शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०४ पौष /
कैलालीको टीकापुरमा वर्षातको आकाशे पानीबाट हुने डुवान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ भने उक्त आयोजनासँग जोडिएको मानव मलमुत्र व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भएको वर्षदिन पुग्न लागेको छ ।
टीकापुर सतही ढल तथा मानव मलमुत्र व्यवस्थापन आयोजना अन्तर्गत ढल निकासको लागि नालीको काम भैरहेको भएपनि मानव मलमुत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएर टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको ९ महिना भैसकेको छ । मानव मलमुत्रको सहज आपूर्ति नहुँदा त्यसलाई दैनिक सञ्चालनमा ल्याउन सकिएको छैन । संरचना निर्माण भएपनि स्थानीयको शौचालयबाट निस्केको मलमुत्र प्रशोधन गरेर मल उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भएको केन्द्र मलमुत्रको सहज आपूर्ति हुन नसक्दा अलपत्र पर्न सक्ने खतरा बढेको छ ।
नेपालकै सबैभन्दा ठूलो क्षमताको मानव मलमुत्र व्यवस्थापन केन्द्र निर्माण भएपनि त्यसलाई चाहिने मानव मलमुत्रको अभावले सञ्चालनमा समस्या ल्याएको आयोजनाका परामर्श इन्जिनियर अरुण रोस्यारा बताउनुहुँन्छ । उहाँकाअनुसार नेपालकै ठूलो मात्रै नभई नमुनाको रुपमा मलमुत्र व्यवस्थापन केन्द्र स्थापना भएको छ । जसले बाताबरणलाई स्वच्छ राख्नको साथै स्थानीयले शौचालय भरिँदा त्यसको अनियन्त्रित व्यवस्थापन गर्ने कार्यसमेत बन्द हुने अपेक्षाका साथ नगरपालिकाको आम्दानीको स्रोतको रुपमा उक्त केन्द्र निर्माण भएको हो ।
“मेसिन पूरा चलाउनुपर्दा दैनिक ९ हजार लिटर मलमुत्र आवश्यक पर्छ । अहिले महिनामा पनि त्यति संकलन भैरहेको छैन ।” इन्जिनियर रोस्याराले भन्नुभयो, “संरचना ठूलो भयो । चाहिने बस्तुको अभावका कारण सञ्चालनमा समस्या आएको हो ।” एउटा शौचालयमा भरिन एक दशक लाग्छ । नगरपालिका भित्रको जनसंख्याको आधारलाई हेर्दा केन्द्रलाई चाहिने मलमुत्र व्यवस्थापन हुन सक्ने अवस्था नभएको बताउँदै इन्जिनियर रोस्याराले मलमुत्रमा पनि ठोस बस्तुको मात्रा कम र तरल पदार्थको मात्रा बढी हुँदा त्यहाँबाट उत्पादन हुने मल उत्पादन समेत हुन नसकेको बताउनुभयो ।
टीकापुर नगरपालिकाले अन्य छिमेकी पालिकासँग पनि मलमुत्र संकलनका लागि समन्वय गर्नुपर्ने निर्माण कम्पनीका इन्जिनियर उदय पोख्रेल बताउनुहुँन्छ । “एउटै नगरपालिकाबाट संकलन भएको मानव मलमुत्रले यसलाई क्षमताअनुसार सञ्चालन गर्न सकिँदैन । त्यसका लागि छिमेकी पालिका र निजि कम्पनीहरुसँग पनि समन्वय गर्नुपर्छ ।” इन्जिनियर पोख्रेलले भन्नुभयो, “हामीलाई पूरा मेसिन चलाउन दैनिक नौ घनमिटर मलमुत्रको आवश्यकता पर्छ, जुन एउटै पालिकाबाट सम्भव छैन ।” उहाँले शौचालय ट्यांकी निर्माण गर्दा पनि नगरपालिकाले घरको नक्सा पास गर्दा ध्यान पुर्याउन सकेपछि मात्रै केन्द्रलाई दीर्घकालसम्म लैजान सकिने बताउनुभयो ।
मानव मलमुत्रबाट प्रविधिको प्रयोग गरेर कम्पोस्ट मल उत्पादन गर्ने लक्ष्य लिइएको छ । लेदोबाट मल र पानीलाई फिल्टर गरेर जमरा कुलोमा मिलाइएको छ । केन्द्रमा पुगेको मलमुत्र फिल्टर हुन भने करिब एक महिना लाग्छ । नियमित रुपमा केन्द्रमा रहेका मेसिनहरु सञ्चालन भए त्यस्ले फिल्टर पानी बाहिर फाल्न करिब एक महिना लाग्ने इन्जिनियर पोख्रेल बताउनुहुँन्छ । “काम छैन, कर्मचारी राखेका छौं । त्यतिकै तलब दिनुपरेको छ ।” इन्जिनियर पोख्रेलले भन्नुभयो, “काम भएको भए, उत्पादन हुन्थ्यो । त्यसबाट उत्पादन भएको कम्पोस्ट मल बिक्रि गरेर आम्दानी पनि गर्न सकिन्थ्यो ।”
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले निर्माण कम्पनीसँग केही दिन अगाडि मात्रै छ्लफल भएको बताउँदै मानव मलमुत्र व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनका लागि नगरपालिकाले अन्य छिमेकी स्थानीय तहसँग समन्वय गरिने बताउनुभयो । “हामीसँग निर्माण कम्पनीले समन्वय पनि गरेको थिएन । त्यसमा पनि दुई वर्ष उसैले केन्द्रको सञ्चालन तथा रेखदेख गर्नुपर्ने भएकोले हामीले पनि चासो दिएका थिएनौं ।” नगर प्रमुख थारु भन्नुहुन्छ, “त्यसलाई नियमित सञ्चालनको लागि चाहिने बस्तुको आयातलाई सहज बनाउनको लागि छिमेकी स्थानीय तहलाई पत्राचार गर्ने तयारी गरेका छौं ।”
निर्माणको जिम्मा पाएको तुन्दी कन्स्ट्रक्सनले काम सम्पन्न गरेर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपनि दुई वर्ष आफ्नै निगरानीमा सञ्चालन गर्नुपर्ने गरी सम्झौता भएको छ । कम्पनीले नौ महिना भने कटाइसकेको छ भने नगरपालिकाको प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिम समेत गराइसकेको छ । पन्ध्र महिनापछि नगरपालिकाले आफ्नै जनशक्तिबाट उक्त केन्द्रको सञ्चालन गर्नुपर्ने छ । “जनशक्ति हामीले तयार पारिसकेका छौं । त्यसलाई नाफामुलक कसरी बनाउने भन्ने रणनीतिमा नगरपालिका छ ।” नगर प्रमुख थारु भन्नुहुन्छ, “कम्तीमा केन्द्रले उत्पादन गरेको कम्पोस्ट मल बिक्रीबाट त्यहाँको जनशक्ति र आवश्यक खर्च व्यवस्थापन हुनुपर्छ ।”
मानव मलमुत्र व्यवस्थापन केन्द्र निर्माणका लागि करिब साढे सात करोड खर्च भएको छ । केन्द्रसँगै निर्माण कम्पनीले २९ दशमलव ५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा ब्यबस्थापनक लागि समेत काम गर्दै आएको छ । हालसम्म ढल निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका इन्जिनियर पोख्रेलले बताउनुभयो । ढल निकासले सडकमा आएको पानी सडकमा जम्मा नभई नाली मार्फत ब्यबस्थापन हुने छ । जस्ले डुवानका कारण बर्सेनि खेप्दै आएको शास्ती कम हुने अनुमान गरिएको छ । ढल निर्माण र मानव मलमुत्र व्यवस्थापन केन्द्र निर्माणका लागी ६० करोड ६९ लाख तीन हजार ६ सय ५२ रुपैया, ५९ पैसाको सम्झौता भएको छ । कुल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ ।