आठ महिनामा ६० प्रतिशत राजश्व संकलन

शेयेर गर्नुहोस


टीकापुर १० चैत /
कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजश्व संकलन गरेको छ ।भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजश्व संकलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजश्व संकलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालू आर्थिक वर्षमा १५ करोड ८४ लाख ४९ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा फागुन महिनासम्म ९ करोड ६२ लाख ४१ हजार राजश्व संकलन गरेको छ ।
सत्ती भन्सार कार्यालयले लक्ष्यको सबैभन्दा कम साउन महिनामा ६३ लाख ३७ हजार राजश्व संकलन गरेको छ । साउनमा एक करोड २८ लाख ९० हजार राजश्व संकलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९ दशमलव १७ प्रतिशत मात्रै राजश्व संकलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सबैभन्दा बढी मंसिर महिनामा एक करोड ६७ लाख ७४ हजार अर्थात लक्ष्यको एक सय ३८ दशमलव ५१ प्रतिशत राजश्व संकलन भएको छ । मंसिरमा भन्सारले एक करोड २१ लाख १० हजार राजश्व संकलनको पाएको थियो ।
भन्सार कार्यालयले बितेको आठ महिनामा चार महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ भने चार महिना लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन । कार्यालय सोनीका अनुसार असोज, मंसिर, पुस र माघ महिनामा लक्ष्य भन्दा बढी राजश्व उठेको छ । बाँकी साउन, भदौ, कार्तिक र फागुन महिनामा लक्ष्य हासिल गर्न सकेको छैन । भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजश्व संकलनको लक्ष्य हासिल गर्ने दाबी गरे । “सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजश्व संकलनको लक्ष्य निर्धारण गर्ने हो ।” उहाँले भन्नुभयो, “लगभग अहिलेसम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य हासिल हुनेमा ढुक्क छौं ।” उहाँले खुला सिमानाका कारण कैयौं चोरीपैठारीका घटना हुने भन्दै राजश्व संकलनमा चुनौती देखिएको बताए । भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए करोडमा नभई अर्बमा राजश्व संकलन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
गतवर्ष भन्सारले लक्ष्यको एक सय १९ प्रतिशत राजश्व संकलन गरेको थियो । १२ करोड ७ लाख ३२ हजारको लक्ष्य रहेकोमा १४ करोड ३७ लाख ८२ लाख राजश्व उठाएको थियो ।त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड एक लाख ४७ हजार लक्ष्य रहेकोमा १० करोड दुई लाख ४२ हजार राजश्व संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा १६ करोड ९४ लाख ४१ हजार राजश्वको लक्ष्य पाएको भन्सार कार्यालयले ७ करोड ५० लाख ४० हजार मात्रै संकलन गर्न सक्यो ।
आर्थिक वर्ष २०७८/०७९ मा पनि सत्ती भन्सारले राजश्व लक्ष्य हासिल गर्न सकेन । २० करोड ५८ लाख ६१ हजारको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजार मात्रै संकलन गर्न सक्यो । १४ करोड २३ लाख ४८ हजारको लक्ष्य आर्थिक वर्ष २०७७/०७८ मा पाएको भन्सारले १५ करोड ८३ लाख ७ हजार राजश्व संकलन गरेको थियो ।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *