शेयेर गर्नुहोस
टीकापुर १२ मंसिर/
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताएका छन् ।
धनगढीमा शुक्रबार आयोजित नेपाली कम्युनिस्ट पार्टीको सुदुरपश्चिम एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले १५ वटा वाम घटकलाई एक ठाउँमा ल्याएर आफूहरूले ऐतिहासिक काम गरेको बताउँदै बृहत वामपन्थी एकताको पक्षमा आफू रहेको बताएका हुन । “हामी सबै वामपन्थी दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने हो । त्यस हिसाबले हाम्रो ध्यान एमालेतिर पनि छ ।” उनले भने, “एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरू पनि यहीँ पार्टीमा नै केन्द्रित हुनुपर्छ । सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिस्ट पार्टी राखेका हौँ । यहाँ अब कोही माओवादी छैन, अब कोही एकीकृत समाजवादी छैन । हामी सबै वामपन्थी कम्युनिस्ट हौं ।”
प्रचण्डले कम्युनिष्ट पार्टीमा गुट र उपगुट बनाएर अनेकन बाहना गर्नेको आवश्यकता नरहेको बताएका छन् । उनले सम्पूर्ण देशभक्त एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाली काँग्रेसलाई समेत साथमै ल्याउनुपर्ने र गणतन्त्र पक्षधर, शान्ति सम्झौताका पक्षधर शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति कम हुने शंका भए पनि सहभागीको उत्साहले आर्थिक नै सबैथोक होइन भन्ने कुरा पुष्टि गरेको बताए । “आज हामीलाई कताकता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो ।” उनले भने, “तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौँ । बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्यून हुने हो कि भन्ने चिन्ता थियो, त्यो भएन ।”
सुरक्षा व्यवस्थाका दृष्टिले पनि अलिकति भए पनि सोच्न बाध्य पारेको बताउँदै प्रचण्डले केही दिन अघिमात्रै पनि धनगढीमा कतिपय पार्टीका कार्यक्रममा व्यवधान आएका कुराले त्यो सोच्न बाध्य बनाएको बताए । बसामाजिक सञ्जालबाट हेरिरहेका थियौँ । सुरक्षा व्यवस्था के होला भन्ने पनि हाम्रो मनमा प्रश्न थियो ।” प्रचण्डले भने, “तर यहाँका नेता कार्यकर्ताले ती सबै प्रश्नको बलियो उत्तर दिनुभयो। पार्टी संयोजक प्रचण्डले सभामा धेरै मान्छे आउनुमा नेता भीम रावल लगायतको मेहनतले काम गरेको बताएका छन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जेन्जीहरू आफ्नो पार्टीसँग आकर्षित भएको बताएका छन् । नेपालले नयाँ पुस्ताका नौजवान धमाधम आफ्नो पार्टीमा आइरहेको बताएका हुन् । ‘जेन्जीहरू हाम्रो पार्टी आएका छन् । नयाँ पुस्ताका नौजवान हाम्रो पार्टीसँग आकर्षित छन् । हाम्रो राम्रो उद्देश्य छ। हाम्रो दिमागमा देश कसरी बनाउने भन्ने छ ।” उनले भने, “विदेशीको पछि लाग्ने होइन । जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने हो । विवधतालाई सम्मान गर्दै अगाडि बढ्नेमा हाम्रो ध्यान छ। पार्टीले समाजवादमा अगाडि बढ्ने संकल्प लिएको छ ।”
सबै नेता उस्तै नभएको भन्दै नेकपाले समाजवाद आत्मसात गर्दै देश विकास गर्न चाहेको सहसंयोजक नेपालले बताएका छन् । उनले सबै नेता गलत भन्ने भाष्य गलत रहेको बताएका छन । नेकपा पार्टी पहिलो हुन्छ भन्ने सन्देश दिएको बताउँदै उनले यो देश निर्माण गर्ने अभियानमा अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । सहसंयोजक नेपालले देशमा समस्या खडा भएको बताउँदै त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने भन्दै प्रचण्ड र आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा धैरै राम्रा काम भएको चर्चा समेत गरे ।
नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताउँदै राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनुपर्ने भए पनि राजनीतिक दलहरूमा अपराधीकरण व्याप्त रहेको बताएका छन् । ‘दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको छ ।” उनले भने, ‘त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।”
एकता सन्देश सभामा बोल्दै पार्टीका नेता डा भीम रावलले नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो दल हुने दाबी गरेका छन् । ‘नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ ।” उनले भने, “चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौं ।”
नेता रावलले देशको मुहार फेर्न नेपाली कम्युनिष्ट पार्टीको निर्माण भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शासनले गर्दा मुलुकले दुर्घटना व्यहोर्नु परेको बताए । ओलीले विगतमा दुई/दुई पटक संसद विघटनको प्रयास गरेको सन्दर्भ कोट्याउँदै नेता रावलले ओलीले पार्टी सदृढ र लोकतान्त्रिक बनाउने १० बुँदे सहमतिलाई लत्याएको बताएका छन् । उनले एमालेले विपरित सिद्धान्त बोकेको काँग्रेससँग बाडीचुडी खान सत्ताझादेरी गरेको टिप्पणी समेत गरे ।










