कर्मचारीको अभाव झेल्दै गाउँपालिका

शेयेर गर्नुहोस


झलनाथ खनाल,अछाम १६ माघ /
अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । ६२ जना कर्मचारीहरुको दरबन्दी रहेको गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारीहरु मात्रै छन् । बाकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने, वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरि दुई क्षेत्र एउटै कर्मचारीले सम्हालेको अवस्था छ । अहिले पनि गाउँपालिकाका ५ वडा कार्यालय वडा सचिव बिहिन अवस्थामा छन् । वडा नं.३ र ४ मा वडा सचीव भएपनि अन्य पाँचवटा वडा कार्यालयको जिम्मा शिक्षा शाखा, स्वस्थ्य शाखा तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी बताउनुहुँन्छ ।
उसो त ग्रामीण क्षेत्रमा कर्मचारीहरु जानै मान्दैनन् । अछामका अधिकांश स्थानीय तह अहिले पनि निमित्तकै भरमा चलेका छन् । संघीय संरचनामा देश गैसकेको भएपनि अझै कर्मचारी व्यवस्थापनमा भने निकै ढिलाई हुँदै आएको छ । एकातिर दरबन्दी अनुसार कर्मचारी नहुनु एक समस्या छ भने अर्कोतिर सम्बन्धित कार्यक्षेत्रमा नगई बिदामै बसेर आफ्नो काज मिलाउने समेत कैयौं कर्मचारीहरुले गर्दै आएका छन् । त्यसको मारमा रामारोशन गाउँपालिका पनि परेको छ ।
“कर्मचारी अभावका कारण सेवाग्राहीको कार्य सम्पादनमा निकै समस्या रहँदै आएको छ । अर्कोतिर सेवाग्राहीलाई पनि निकै सास्ती हुँदै आएको छ ।” निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो, “गाउँपालिकाका शाखामा कार्यरत कर्मचारीहरुले शाखाको काम गर्नुपर्ने बाध्यता भएका कारण गाउँपालिकामै बस्नुपर्ने र वडा कार्यालयमा जानसक्ने अवस्था नरहेकोले पनि सेवाग्राहीले वडानाटै हुने कामको लागि पनि गाउँपालिका पुग्नुपर्ने बाध्यता छ ।” उहाँले संघीय र प्रदेश सरकारलाई पनि पटकपटक कर्मचारी व्यवस्थापनका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको बताउनुभएको छ ।
त्यहीँ क्षेत्रबाट निजामतीमा प्रवेश गरेका कर्मचारीहरुले दुर्गम रोजे पनि बाहिरबाट कर्मचारीलाई ल्याएर व्यवस्थापन गर्न निकै चुनौती देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताउनुहुँन्छ । “कर्मचारी आउँछन् तर आउने समयमै सरुवा ल्याएर आउने र हाजिर लगाएर सरुवा हुने गरेका छन् ।” भण्डारीले भन्नुभयो, “त्यस्तै परे एकदुई महिना बस्छन् । त्यसपछि फेरि अन्य शाखाको कर्मचारीहरुलाई जिम्मेवारी दिनुको अर्को विकल्प हुँदैन ।”
प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको गाउँपालिकामा अहिलेसम्म दुई जना प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा उपस्थित भएपनि उहाँहरु दुईचार महिनामै सरुवा भएर गएपछि २०७६ सालदेखि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ । “कर्मचारीका लागि हामिले निकै प्रयत्न गर्दै आएका छौं । स्वस्थ्य र शिक्षा शाखामा कर्मचारीहरु व्यवस्थापन गर्न सकिएपनि प्रशासन तथा वडा कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन अझै हुनसकेको छैन ।” गाउँपालिका अध्यक्ष झंकर बहादुर साउँदले भन्नुभयो, “आएका कर्मचारीहरु पनि बस्न मान्दैनन् । भौगोलिक विकटताका कारण पनि हुनसक्छ, हामीले चारवर्ष गाउँपालिका निमित्तको भरमा चलाउनु परेको छ ।”
उहाँले जनतालाई गाउँगाउँमा सिंहदरबार आएको अनुभुती अझै हुन नसक्नुको मुख्य कारण मध्येको एक कर्मचारी अभाव पनि भएको बताउँदै संघीय संरचना अनुसार आधारभूत कुराहरूको व्यवस्थापनमा देखिएको उल्झनले पनि जनतामा निराशा देखिएको बताउनुभयो । “अब वडा कार्यालयबाट हुने कामका लागी एउटा सेवाग्राही गाउँपालिका पुग्नुपर्छ भने त्यहाँ न्यायोचित हुँदैन । फेरि गाउँपालिकाले सबै कर्मचारी व्यवस्थापन गर्न त्यत्रो गाउँपालिकाको स्रोत पनि छैन ।” गाउँपालिकाका अध्यक्ष साउँदले भन्नुभयो, “प्रदेश सरकारले लोकसेवाको बिज्ञापन खोल्नै सकेको छैन । संघीय सरकारसँग कर्मचारी माग गर्दा त्यसको सुनुवाइ नै हुँदैन । यस्तो अवस्थामा जनप्रतिनिधिहरुले मात्रै के गर्ने ?”
उहाँले जनप्रतिनिधिहरु भए पनि प्रशासनिक कामहरू कर्मचारीहरु मार्फत नै हुने गरेका कारण पनि कर्मचारीको अभावले सबै क्षेत्र प्रभावित हुँदै गएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *