शेयेर गर्नुहोस
टीकापुर ०५ पुस /
टीकापुर नगरपालिकाको आर्थिक विकास संयोजक यज्ञप्रसाद न्यौपानेले उपभोक्ता सचेत नभएसम्म वस्तुको गुणस्तरमा प्रश्न उठिरहने बताएका छन् ।
टीकापुर नगरपालिकाको आयोजना तथा उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहजीकरण र अष्ट्रेलियन एडको सहयोगमा भएको उपभोक्ता अधिकार र स्थानीय बजार व्यवस्थापनको दिगोपना सम्बन्धि समिक्षा तथा कार्यशाला बैठकमा बोल्दै नगरपालिकाका आर्थिक विकास संयोजक न्यौपानेले वस्तुको गुणस्तरमा उपभोक्ता बढी जिम्मेवार हुने बताएका हुन ।
“उपभोक्ताले उपभोग गर्ने वस्तुको जाँच अनिवार्य गर्नुपर्छ ।” उनले भने, “जब उपभोक्ता आफुले खरिद गर्ने वस्तुको बारेमा जानकार हुन्छ, सचेत हुन्छ भने, त्यसबाट अखाद्य वस्तुको बिक्रीवितरण आफै रोकिएर जान्छ ।” उनले नगरपालिका एक्लैले चाहेर मात्रै सबै सम्भव नहुने बताउँदै सबै जिम्मेवार निकायको समन्वय र सहकार्यको बजारको अनुगमनलाई चुस्त दुरुस्त बनाउँदै बिक्रेता र क्रेताका बिचमा जनचेतनामुकल कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । उनले गुणस्तर नाप्ने यन्त्र नभएका कारण पनि समस्या भएको बताएका छन् ।
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सिनाले उपभोक्ता, व्यापारी र सरकारको तालमेल मिल्नु पर्ने बताएका छन् । उनले बजारको अनुगमनमा सरकारका निकायले ध्यान दिनुपर्ने बताउँदै बिक्रि गर्ने व्यापारी र खरिद गर्ने उपभोक्ताले पनि वस्तु खरिदबिक्री गर्दा ध्यान पुर्याउनुपर्ने बताएका छन् । उनले अन्य स्थानीय तहको तुलनामा टीकापुर नगरपालिका उपभोक्ता हित संरक्षण मञ्च सक्रिय रहेको भन्दै प्रशंसा पनि गरेका छन् ।
टीकापुर उद्योग वाणिज्य संघका महासचिव नवराज रिमालले संघला पदाधिकारी अनुगमनमा जाँदा व्यापारीहरुको बुझाईमा नकारात्मक असर पर्ने गरेको बताएका छन् । उनले व्यापारीहरुमा पनि सचेतनाको आवश्यकता रहेको बताए । रिमालले अनुगमनका क्रममा गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउन सके मात्रै व्यवसायी सचेत हुने बताए ।
कार्यक्रममा सहभागीहरुले बजार अनुगमनलाई चुस्त दुरुस्त बनाउन आग्रह गरेका छन् । उपभोक्ताहरुलाई सचेत बनाउनका लागि सचेतनामुलक कार्यक्रम आयोजना गर्नुपर्मेमा उनीहरूको जोड थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले गरेकी थिइन् ।










