शेयेर गर्नुहोस
टीकापुर ०६ साउन /
टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा कुल बजेटको ८२ प्रतिशत खर्च गरेको छ ।
नगरपालिकाले सार्वजनिक गरेको खर्चको विवरणअनुसार आर्थिक वर्षमा ८२ दशमलव ६४ प्रतिशत बजेट खर्च गरेको हो । नगरपालिकाको वास्तविक आयको कुल एक अर्ब ९ करोड ५८ लाख ५८ हजार एक सय १३ रुपैयाँ ४७ पैसा रहेकोमा खर्च तर्फ ९१ करोड ७ लाख ८८ हजार ६ सय ५३ रुपैयाँ ३६ पैसा खर्च भएको छ । गत आर्थिक वर्षमा नगरपालिकाले आयको १९ करोड १२ लाख ३५ हजार ८ सय ८५ रुपैयाँ ३५ पैसा खर्च गर्न नसकेको देखिएको छ ।
नगरपालिकाको तथ्यांक हेर्दा चालू तर्फ ६५ करोड ८१ लाख २१ हजार ६ सय ९० रुपैयाँ ५१ पैसा बजेटमा ५७ करोड ९३ लाख ९७ हजार तीन सय ७३ रुपैयाँ दुई पैसा खर्च गरेको देखिएको छ । जुन ८८ दशमलव चार प्रतिशत हुन आउँछ । चालू तर्फ नगरपालिकाले ७ करोड ८७ लाख २४ हजार तीन सय १७ रुपैयाँ ४९ पैसा खर्च गर्न सकेन ।
त्यसैगरी पुँजीगत तर्फको ४४ करोड ३९ लाख दुई हजार ८ सय ४८ रुपियाँ २० पैसामा ३३ करोड १३ लाख ९१ हजार दुई सय ८० रुपैयाँ ३४ पैसा अर्थात ७४ दशमलव ६५ प्रतिशत बजेट खर्च भएको देखिएको छ ।नगरपालिकाले चालू तर्फ ११ करोड २५ लाख ११ हजार पाँच सय ६७ रुपैयाँ ८६ पैसा खर्च गर्न सकेन ।
नगरपालिकाको संघीय सरकारबाट ५८ करोड ४६ लाख ८ हजार प्रस्तावित आयमा ५३ करोड ३७ लाख १२ हजार ६ सय ७३ रुपैयाँ अर्थात ९१ दशमलव २९ प्रतिशत बजेट प्राप्त गरेको थियो । त्यसैगरी प्रदेश सरकारबाट तीन करोड ६१ लाख ५५ हजार पाँच सय ७४ रुपैयाँ प्रस्तावित आयमा तीन करोड २१ लाख ३० हजार ६ सय ६ रुपैयाँ अर्थात ८८ दशमलव ८७ प्रतिशत बजेट पाएको थियो ।
नगरपालिकाले राजस्व बाडफाडबाट १९ करोड ४४ लाख १० हजार ६ सय अनुमान गरिएकोमा १९ करोड २३ लाख ६६ हजार दुई सय ५८ रुपैयाँ ९२ पैसा अर्थात ९८ दशमलव ९५ प्रतिशत प्राप्त भएको तथ्यांकमा उल्लेख छ । नगरपालिकाको आन्तरिक स्रोतबाट २७ करोड ३४ लाख ९१ हजार ७ सय १० रुपैयाँ ७१ पैसा अनुमान गरिएकोमा ३३ करोड ७६ लाख ४८ हजार पाँच सय ७५ रुपैयाँ ५५ पैसा अर्थात एक सय २३ दशमलव ४६ प्रतिशत रकम उठेको छ भने वैदेशिक स्रोतबाट नगरपालिकाले एक करोड ३३ लाख ५८ हजार पाँच सय ७४ रुपैयाँ अनुमान गरेकोमा त्यसबाट शुन्य आम्दानी देखिएको छ । नगरपालिकाको लक्ष्यको ९९ दशमलव ४४ प्रतिशत वास्तविक बजेट पुगेको छ ।