एनपिएलमा कसले पाए कुन अवार्ड

शेयेर गर्नुहोस


टीकापुर ०६ पुस /
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ ।
शनिबार भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो । फाइनल खेलपछि आयोेजित पुरस्कार वितरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका थिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख प्रदान गरे । तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः २५ लाख र १५ लाख प्राप्त गरेका छन् । तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गरेका थिए ।
त्यसैगरी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
लिगको फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ । फाइनल खेलपछि उक्त पुरस्कारको घोषणा गरिएको हो । प्रतियोगितामा अनुशासित टोलीको रुमपा उक्त अवार्ड लायन्सले जितेको हो । जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काएका थिए । प्रतियोगितामा उनको त्यो दोस्रो अर्धशतक थियो । उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते । क्याच अफ द म्याच शेर मल्लले पाए । उनले २५ हजार रुपैयाँ जिते । त्यस्तै, एनर्जेटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले पाए । उनले पनि २५ हजार रुपैयाँ पाए ।
कर्णाली याक्सका विपिन शर्मा उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए । एनपीएल को सबैभन्दा उत्कृष्ट बलरको उपाधि जनकपुरका ललित राजवंशीले जितेका छन्। प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनका लागि पुरस्कारस्वरूप नयाँ बाइक प्राप्त गरेका छन् ।
सुदूरपश्चिम रोयल्सका सैफ जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् । जैबले अवार्डसँगै ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताभर उनले सुदूरपश्चिमका लागि २७५ रन र १२ विकेट लिएका थिए । त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले दुई लाख रूपैयाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *