शेयेर गर्नुहोस
टीकापुर १९ मंसिर /
भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको नामावली सार्वजनिक गरेपछि टीकापुर नगरपालिका वडा नं.१ मा स्थानीयको भिड लागेको छ ।
वडा कार्यालयमा दर्ता भएका फारमहरुका आधारमा एक हप्ताको हक दावीका लागि सुचना आव्हान गरेपछि सार्वजनिक भएको नामावलीमा आफ्नो नाम एकिन गर्न आउने स्थानीयको वडा कार्यालयमा भिड लागेको हो । वडाले सुचना जारी गर्दै फारममा उल्लेख भएअनुसारको कुनै जग्गाको स्वामित्व आफ्नो हो भनेर प्रमाण सहित हक दाबीका लागि सुचना आव्हान गरेको छ । यदि एक हप्तासम्म कसैको पनि हक दावी नपरेपछि स्थानीयलाई सोही जग्गाको निस्सा वितरणको काम अगाडि बढाइने छ ।
“सुचना आव्हान गरेका छौँ । सुचनाअनुसार मंसिर २५ गतेभित्र आफ्नो जग्गाको हक दाबी भएर नआएको अवस्थामा वडाले थप प्रक्रिया अगाडि बढाउँछ ।” वडा अध्यक्ष मोहन विकले भने, “यदि कसैबाट जग्गाको हक दाबी भएर आयो भने त्यसको वडा स्तरीय सहजीकरण समितिले छलफल गरेर निष्कर्ष निकाल्छ ।” उनकाअनुसार वडा स्तरीय सहजीकरण समितिले सहजीकरण गर्न नसकेको अवस्थामा नगर स्तरीय सहजीकरण समितिले समाधान खोज्नेछ । वडा अध्यक्ष विकले वडा नं. १ जस्तो समस्या अन्य वडामा नरहेको बताएका छन् ।
वडा कार्यालयले सुचना जारी गर्न ढिलाइ गरेको हो भन्ने जिज्ञासामा वडा अध्यक्ष विकले धेरै संख्यामा फारम अनलाइन इन्ट्री गर्नुपर्ने भएका कारण समय लागेको बताएका छन् । “बाहिरबाट भन्न निकै सजिलो छ । चाअ हजार ७ सय जनाको फारम अन्लाईन इन्ट्री गर्नु सहज थिएन । एउटै फारम इन्ट्री गर्न आधा घण्टा समय लाग्थ्यो ।” वडा अध्यक्ष विक भन्छन्, “ढिलाई भए पनि काम भएको छ । काम गर्दागर्दै कसैको उक्साहटमा आन्दोलन गर्नुको कुनै औचित्य थिएन ।”
नगरपालिकाको वडा नं. १ मा मात्रै चार हजार ६ सय ५३ जनाले फारम भरेका छन् । जसमा भुमीहिन दलितमा ९ सय २३, भुमीहिन सुकुम्बासीमा एक हजार दुई सय ८६ र अव्यवस्थित बसोबासीमा दुई हजार चार सय ४४ घरधुरीले फारम भरेका छन् । टीकापुर बहुमुखी क्याम्पसले जग्गाको हक दाबी गर्ने स्थिति देखिएको छ भने, टीकापुर विकास समितिले पनि केही जग्गाको हक दाबी गर्ने स्थिति छ । पछिल्लो समय वडा नं. १,२ र ३ मा जग्गाको हक दाबीका लागि सात दिने सुचना जारी भएको छ ।










