कार्यकक्षमा तालाबन्दी हुँदा बरण्डामा नयाँ कार्यकक्ष बनाए थारुले

शेयेर गर्नुहोस


टीकापुर ०७ चैत /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले आफ्नो कार्यकक्षमा तालाबन्दी भएपछि दर्ता चलानी शाखाको बाहिर बरन्डामा कार्यकक्ष बनाएका छन् ।
नगरपालिकाका केही कार्यपालिका सदस्यहरुको चर्को विरोधपछि गएको फागुन २२ गते पत्रकार सम्मेलन आयोजना गरेर त्यसको खण्डन गर्दै टीकापुर छोडेका नगर प्रमुख थारुले बुधबार टीकापुर आएपछि कार्यकक्षमा ताला हुँदा वैकल्पिक कार्यकक्ष बरण्डामा कार्यकक्ष बनाएका हुन । तीनजना वडा अध्यक्ष सहित सातजना कार्यपालिका सदस्यले नगर प्रमुखले कार्यपालिकामा पेश नभएका प्रस्ताव कार्यपालिकाको माइनुटमा समावेश गर्दै सार्वजनिक गरेको भन्दै त्यसको विरुद्धमा २३ गते पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
नगर प्रमुख थारुकै पार्टीका कार्यपालिका सदस्य दिपक बहादुर निसानीलाई नगरपालिकाको अनुगमन समितिबाट हटाएपछि उत्पन्न भएको विवादले सामाजिक संजालमा विभिन्न आलोचना खेपेका नगर प्रमुख थारुले फागुन २२ गते विकास विरोधीहरुले आफ्नो आलोचना गर्न थालेको प्रतिक्रिया सहित पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यसैदिन थारुको पार्टीका केन्द्रिय सदस्य रमेश विश्वकर्मा सहित नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि नगर प्रमुखको कार्यशैली प्रती असन्तुष्ट व्यक्त गर्दै बिज्ञाप्ति जारी गरेका थिए । त्यसको भोलिपल्ट फागुन २३ गते सातजना कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गर्दै नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।
नगर प्रमुख थारुले तालाबन्दीको विषयमा कसैसँग वार्ता र छलफल नहुने बताएका छन् । उनले जनताको काम गर्न आएका जनप्रतिनिधिले विकास नगर भनेर विरोध गर्दै तालाबन्दी गरेको आरोप लगाउँदै विकास विरोधी तत्वसँग कुनै वार्ता र छलफल नगर्ने बताएका हुन । “जनताले जनप्रतिनिधिहरुको कार्यशैली विरुद्ध आन्दोलन गरेको भए, तालाबन्दी गरेको भए उहाँहरुको समस्या समाधान गर्ने दायित्व आफुहरुमा भएका कारण छलफल गर्न सकिन्थ्यो । वार्ता अनि समन्वय र सहकार्य गर्न सकिन्थ्यो ।” उनले भने, “जनताको काम गर्न आएकाहरु आफै तालाबन्दी गर्न लागे मैले कुन आधारमा छलफल गर्ने ? को सँग समन्वय गर्ने ?”
नगर प्रमुख थारुले जनताको काम गर्न जनप्रतिनिधिको भुमिकामा आएको बताउँदै जनताको काम गर्नका लागि तालाबन्दी भन्दा जे भए पनि आफ्नो निरन्तरता कायम रहने बताएका छन् । विकासका सवालमा जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने उनको भनाइ छ । “मैले विमानस्थल सञ्चालनमा ल्याएर गल्ती गरेको भए भनिदिनुपर्यो, त्यो कदम गल्ती थियो भनेर । होइन भने आफ्नो जिम्मेवारीबाट पन्छिएर विकासमा अवरोध गर्ने कार्य कसैलाई पनि छुट छैन ।” नगर प्रमुख थारुले भने,”यदि विमानस्थल सञ्चालन गर्नु मेरो कमजोरी थियो भने भन्नुपर्यो, म अहिले नै आफ्नो निर्णयबाट व्याक हुन्छु । होइन भने मैले कसैसँग वार्ता र छलफल गर्न आवश्यक छैन ।”
उता तालाबन्दी गर्ने पक्षबाट वडा नं. १ का वडा अध्यक्ष मोहन विकले वार्ता र छलफल गरेर निकास निकाल्ने प्रयास नभए तालाबन्दी निरन्तर रहने बताएका छन् । उनले जनताको काममा कुनै असर नपर्ने गरेर आफुहरुले आन्दोलन थालनी गरेको बताउँदै नगर प्रमुखको आगामी रणनीति अनुसार आफुहरु प्रस्तुत हुने बताएका छन् । “हाम्रा केही असहमति छन् । त्यसका लागि सम्बन्धित निकायले पहल गर्यो भने त्यसैअनुसार सहजताको वातावरण बन्न सक्छ ।” उनले भने, “होइन हाम्रो विरुद्धमा अभिव्यक्ति आउन थाल्यो भने त्यसैअनुसार हामी पनि अगाडि बढ्छौं ।” समस्याको समाधान नभएसम्म तालाबन्दी जारी रहने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *