उडेन जहाज

शेयेर गर्नुहोस


टीकापुर १७ मंसिर /
आज सोमबारबाट नियमित उडान हुने भनिएको टीकापुर विमानस्थल सञ्चालन हुन सकेन ।
यसअघि मंसिर १७ गतेबाट नियमित सञ्चालनमा आउने भनिएको टीकापुर विमानस्थल सञ्चालन हुन नसकेको हो । गएको कार्तिक १२ गते परिक्षण उडान गरेर तुरुन्त व्यावसायिक उडानलाई निरन्तरता दिने भने पनि त्यो सफल हुन सकेको छैन । तारा एयरलाइन्ससँग सम्झौता गरेर टीकापुर-अछाम, अछाम- टीकापुर र टीकापुर- काठमाडौं काठमाडौं- टीकापुर उडान भर्ने सम्झौता भएको भन्ने थियो । १८ सिटको तारा एयरलाइन्सको १५ सिट नगरपालिकाले ग्यारेन्टी लिएर सञ्चालनमा आउन लागेको टीकापुर विमानस्थल सञ्चालनमा आउने भनिएको थियो ।
नगर प्रमुख रामलाल डगौरा थारुले केही प्राविधिक समस्याका कारण भनेकै दिन जहाज उडाउन नसकिएको बताएका छन् । उनले तत्काल इन्धनको व्यवस्थापनमा समस्या आउँदा जहाजको उडानमा अन्योल सिर्जना भएको बताएका हुन । “इन्धनको समस्या हुने भएका कारण उडान भनेकै मितिमा हुन सकेन । इन्धनको व्यवस्थापनका लागि हामी लागेका छौँ ।” उनले भने, “अब पुरानो सम्झौता भन्दा नयाँ अर्को सम्झौता गरेर विमानस्थल सञ्चालन गर्ने योजना तयार गर्दैछौं ।” उनकाअनुसार टीकापुर- काठमाडौं, काठमाडौं- टीकापुरको उडानलाई फेरबदल गरिने भएको छ । अब काठमाडौंबाट टीकापुर आउँदा नेपालगन्ज आएर त्यहाँबाट टीकापुर आउने र टीकापुरबाट नेपालगन्ज हुँदै काठमाडौं जानुपर्ने योजना बन्ने भएको छ । “टीकापुर-अछाम, अछाम- टीकापुरको योजना त्यहीँ छ । काठमाडौंको परिवर्तन गर्ने भएको छ ।” नगर प्रमुख थारुले भने, “टीकापुर टिकट काटेर त्यहीँ टिकटमा काठमाडौं जान मिल्यो तर नेपालगन्जबाट जहाज परिवर्तन गरेर जाने योजनामा छलफल हुँदैछ ।” उनकाअनुसार समय तालिका सार्वजनिक गरेरै जहाज चलाउने तयारी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *