उद्घाटन गरेको चार दिनमै झर्यो लाइट

शेयेर गर्नुहोस


टीकापुर २९ भदौ /
नेपालीमा एउटा उखान छ, “हतारको काम लतार”
टीकापुरको खड्क चोकमा टीकापुर नगरपालिकाले जडान गरेको हाइमास्क लाइट पनि त्यस्तै भयो । पूरा तयारी नहुँदै उज्यालो टीकापुर अभियान अन्तर्गत नगर प्रमुख रामलाल डगौंराथारुले हाइमास्क लाइटको एक कार्यक्रमको आयोजना गर्दै त्यसको उद्घाटन गरे पनि काम पूरा नहुँदै उद्घाटन गरेको भन्दै त्यसको चौतर्फी विरोध भएको छ । उद्घाटन भएको एक हप्ता पनि नबित्दै पुनः निर्माण कम्पनीले लाइट जडानको कामलाई निरन्तरता दिएपछि हतारमा उद्घाटन भएको भन्दै विरोध भएको हो ।
त्यतिमात्र होइन, नगर प्रमुख थारुले हाइमास्क लाइटको उद्घाटन गरेलगत्तै नगर उपप्रमुख खडकबहादुर शाहले काम सम्पन्न नहुँदै लाइटको उद्घाटन गरिएको भन्दै सामाजिक सञ्जालमा लेख्दा त्यतिबेला विकासका काममा पनि जनप्रतिनिधिहरु बिभाजित हुनु राम्रो नभएको भन्दै सुझावहरु समेत आएका थिए । तर, मंगलबार नगर उपप्रमुख शाहले भनेजस्तै भएपछि जडान भएको हाइमास्क लाइटले चर्चा पाएको छ । यस विषयमा नगर प्रमुख थारुले एउटा बल्ब जडान गर्न बाँकी भएका कारण त्यसलाई थप गर्नका लागि जडान भएको लाइट खोलिएको प्रतिक्रिया दिएका छन् ।
“त्यसमा आठवटा लाइट जडान गर्नुपर्ने थियो । उद्घाटन हुँदासम्म सातवटा जडान भएका थिए । एउटा लाइट आउन समय लाग्ने भएका कारण भएको संरचनालाई प्रयोगमा ल्याउनको लागि उद्घाटन गरिएको हो । हतारमा गरिएको होइन ।” नगर प्रमुख थारुले भन्नुभयो, “अब आठवटै लाइट जडान भएका छन् । एउटा लाइटको लागि हामिले पर्खेको भए अहिलेसम्म भएको संरचना प्रयोगविहीन हुनेथियो । केही काम बाँकी रहेपनि केही दिन चोकमा उज्यालो त भयो ।”
नगरपालिकाका इन्जिनियर नवीन ओझाले यसअघि परिक्षणको लागि लाइट जलाइएको बताउँदै काम मंगलबार सम्पन्न भएको बताएका छन् । उनले भ्याट सहित ९ लाख ६४ हजारमा ओमिक इलेक्टि्रकल कन्स्ट्रक्सनले तयार पारेको बताएका छन् । “एउटा बल्ब जडान गर्न बाँकी थियो । त्यो काम पनि सकिएको छ ।” इन्जिनियर ओझाले भने, “नगर प्रमुखले उद्घाटन गर्दा परिक्षणको रुपमा सञ्चालन गरिएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *