इन्जिनियरिङ पढेका थापा ब्लक उद्योगमा स्थापित

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर ०४ मंसिर /
१३ वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौंबाट फर्किएका तेजबहादुर थापा कैलालीको
टीकापुरमा व्यवसायीको रुपमा स्थापित बन्दै जानुभएको छ । आफ्नै क्षमताले काम गर्न रुचाउने थापा एक उदाहरणीय कंक्रीट ब्लक व्यवसायीको रुपमा स्थापित हुनुभएको हो ।उहाँले २०६८ सालबाट टीकापुरमा अनुपमा कंक्रीट ब्लक उद्योग सञ्चालन गर्दै आउनुभएको छ । अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबका बिच सफल व्यवसायी बन्नुभएका थापा आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताउनुहुँन्छ ।
“काठमाडौं पढ्दै गर्दा बुबासँग विवाद भयो । उहाँले ५० हजार सम्म कमाउने जागिर खान सुझाव दिनुभयो ।” उहाँ भन्नुहुन्छ, “त्यो बेला ५० हजारको जागिर खान सकिने स्थिति थिएन । मैले बुवाले सञ्चालन गरेको तर बन्द अवस्थामा रहेको ब्लक उद्योग सञ्चालन गरेर सफल बन्ने चुनौती दिएर व्यवसायमा लागे ।”
बुवालाई चुनौती दिएर व्यवसायमा लागेका थापालाई सुरुका दिन निकै कठिन बने। एकातिर अन्तरजातीय विवाहका कारण परिवारबाट टाढिनु पर्ने स्थिति सिर्जना भयो । अर्कोतिर बुवासँगको चुनौतीलाई साकार पार्दै उद्योगलाई पुनर्जीवन दिनु । काममा हरेस नखाएर काम गरेपछि नतिजा राम्रो आउँछ भन्ने अठोटले थापालाई उद्योगमा सफलता हासिल मिल्दै गयो । त्यसले परिवारमा पनि एकताको वातावरण सिर्जना भयो । उहाँले बर्सेनि बजार विस्तारसँगै ब्लक उत्पादन बढाउँदै लग्नुभयो ।
“एक वर्षमा २२ हजारसम्म ब्लक उत्पादन गरेका थियौं । त्यो समयमा १७ जनाले उद्योगमा रोजगारी पाएका थिए ।” उहाँ भन्नुहुन्छ, “सबै खर्च कटाएर मासिक एक लाख भन्दा बढी मैले बचत गर्थे ।” निरन्तर उकालो लागेको थापाको ब्लक उद्योग कोरोना संक्रमणको समयमा सुस्त भए पनि विस्तारै उद्योगले पुरानै लय समात्न लागेको थापाले बताउनुभयो । विदेशमा गर्ने मिहिनेत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी हुनेमा थापा विश्वस्त हुनुहुन्छ । विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सिर्जना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा व्यवसायले झन खुशी थप्ने काम गरेको थापाले बताउनुभयो ।
उसो त जागिर खान पनि थापालाई समस्या थिएन । लोकसेवा लेडेर जागिर खानसक्ने क्षमता थापामा थियो । उता राजनीतिक कुल घरानामा जन्मिएका उहाँलाई राजनीतिक पहुँचकै भरमा भए पनि जागिर खानसक्ने स्थिति थियो । किनभने बुवा रतनबहादुर थापा सुदुरपश्चिम प्रदेशको सांसद भैसकेका छन् । उहाँ नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष हुँदै हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय उपाध्यक्षमा छन् । थापाकी आमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको नगर उपप्रमुख भएर हाल नागरिक उन्मुक्ति पार्टीबाट सुदुरपश्चिम प्रदेशको सांसद हुँदै मन्त्रीको जिम्मेवारी समेत पूरा गरिसकेकी छन् ।
“म सानैदेखि आफै केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको मान्छे हु । त्यसकारण पनि म बुवा आमासँग नजिक भएन । आमा मन्त्री बन्दा त म एक महिनापछि भेट्न गएको थिए ।” थापा भन्नुहुन्छ, “उहाँहरुको आफ्नो व्यक्तिगत जिन्दगी छ मेरो आफ्नो । सबैले आआफ्नो गरेर खाएका छौं, कसैले कोहि प्रती निर्भर हुनुपरेको छैन । यहीँ खुशीको कुरा हो ।” आफ्नो व्यवसायबाट अन्य ८/१० जना अन्यको परिवार पालिएको भन्दै त्यसमा आफुलाई गर्व लाग्ने थापाको भनाई छ ।
सामाजिक क्षेत्रमा प्रत्यक्ष जोडिएका थापा अरुको सिको गरेर अगाडि बढ्न नहुने धारणा व्यक्त गर्नुहुन्छ । “मैले कसैलाई सहयोग गर्दा त्यो दुनियाँलाई भनिरहनु पर्ने हुँदैन । मैले निस्वार्थ रुपमा गरेको सेवा उसैलाई थाहा भए पुग्छ ।” उहाँले भन्नुभयो, “यहाँ गलत राजनीतिक संस्कार भएरै पनि हुनसक्छ मैले राजनीतिक क्षेत्रमा चासो दिएको छैन । तर कुनै दलको सिद्धान्त भन्दा बाहिर रहेर निस्वार्थ समाजसेवामा लाग्ने रहर भने छ ।” उहाँबाटै सिकेर कैयौं ब्लक उद्योग समेत सञ्चालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *