शेयेर गर्नुहोस
झलनाथ खनाल
टीकापुर २३साउन / कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा त्रासपूर्ण वातावरणका बीच पनि अस्पतालका चिकित्सकहरुले सेवा दिँदै आएका छन् भने एक जनाका कारण अस्पताल नै त्रसित अवस्थामा पुगेको छ ।
केही दिन अगाडि भारतबाट आएका टीकापुर नगरपालिका वडा नं. १ का एक जनाले नगरपालिकाको तथ्याङ्कमा गलत ठेगाना र सम्पर्क नं. दिएका कारण अस्पताल त्रसित अवस्थामा पुगेको हो । उनलाई नगरपालिकाले होम क्वारेन्टाइनमा पठाएसँगै ज्वरो आएपछि उनी अटोरिक्सा चढेर निजी क्लिनिकमा उपचारका लागि गएका थिए । निजी क्लिनिकले उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा उपचार गराइरहँदा उनको कोरोना भाइरसको रिपोर्ट पोजेभिट भए पनि ती व्यक्तिलाई खोज्न समस्या भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताएका छन् ।
‘उनी भारतबाट आई होम क्वारेन्टाइनमा बसेकै अवस्थामा ज्वरो आउँदा अस्पताल आउनु भएछ । उनको सम्पर्कमा थुप्रै स्वास्थ्यकर्मी थिए । उपचार गर्दै गर्दा पोजेभिट रिपोर्ट आयो ।’ डाक्टर कँडेलले भने, ‘गलत ठेगाना दिएकै कारण खोज्न समेत समस्या भयो । अन्ततः मान्छे पत्ता लाग्यो । त्यतिसम्म सयौं मान्छेको सम्पर्कमा उनी पुगिसकेका थिए ।’
ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । डा. कँडेलले स्वाब संकलन गरिएका कर्मचारीहरुमध्ये एक जनाको मात्रै पोजेटिभ रिपोर्ट आयो भने अस्पताल नै सिल गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
‘बाहिरबाट आएका व्यक्तिहरुको एकीन तथ्याङ्क लिई तिनको निगरानी गरिएन भने स्थिति भयावह हुने निश्चित छ ।’ डा. कँडेलले भने, ‘चार महिनासम्मको हाम्रो कामको कुनै अर्थ रहने छैन । यस्तै अवस्था रहे हामी सबैले हात खडा गर्नुपर्ने स्थिति आउन सक्छ ।’भारत तथा तेस्रो मुलुकबाट आउने कुनै पनि नागरिकहरुको तथ्याङ्क स्थानीय पालिकाले राखेको देखिँदैन । बाहिरबाट आएका नागरिकहरु होम क्वारेन्टाइनमा बसे पनि उनीहरु मापदण्डविपरीत जाँदा जोखिम दिन प्रतिदिन बढ्दै गएको छ ।
अहिले अस्पतालमा ज्वरो, रुघाखोकी, मलेरिया, झाडापखाला, स्क्रब टाइफसका बिरामीहरुको उपचार दिन प्रतिदिन बढ्दै गएको छ । उपचारका लागि आउने बिरामीहरुले समेत सुरक्षाका मापदण्डहरु नपनाउँदा अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकहरुले त्रासमा सेवा दिनुपरेको डा. कँडेल बताउँछन् ।
उनका अनुसार केही चिकित्सकहरु क्वारेन्टाइनमा रहेका कारण सेवा प्रवाहमा समेत समस्या हुन थालेको छ । ‘अस्पतालले पूर्णरुपमा सुरक्षाको सावधानी अपनाएको छ । तर, अस्पताल आउने बिरामीहरुले कुनै पनि सावधानी अपनाएको देखिँदैन ।’ डा. कँडेलले भने, ‘प्रत्येक दिन सयौं बिरामीको सम्पर्कमा जानु पर्ने बाध्यता छ । कसलाई कोरोना छ भन्ने कुनै आधार छैन । यही अवस्था रहे स्थिति नियन्त्रणभन्दा बाहिर जाने निश्चित छ ।’ डा. कँडेलले बिरामी भइहाले पनि नजिकको क्लिनिकमा सम्पर्क गरी सुरक्षा सावधानीका साथ उपचारका लागि अस्पताल आउन आग्रह समेत गरेका छन् ।
टीकापुर नरगपालिकामा मात्रै एक सयजना कोरोना संक्रमित पुष्टि भएको छ भने अहिले पनि सिटी हलको आइसोलेशनमा २० जना पुरुष र अस्पतालको आइसोलेशनमा ३ जना महिला उपचाररत छन् । नगरपालिकाले होम क्वारेन्टाइनमा बसी संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट टे«सिङ समेत गरेको छैन ।