किसानले भित्र्याउन पाएनन् चैते धान

शेयेर गर्नुहोस


झलनाथ खनाल, भजनी ०८ साउन /
कैलालीले भजनी नगरपालिका वडा नं. ८ का ओम पाण्डेले यसवर्ष एक बिघा क्षेत्रफलमा चैत धान लगाउनुभएको थियो । विगतका वर्षहरूमा राम्रो उत्पादन दिएपछि उहाँले ६ कट्ठामा लगाउँदै आउनुभएको चैते धानको खेती विस्तार गर्नुभएको थियो ।
धान खेती विस्तार गर्नुभएको पाण्डेले यसवर्ष बाढीका कारण धान भित्र्याउन पाउनुभएन । गत असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुवानमा परेपछि सबै नष्ट भएको उहाँले बताउनुभयो । “उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि डुवान हुने सबै क्षेत्रमा चैते धान लगाएको थिए ।” उहाँ भन्नुहुन्छ, “५/६ कट्ठाको भित्र्याउन सके पनि बाँकी सबै डुवानले सखाप बनायो ।”
सोही ठाउँका लालप्रसाद न्यौपानेले पनि चैते धान भित्र्याउन पाउनुभएन । असार १९ गतेको डुवानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि भएको खर्चको जोहो गर्न मुस्किल हुने उहाँको भनाई छ । “यसवर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुन्छ भन्ने आशा जागेको थियो ।” न्यौपानेले भन्नुभयो, “धान राम्रो भएको डुवानमा पर्नलाई रहेछ । अहिले धान रोप्ने बेलाको लागेको खर्च व्यवस्थापन गर्न गाह्रो भएको छ ।” उहाँका अनुसार ढिलो गरी रोपाइँ गरेका अधिकांश किसानले धान भित्र्याउन पाएनन् ।
यसवर्ष किसानहरुले ढिलो गरी धान रोप्नु र छिटो बाढी आउनुले पनि अधिकांश किसानको धान डुवानले नष्ट हुन पुग्यो । धान काट्ने साधन समयमा नपाउँदा भित्र्याउन तयार भएको एक बिघा क्षेत्रफलको धान नष्ट भएको भजनी नगरपालिका वडा नं. ३ मा नेत्र देउवा बताउनुहुँन्छ । डुवानले करिब ५० क्विन्टल धान खेतमै पुरिएको दुखेसो देउवाको छ । “समयमा धान काट्ने साधन पाइएन । हातले काट्दा १० कट्ठाको धान मात्रै भित्र्याउन सकियो ।” उहाँले भन्नुभयो, “अरुको साधनको भर परेर खेती लगाउनु पनि दुख हुँदोरहेछ ।” देउवाका अनुसार १० कट्ठामा २९ क्विन्टल धान उत्पादन भएको छ ।
उत्पादन भएको धान बिक्रीका लागि बजारको समेत अभाव रहेको किसानहरुको भनाइ छ । बजार मूल्य किसानको छैन । व्यापारीले भनेअनुसार किसानले धान बेच्नु पर्ने बाध्यता छ । “सुरुमा तीन हजार ६ सय प्रती क्विन्टल बिक्री गरेको धान केही समयपछि तीन हजारमा बिक्री गर्नुपर्यो ।” किसान चन्द्रबहादुर चौधरी बताउनुहुँन्छ । “किसानले सुरुको मूल्य अन्तिमसम्म पाउन सकेको भए राम्रो हुन्थ्यो । सरकारले धानको समर्थन मूल्य तोक्दा चैते धानलाई पनि ध्यानमा राखेर मूल्य तोक्नुपर्छ ।” उहाँले धानको समर्थन मुल्यसँगै खाद्य धान खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
भजनी नगरपालिकाले दिएको जानकारी अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैते धान बाढी र डुवानले नष्ट गरेको छ । यतिबेला भजनीका अधिकांश कृषि योग्य फाँटहरु बाँझो छन् । बर्खामा हुने बाढी र डुवानका कारण किसानहरूले प्रायः खेती गर्दैनन् । “ढिलो वर्षा सुरु भएको वर्ष किसानहरूले प्रायः धान खेती गर्नुहुन्थ्यो । मनसुन छिटो सक्रिय भएपछि अधिकांश जमिन बाँझो रहन्छ ।” सुन्दर चौधरीले भन्नुभयो, “जमिन बाँझो हुँदा किसानलाई ठुलो नोक्सानी हुने गरेको छ । बाढी र डुवानको विकल्प किसानहरूसँग भए उत्पादनमा ठूलो राहत हुन्थ्यो ।”
उसो त बढी डुवान नभएको वर्ष किसानले दुईतीन पटक चैते धानको उत्पादन लिने पनि गरेका छन् । असारमा भित्र्याएको चैते धान डुवानमा नपरेपछि भदौमा पुनः उत्पादन दिन्छ । “मैले तीनपटकसम्म एकै पटक रोपेको धान भित्र्याएको छु । आम्दानीका हिसाबले कम उत्पादन एक बिघामा दोस्रोपटक २० क्विन्टल जति उत्पादन लिएको थिए ।” आन्तु चौधरी भन्नुहुन्छ, “यसवर्ष एकैपटक पनि उत्पादित धान भित्र्याउन सकिएन ।” भजनी क्षेत्रमा यसवर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *