डेढ वर्षदेखि अन्धकारमा बास्न बाध्य छन् स्थानीय

शेयेर गर्नुहोस


झलनाथ खनाल, अछाम १७ माघ /
अछामको रामारोशन गाउँपालिकामा १२ वटा साना लघु जलविद्युत आयोजना सञ्चालनमा रहेकोमा २०७७ भाद्र २ गते आएको बाढीले सबै आयोजनालाई प्रभावित बनायो । बाढीका कारण पाँचवटा आयोजना पुर्ण रुपमा प्रभावित भए भने चारवटा आयोजनालाई आंशिक रुपमा प्रभाव पार्यो । गाउँपालिकामा निर्माणाधीन दुई आयोजनामा क्षति पुर्याउँदा ती आयोजनाको काम पनि निकै प्रभावित मात्रै भएन, गाउँपालिकाका पुरै वडा अन्धकार भए । बाढीका कारण आंशिक प्रभाव परेका तिनवटा आयोजना सुचारु भएपनि अन्य आयोजना अहिलेसम्म पनि सञ्चालनमा आइसकेका छैनन् ।
सबै वडामा विद्युतको पहुँच पुगेको गाउँपाकिकामा अहिले डेढ वर्षदेखि नागरिकहरू उज्यालोबाट बन्चित भएका छन् । लाखौंको लगानिमा निर्माण भएका आयोजना अलपत्र हुँदा त्यसको पुनः निर्माणकालागि स्थानीय तहले पनि कुनै पहल नगरेको स्थानीयको गुनासो गर्दै आएका छन् । गाउँपालिकाको वडा नं.१ का रामबहादुर विकले २०६२ सालमा साविकको मलातिकोट गाविस अहिलेको वडा नं. १ का नागरिकहरू मलातिकोट साना लघु जलविद्युत आयोजनाबाट उज्यालो पहुँचमा आएको बताउँदै लामो समयसम्म वडाका नागरिकहरु विधुतको पहुँचबाट बन्चित हुनुपरेको बताउनुभयो ।
“राजनीतिक अस्थिरताका कारण बन्द भएको आयोजना जनप्रतिनिधि आएपछि सुचारुका लागि पहल भएपनि चारवर्ष पूरा हुँदा पनि पूरा हुनसकेको छैन ।” विकले भन्नुभयो, “विधुतकै कारण कुलो निर्माणमा भएको ढिलाइले किसानहरूको खेतीयोग्य जमिन समेत बाँझो रहेका छन् । त्यसैमा गतवर्षको बाढीका कारण भएको क्षतिले आयोजना पनि कहिले सञ्चालनमा आउछ भन्ने एकिन गर्न सकिने अवस्था रहेको छैन ।”
उता वडा नं. २ मा पनि सबैभन्दा पहिले बिजुली बलेको थियो । डोग्री खोलाको पानीबाट २० किलोवाट क्षमताको विद्युत आयोजना सञ्चालनमा आएको भएपनि स्थानीय सरकारले त्यसलाई कैलाश खोलामा सार्ने र त्यसको क्षमता बढाउने भन्दै विद्युत सेवा बन्द भयो । अहिलेसम्म न त बिजुली बल्यो न त आयोजना नै सफल भयो । पहिले उपभोक्ता समिती मार्फत काम भएको आयोजना अहिले ठेक्का प्रक्रिया मार्फत निर्माण हुनलागेको छ ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले अहिले वडा नं. ३, ५ र ७ का केही भागमा मात्रै विधुत सेवा सुचारु रहेको बताउँदै अन्य क्षेत्रमा अझै विधुतको पहुँच पुर्याउन नसकिएको बताउनुभएको छ । “गतवर्षको बाढीका कारण पाँचवटा आयोजनामा पुर्णरुपमा क्षति भएकोले त्यसलाई शुन्यबाटै सुरु गर्नुपर्ने देखिन्छ भने, अन्य पाँच आयोजनाहरु सञ्चालनका लागि पनि लाखौं रकम खर्च हुने देखिएको छ ।” गाउँपालिकाका अध्यक्ष साउँदले भन्नुभयो, “गाउँपालिकाको बजेटले सबै आयोजना सुचारु गर्न सम्भव छैन । प्रदेश र संघ सरकारसँग बन्द भएका लघु जलविद्युत आयोजना सुचारुका लागि पटकपटक समन्वय भएपनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पहल अझै हुनसकेको छैन ।”
उसो त गाउँपालिका रहेको वडा नं. ३ सम्म राष्ट्रिय प्रशारण लाइन समेत पुगिसकेको छ । बीचमा रहेको वडा नं. १ र २ का गाउँहरु अझै अध्यारोमा रहेका छन् । घरको आगनबाट राष्ट्रिय प्रशारण लाइन जाँदा पनि विद्युतको उज्यालोबाट रामारोशनका जनता बञ्चित हुँदै आएका छन् । “विद्युत आयोजनाको नाममा कार्यकर्ता पाल्ने काम अहिले हुँदै आएको छ । घर अगाडिबाट विद्युत लाइन जाँदा पनि उज्यालो देख्न पाएका छैनौं ।” स्थानीय हर्क विकले भन्नुभयो, “चार वर्ष भैसक्यो आयोजनाको काम सुरु भएको नत बिजुली बाल्नको लागि स्थानिय सरकारले तत्परता देखाउँछ न त राष्ट्रिय प्रशारण लाइन जोड्नको लागि ।”
गाउँपालिकाका अध्यक्ष साउँदले चालू आर्थिक वर्षमा वडा नं. १ को केही भाग, वडा नं. ४, वडा नं. ५ को भटाकाटिया क्षेत्रमा पुर्याउने तयारी भएको बताउनुभय। उहाँले लघु जलविद्युत आयोजनाको मापदण्ड र विद्युत प्राधिकरणको मापदण्ड फरक परेका कारण पनि पुरानो संरचनामा काम नहुने भएका कारण गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउन समस्या भएको बताउनुभएको छ ।
“हामिले लघु जलविद्युत आयोजनाको कामबाट होस् वा राष्ट्रिय प्रशारण लाइनबाट होस् यो वर्षमा गाउँपालिकाका ७० प्रतिशतलाई उज्यालोको पहुँचमा ल्याउने योजना भएको छ ।” गाउँपालिकाका अध्यक्ष साउँदले भन्नुभयो, ” गाउँपालिकाको ग्रामीण बस्तीमा जहाँ विद्युतको पहुँच पुर्याउन कठिन भएका बस्तीमा सोलारको व्यवस्थाका लागि संघीय सरकारबाट २ करोड ५० लाख रुपैयाँ बजेट आएको छ । गाउँपालिकाका नागरिकहरुलाई उज्यालोको पहुँचमा ल्याउने प्रयत्नमा हामी लागि परेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *