अस्पतालको भविष्य प्रति गम्भीर बनौं

शेयेर गर्नुहोस


टीकापुर ३० साउन/
टीकापुर अस्पताल प्रशासन माथी उठ्दै आएको प्रश्न नौलो भने होइन । त्यसमाथि गएको असार २३ गते अस्पतालमा कार्यरत सहकर्मी बीचको लडाइले अस्पताल प्रशासन माथि झन गम्भीर प्रश्न खडा गर्यो । अस्पताल व्यवस्थापन समितिले अध्ययन समितिको नाममा घटना थामथुम गर्यो भने प्रशासन त्यसमा मौन बस्यो । त्यो घटनाले अस्पताल भित्रको अपारदर्शीता, आर्थिक अनियमिततामा गम्भीर शंका उत्पन्न गर्यो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा नागरिकहरूको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुको साटो अस्पताललाई नै अस्तव्यस्त बनाउनतिर अग्रसर अस्पताल प्रशासनसँग कुनै सेवाग्राही सकारात्मक छैन ।
जसरी अस्पताल प्रशासनले अस्पताललाई संवेदनशील क्षेत्रको रुपमा परिभाषित गर्दै आएको छ, त्यसमा कुनै शंका छैन । अस्पताल सबैभन्दा बढी संवेदनशील क्षेत्र हो । तर,संवेदनशीलताको नाममा भैरहेको बेथिति पक्कै पनि राम्रो कुरा होइन । दैनिक सयौं बिरामी उपचार गराउन आउने अस्पतालमा चिकित्सक अनि प्रशासन जवाफदेही बन्न सकेन भने त्यो अस्पतालको के काम ? हामीलाई चाहिएको सर्वसुलभ सेवा हो । नागरिकमैत्री वातावरण हो । त्यो वातावरण अस्पताल भित्र छ कि छैन भन्ने अर्को प्रश्न हो । छैन भने त्यो वातावरण किन बनेन त्यसको जवाफ त अस्पताल व्यवस्थापन समिती अनि अस्पताल प्रशासन प्रमुखले दिनुपर्ने हुन्छ । नागरिकका प्रश्नबाट भागेर कार्यकक्षमा नपुगेरै ओटीबाटै कार्यालय समयभन्दा एक मिनेट तलमाथि नहुने गरी बाहिरिने प्रशासन प्रमुख प्रशासन सम्बन्धि कार्यमा कति जिम्मेवार छन् भन्ने कुरालाई बुझ्न कठिन त पक्कै छैन ।
एउटा सचेत नागरिकले अस्पतालको विगत र वर्तमान बुझ्न खोज्नु, कानुनले दिएको अधिकार प्रयोग गरेर सुचना माग्नु गलत त पक्कै होइन होला ? कानुनसम्मत माग गरिएको सुचना उपलब्ध गराउने कर्तव्यबाट अस्पताल विमुख भएर सुचना लुकाउनुले अस्पताल भित्र सबै राम्रो भैरहेको छ भनेर भन्न सकिने स्थिति छ त ? सुचना लुकाउनुले आर्थिक पारदर्शिता माथी गम्भीर प्रश्न उठाएको छ । त्यहाँ कार्यरत चिकित्सकहरुमा आज कोहि गए भोलि अर्को आउनुहुन्छ होला, तरअस्पतालको वर्तमान र भविष्य टीकापुरसँग जोडिएको छ । यो कुरालाई सरोकारवाला निकायले समयमै गम्भीर रुपमा लिन सकिएन भने भोलि अस्पतालको हालत अहिले टीकापुर नगरपालिका जस्तो भएको छ, त्यो भन्दा कम्जोर बन्ने निश्चित छ ।

ताजा खबर

ग्यासको अभावले उपभोक्ता मारमा

को हुन मुख्यमन्त्री भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *