शेयेर गर्नुहोस
टीकापुर ०९ चैत /
वीरेन्द्र बिद्या मन्दिर सार्वजनिक शैक्षिक गूठीले आयोजना गरेको स्वर्ण महोत्सवको आयव्यय ठिक एक वर्षपछि सार्वजनिक गरेको छ ।
गतवर्ष फागुन ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको स्वर्ण महोत्सवको आयव्यय एक वर्षपछि आइतबार सार्वजनिक गरिएको हो । महोत्सवबाट ७५ लाख ८१ हजार तीन सय २२ रुपैयाँ २१ पैसा आम्दानी भएको देखाइएको छ । जसमध्ये १२ लाख ५० हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । महोत्सवमा सबैभन्दा धेरै स्मारिका प्रकाशनमा शुभकामना तथा बिज्ञापन प्रकाशन बापत आम्दानी देखिएको छ ।
जसबाट २५ लाख ४० हजार तीन सय ९५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यसैगरी आम्दानी तर्फ नै टीकापुर नगरपालिकाबाट ९ लाख ३४ हजार पाँच सय ३१ रुपैयाँ, रुपारेलिया फाउण्डेशनबाट ६ लाख ९२ हजार एक सय ६७ रुपैयाँ २५ पैसा, गगन फाउण्डेशनबाट एक लाख रुपैयाँ, वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालयको तीन लाख रुपैयाँ, स्वच्छतापूर्वक विभिन्न व्यक्तिबाट दुई लाख २६ हजार तीन सय ७ रुपैयाँ, विकास रावलनाट चार लाख १६ हजार चार सय पाँच रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट चार लाख रुपैयाँ, चालू आर्थिक वर्षमा बिज्ञापन बापत संकलन भएको एक लाख ४० हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
स्वर्ण महोत्सवका आर्थिक संयोजक जगदिश्वर पण्डितले सार्वजनिक गरेको आयव्यय विवरण अनुसारको खर्चतर्फ स्मारिका प्रकाशनमा ७ लाख ६२ हजार ७ सय ५० रुपैयाँ, अतिथि सत्कारमा तीन लाख दुई हजार ८ सय ४१ रुपैयाँ ९० पैसा, फ्लेक्स ब्यानरमा दुई लाख ४१ हजार चार सय ३५ रुपैयाँ, प्राविधिक सेवा शुल्क एक लाख ९६ हजार तीन सय ७९ रुपियाँ ९८ पैसा रहेको छ ।
त्यसैगरी पत्रपत्रिका बिज्ञापनमा ४२ हजार, स्थानीय झाकी प्रदर्शनमा १४ हजार पाँच सय रुपैयाँ, टेन्टमा ८ लाख रुपैयाँ, आन्तरिक भ्रमण खर्चमा दुई लाख १८ हजार चार सय ३९ रुपैयाँ, मसलन्द एक लाख ८९ हजार तीन सय ५० रुपैयाँ १२ पैसा खर्च भएको संयोजक पण्डितले जानकारी दिएका छन् । उनका अनुसार मर्मतसम्भारमा तीन लाख ५५ हजार एक सय १६ रुपैयाँ ५० पैसा, इन्धनमा ३२ हजार रुपैयाँ, ज्यालादारीमा दुई लाख १० हजार ९ सय रुपैयाँ, वृक्षारोपणमा एक लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
महोत्सवमा माला खरिदमा ४१ हजार पाँच सय रुपैयाँ, गमला तीन हजार रुपैयाँ, दोसल्लामा ४३ हजार दुई सय २५ रुपैयाँ, कम्प्युटरमा चार लाख १६ हजार चार सय पाँच रुपैयाँ, बिज्ञान सामग्रीमा चार लाख रुपैयाँ, माटोमा ८ हजार रुपैयाँ खर्च भएको पण्डितले बताए । त्यस्तै एक लाख ८० हजार एक सय ५३ रुपैयाँ ६५ पैसा पाठ्यपुस्तकमा, ६ लाख २५ हजार चार सय ८१ रुपैयाँ स्वर्ण स्तम्भ निर्माणमा, ३१ हजार चार सय ५९ रुपैयाँ २० पैसा प्रीन्टर खरिदमा र फर्निचरमा १० लाख ६ सय ९९ रुपैयाँ २५ पैसा गरी ६१ लाख ३० हजार ६ सय ३६ रुपैयाँ ५० पैसा खर्च भएको उल्लेख छ ।
महोत्सवबाट हालसम्म बचत ६ सय ८५ रुपैयाँ ७१ पैसा रहेको छ भने दायित्व तिर्न बाँकी पाँच लाख ८० हजार पाँच सय २६ रुपैयाँ रहेको उल्लेख छ । स्वर्ण महोत्सव मुल समितिका संयोजक नवराज रावलले बिधालयलाई महोत्सवको खर्चको कुनै व्ययभार नपार्ने बताउँदै बाँकी तिर्न रहेको रकम पनि उठाउनुपर्ने रकम संकलन गरेर तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्वर्ण महोत्सवको अवसरमा बिधालयमा भौतिक संरचनाको उल्लेख्य सुधार भएको बताउँदै महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । साथै उनले एक सय ४३ जनाको स्वर्ण महोत्सव मुल समिति विघटन भएको घोषणा पनि गरे ।
सुदुरपश्चिम प्रदेश सरकारले स्वर्ण महोत्सवमा गर्ने भनिएको सहयोगको विषयमा पत्रकारले गरेको प्रश्नमा संयोजक रावलले प्रदेश सरकारसँग २५ लाख सहयोग माग गरेको उल्लेख गर्दै आर्थिक वर्षको अन्तिमतिरको समय भएका कारण बजेटको सुनिश्चितता नहुँदा अहिलेसम्म कुनै सहयोग नभएको बताएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले एक महिनाको पारिश्रमिक स्वर्ण महोत्सवलाई दिने भनिएको कुरामा पनि रावलले लिखित सहमति कतै नभएको र मौखिक रुपमा मुख्यमन्त्रीले बोलेका कारण आफुहरुले त्यस विषयमा मुख्यमन्त्रीलाई जानकारी नगराएको बताए । “उहाँले मौखिक रुपमा भन्नुभएको थियो ।” उनले भने, “अब दिने नदिने उहाँको विचारको कुरा हो । सायद दिनुहुन्छ होला ।”










