शेयेर गर्नुहोस
टीकापुर ०१ मंसिर /
टीकापुर स्थिति कर्णाली माद्यामिक बिधालय टीकापुरको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
बिधालयको आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष रतन बहादुर टमट्टाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक गुणस्तर कायम गर्न नगरपालिकाले गम्भीर भएर काम गरिरहेको बताउँदै बिधालयमा शिक्षकहरुसँग प्रत्यक्ष अन्तरसंवादको काम भैरहेको बताएका छन् । उनले बिधालयमा शिक्षक मात्रै जिम्मेवार भएर शैक्षिक गुणस्तर कायम गर्न नसकिने बताउँदै अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताएका छन् ।
“हामीले पटकपटक भन्दै पनि आएका छौँ । आआफ्नो जिम्मेवारीमा अडिक भए शैक्षिक क्षेत्रले सकारात्मक नतिजा दिन समय लाग्ने छैन ।” उनले भने, “पछिल्लो समय अभिभावक जागरुक हुनुपर्ने अवस्था देखिएको छ । बिधालय प्रशासन र शिक्षकहरु जिम्मेवार देखिएका छन् ।” कार्यक्रममा बिधालय व्यवस्थापन समिती अध्यक्ष तथा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहन विकले अभिभावकले बिधालयलाई निगरानीमा राख्दै सकारात्मक सुझाव सल्लाह दिन आग्रह गरेका छन् । “अभिभावकबाट रचनात्मक सुझाव सल्लाहको अपेक्षा हामीले गरेका छौँ ।” उनले भने, “त्यसै सुझाव सल्लाहलाई आत्मसात गर्दै बिधालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षलाई मजबुत बनाएर लैजाने छौं ।”
कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिधालयका प्रधानाध्यापक धर्मराज शर्माले सामाजिक परिक्षण कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले अभिभावक तथा सबै सरोकारवालाहरुबाट रचनात्मक सुझाव र सल्लाहको अपेक्षा पनि गरेका थिए । प्रधानाध्यापक शर्माले सकारात्मक सुझावलाई आत्मसात गरेर शैक्षिक गुणस्तरमा बिधालय प्रशासन केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बिधालयका सुचना अधिकारी ज्ञानेन्द्र प्रसाद जोशीले सञ्चालन गरेको कार्यक्रममा नगरपालिका शिक्षा समिती सदस्य रघुनाथ उपाध्याय लगायतले बोलेका थिए ।
बिधालयले आर्थिक वर्ष २०८०/०८१ को ६ करोड २८ लाख ३८ हजार ९ सय ४७ रुपैयाँ ३२ पैसा बराबरको आम्दानी विवरण सार्वजनिक गरिएको छ । त्यसमध्ये तीन करोड ६२ लाख ९६ हजार दुई सय ५७ रुपैयाँ खर्च हुँदा दुई करोड ६५ लाख ४२ हजार ६ सय ९० रुपैयाँ ३२ पैसा बचत देखाएको छ ।