शेयेर गर्नुहोस
टीकापुर २१ पुस /
बिज वृद्धि कृषक सहकारी संस्था लिमिटेडले किसानहरूलाई बीउ उत्पादनका आधारमा पुरस्कृत गरेको छ ।
सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाबाट बीउ उत्पादन गर्ने किसानहरूलाई बीउ उत्पादनका आधारमा सहकारीको बीउ उत्पादन कोषबाट उत्पादनका आधारमा नगद पुरस्कार प्रदान गरेको हो । सहकारी संस्थाका व्यवस्थापक गोविन्द राज रावतका अनुसार बीउ उत्पादन गर्ने ७२ जना किसानलाई नगद पुरस्कार प्रदान गरिएको छ । बीउ उत्पादन गर्ने किसानले प्रती क्विन्टल ४० रुपैयाँ प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको व्यवस्थापक रावतले बताएका छन् ।
सहकारीले गत आर्थिक वर्षमा चार हजार ९ सय ८४ क्विन्टल ७ केजि बीउ किसानबाट खरिद गरेको थियो । एक लाख ९९ हजार तीन सय ६२ रुपैयाँ ८० पैसा किसानलाई बीउ उत्पादनका आधारमा प्रोत्साहन रकम वितरण गरेको छ । सहकारीमा सबैभन्दा बढी बीउ उत्पादन गर्ने रतन बडायक लगायतलाई विशेष सम्मान गरेको छ । उनले दुई सय ३९ क्विन्टल ६४ केजी बीउ उत्पादन ग्रेका थिए । त्यसैगरी धनबहादुर चौधरीले दुई सय तीन क्विन्टल ६० केजी, सविता देवि बडायकले एक सय ९९ क्विन्टल १६ केजी, सुकराम कठरियाले एक सय ६७ क्विन्टल ७२ केजी र कैदु कठरियाले एक सय ६७ क्विन्टल ४१ केजी बीउ उत्पादन गरेका थिए ।
सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा मोहन चौधरीलाई नगद सहित सम्मान गरिएको छ । त्यसैगरी बीउ उत्पादन तर्फ उत्कृष्ट तीन किसान सम्मानित भएका छन् । जसअनुसार हिरालाल बडायक प्रथम भएका छन्, दोस्रो सीतादेवी रावत र तेस्रो स्थान भजनसिंह बडायकलाई पुरस्कृत गरिएको छ ।
साथै सहकारीमा आबद्ध शेयर सदस्यका बालबालिकाहरु मध्ये २०८० को एसइईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पनि नगद सहित पुरस्कार प्रदान गरिएको छ । जसमा म्रीनलिनी बडायकलाई पाँच हजार पाँच रुपैयाँ नगद सहित सम्मान गरिएको छ । त्यसैगरी सर्वेश कठरियालाई चार हजार पाँच रुपैयाँ र आदित्य चौधरीलाई तीन हजार पाँच रुपैयाँ नगद सहित सम्मान गरिएको छ ।
सहकारीको शेयर पुँजी २२ लाख ७७ दुई सय रहेको गत वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले गत आर्थिक वर्ष ५२ लाख ८८ हजार ७ सय ९८ रुपैयाँ ९० पैसा खुद नाफा कमाएको छ । सहकारीले गत आर्थिक वर्षको असार मसान्तसम्म १० करोड ८७ लाख ५६ हजार पाँच सय १२ रुपैयाँ २९ पैसाको कारोबार गरेको छ ।
सहकारीका अध्यक्ष रामफल बडायकको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान् केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टले बीउ उत्पादनका क्षेत्रमा सहकारीले जिल्लामै उत्कृष्ट काम गर्दै आएको बताएका छन् । सहकारीका उपाध्यक्ष विजय कुमार कठरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक रावतले गरेका थिए ।