शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १२ कार्तिक /
नेपाल बैंक लिमिटेड टीकापुर शाखाले टीकापुर नगरपालिकाका स्थायी कर्मचारीहरुलाई बिना धितो कर्जा प्रवाह गर्ने भएको छ ।
बैंकले नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुलाई बिना धितो १५ लाखसम्मको कर्जा प्रवाह गर्ने भएको हो । नगरपालिका र बैंकबिच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौता पत्रका हस्ताक्षर कार्यक्रममा नगर प्रमुख तपेन्द्रबहादुर रावलले कर्मचारीहरुका लागि बिना धितो कर्जा प्रवाह हुनु नगरपालिकाकै लागि खुसिको कुरा भएको बताउँदै यस्ता कार्यक्रमहरुले नगरपालिका र बैंक बिचको सम्बन्ध अझै प्रगाढ बन्ने बताएका छन् । उनले कर्मचारीहरुलाई आर्थिक गतिविधि अगाडि बढाउन सहज हुने भन्दै कार्यक्रमलाई सफलतापुर्बक अगाडि बढाउन दुबै पक्षको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
कार्यक्रममा नेपाल बैंक सुदुरपश्चिम प्रदेश प्रमुख जनकप्रसाद सुवेदीले कार्यक्रम सुरुवाती चरणमा भएकोले अहिले १५ लाखसम्मको कर्जा प्रवाह गरिने भएपनि आउँदा दिनहरूमा त्यसको आकार बढाउँदै लैजाने बताएका छन् । उनले यसैगरी नगरपालिकाले बैंकमा सिमित रकम जम्मा गर्नसके निम्न आय भएका किसानहरुलाई ५ लाखसम्म बिना धितो कर्जा प्रवाह गर्न सकिने बताएका छन् ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले कर्मचारी भनेको भोको पनि नमर्ने र पेट पनि नभरिने जस्तो प्रवृत्तिको भएको बताउँदै बैंकको कर्जा प्रवाहले ठूलो राहत मिल्ने बताएका छन् ।
उनले नगरपालिका जमानत बसेर कर्मचारीहरुलाई कर्जा प्रवाह गर्न लागेको बताउँदै यसले कर्मचारीहरुमा पनि सकारात्मक सन्देश जाने बताएका छन् ।
नेपाल बैंक टीकापुरका शाखा प्रमुख नरेन्द्र कुमार मिश्रले कर्मचारीको कर्जाको अवधि पाँच वर्षको रहने बताउँदै त्यसको सबै जिम्मेवारी नगरपालिकाको रहने बताएका छन् । उनले कर्मचारीको खातामा आउने तलब भत्ताको रकमबाट बैंकको ब्याज र किस्ता कटौती गरिने बताउँदै पाँच
लाख ओडि र १० लाखको किस्ता कर्मचारीहरुले भर्नुपर्ने बताएका छन् ।