छन् । ती कामहरू सम्पन्न भयो भने भजनी खानेपानीलाई नमुना खानेपानीको रुपमा स्थापित गर्न सकिन्छ ।”
त्यही खानेपानीको मातहतमा वडा नं. २ मा अर्को खानेपानी आयोजनाको काम भैरहेको छ । नेपाल सरकारको करिब २२ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाले वडा नं. २ को रजवारा, मोहनपुर र वडा नं. ३ को काढा र धुसीका स्थानीय लाभान्वित हुनेछन् । संस्थाका पदाधिकारी आफुहरुको कामबाट उपभोक्ता सन्तुष्ट भएको दाबी गर्छन् । नयाँ धाराको लागि पनि स्वस्फूर्त रुपमा उपभोक्ता कार्यालय पुग्ने गरेको सचीव जोशी बताउँछन् । उनका अनुसार नगरपालिकाले पनि खानेपानी संस्थालाई सहयोग गर्दै आएको छ । कार्यालय परिसर भित्र जडान भएका सोलारलाई सञ्चालनमा ल्याएको उनले बताए ।
खानेपानी संस्थाले यहीँ २२ गते दोस्रो चुनावी साधारण सभा आयोजना गर्दैछ । जुन साधारण सभाले संस्थाको नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्ष चौधरी विगतमा कुनै राजनीतिक आग्रह पुर्वाग्रह नराखेर काम गर्दा खानेपानी संस्थालाई एउटा गतिमा पुर्याउन सफल भएको बताउँदै आगामि दिनमा आउने कार्यसमिति पनि त्यस्तै खालको आउनुपर्ने बताउँछन् । उनले राजनीतिक पुर्वाग्रह नराखेर संस्थामा काम गर्न सक्यो भने संस्थालाई बलियो बनाउन सकिने बताएका छन् ।
उसो त भजनी नगरपालिकाको वडा नं.४,५ र ६ मा पनि खानेपानी आयोजना सञ्चालन अवस्थामा छन् । वर्षौ पहिले सुरु भएका ती आयोजना आज पनि सञ्चालनमा आउन सकेका छैनन् । बाढी र डुवानको उच्च जोखिममा रहेको भजनीमा वर्षातको समयमा सबैभन्दा बढी समस्या शुद्ध खानेपानीको हुने गरेको छ । अहिले पनि त्यस क्षेत्रका नागरिकहरु आरसनिक युक्त खानेपानी पिउन बाध्य छन् ।भजनी खानेपानी संस्थाको १० हजार जनसंख्यालाई शुद्ध खानेपानी खुवाउन सक्ने क्षमता रहेको छ ।