शेयेर गर्नुहोस
टीकापुर ११ असोज /
हिन्दु संस्कारअनुसार मान्छेको देहावसान पछि अन्तिम संस्कारका लागि नजिकैको नदी वा खोलामा लिएर अन्त्यष्टि गर्ने चलन छ ।
टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा अधिकांश मानिसहरू मृत्युपछि अन्तिम दाहसंस्कारका लागि टीकापुरको दौलतपुर र जानकीको कैलाशेश्वर कर्णाली नदी पुग्ने गर्छन् । वर्षौदेखि मसानघाटको रुपमा प्रयोग हुँदै आएका दौलतपुर र कैलाशेश्वर सामुदायिक वनसँगै जोडिएको कर्णाली नदी पुग्न मलामीहरुलाई निकै सास्ती हुन्छ । सडक सञ्जाल राम्रो नभएकै कारण त्यहाँ पुग्नेले स्थानीय सरकारप्रती निकै आक्रोश पोख्ने गरेका छन् ।
जानकी गाउँपालिका वडा नं. ३ का लोकेन्द्र साउँदले गाउँपालि प्रती आक्रोश पोख्दै भने, “दैनिक जसो मान्छेको मृत्युपछि अन्तिम संस्कारका लागि कैलाशेश्वर पुग्ने गर्छन् । स्थानीय मात्रै होइन, गाउँपालिकाको नेतृत्व गरेकाहरु पनि कैयौंपटक आइसकेका होलान् । बाटोको अवस्था कस्तो छ त्यो थाहा पाएर पनि हाम्रो स्थानीय सरकार गुमनाम छ ।” उनले सडक कालोपत्रे नभए पनि ग्राभेल गरेर पानी पिचसम्म गरिदिएको भए आवागमनमा सहज हुने बताएका छन् । उनले मान्छे जलाउने दुईचारवटा ठाउँहरु बनाउनलाई गाउँपालिकाको धेरै खर्च नहुने भन्दै समाजका लागि आवश्यक महत्त्वका कुरामा स्थानीय सरकार चुक्दै आएको बताएका छन् ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कैलाशेश्वर वनको बाटो हुँदै मसानघाटसम्म जाने सडकमा समस्या नभएको बताएका छन् । उनले मसानघाटको विषयमा विस्तारै काम अगाडि बढाउने भन्दै सडकको समस्या नरहेको बताएका हुन । “हामीले योजना बनाएका छौं । त्यसको काम विस्तारै सुरु हुन्छ ।” गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “सडकको भने त्यस्तो समस्या छैन । आवश्यक मसानघाट हो । त्यो हामी बनाउछौँ ।”
उता टीकापुर नगरपालिका वडा नं. ५ दौलतपुर पुग्ने सडकको पनि निकै दयनीय छ । टीकापुर पार्कभन्दा अगाडि जंगलको बाटो पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुनेहुँदा आवागमनमा निकै सास्ती हुँदै आएको छ । विशेषगरी वर्षातको समयमा आवतजावतमा झन समस्या हुन्छ । “सुरुदेखि नै हामीले दौलतपुर जोड्ने सडक निर्माणका लागि स्थानीय सरकारलाई आग्रह गर्दै आएका छौँ । स्थानीय सरकारका प्रतिनिधि पनि यहीँ बाटो कैयौंपटक हिड्नुभएको पनि छ ।” स्थानीय विशाल रावल भन्छन्, “भनेको कुरा सुन्दैनन । आफुलाई भएको पिडाको महसुस स्थानीय सरकार गर्न सक्दैन । घाटमा लाखौं बगाएको स्थानीय सरकारले सडक निर्माणमा दिन सकेन ।”
उसो त टीकापुर नगरपालिकाले दौलतपुर घाटमा अत्याधुनिक मसानघाटका लागि नगरको गौरवको आयोजनाको रुपमा काम अगाडि बढाएको थियो । यसभन्दा पहिलेका नगर प्रमुख तपेन्द्र बहादुर रावलको पालामा योजना मात्रै नभई काम पनि सुरु भएको थियो । डिपिआर बनाएर दौलतपुरमा नगरपालिकाको करिब ३९ लाख बजेट खर्च भएको छ । त्यो बजेटको उपलब्धि हेर्दा अहिले एउटा ट्रस्ट भन्दा अरु केही बाँकी छैन । बनेका सबै संरचना कर्णाली नदीमा विलय भैसकेका छन् । त्यो बेला त्यत्रो बजेट कर्णालीमा खर्च गर्नुभन्दा त्यहाँ पुग्ने सडकमा खर्च गरेको भए त्यो आज देखिने स्थानीय चन्द्रकान्त अधिकारी बताउँछन् ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले मसानघाट जाने बाटोको समस्या रहेको स्वीकार गरेका छन् । उनले अहिलेको जंगलको बाटोमा दलदल भएका कारण जति ग्राभेल हाले पनि त्यसको अर्थ नभएको भन्दै मसानघाट जाने बाटो निर्माणका लागि त्यसको विकल्पको बाटो निर्माण गरिने बताएका छन् । “हाल सञ्चालनमा रहेको बाटो निर्माण गर्न सकिने अवस्था छैन । त्यसको विकल्पको अर्को बाटो निर्माणका लागि कार्यपालिकाको बैठकबाट निर्णय गराएर यसैवर्षबाट काम सुरु गर्छौं ।” नगर प्रमुख थारुले भने, “हामीले सोचेको सडकको दुरी लामो होला तर दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने भएका कारण मसानघाटको क्षेत्र परिवर्तन गर्नुपर्ने पनि हुनसक्छ ।”