शेयेर गर्नुहोस
झलनाथ खनाल
टीकापुर १५ मंसिर / कैलालीमा दुईवटा मात्रै स्वास्थ्य भवनको शिलान्यास गरिएको छ ।
घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् भने गौरीगंगा नगरपालिका, लम्कीचुहा नगरपालिका र महुन्याल गाउँपालिकाले आन्तरिक तयारी हुन नसकेको भन्दै मंगलबार शिलान्यास गरिने बताइएको छ । कैलालीका चार स्थानीय तहमा १५÷१५ शैयाको र एक स्थानीय तहमा १० शैयाको अस्पताल निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले सांसद गौरीशंकर चौधरीबाट अस्पतालको शिलान्यास भएको बताउँदै समय भन्दा अगाडी नै अस्पतालको काम सम्पन्न हुने गरी काम गरिने बताएका छन् ।
बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरीले पनि गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास भएको बताएका छन् । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले मंगलबार स्वास्थ्य राज्य मन्त्री नवराज रावतले अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम यसअघि नै तय भएकोले सोमबार शिलान्यास नगरिएको बताएका छन् ।
गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिमबहादुर देउवाले आन्तरिक तयारी पूरा नभएका कारण अस्पतालको शिलान्यास गर्न नसकिएको बताएका छन् । उनले मंगलबार स्वास्थ्य राज्यमन्त्री रावत–बाट अस्पतालको शिलान्यासको कार्यक्रम रहेको बताएका छन् ।
महुन्याल गाउँपालिकामा भने अध्यक्ष नवलबहादुर रावल कोरोना संक्रमित भएर उपचाररत रहेकोले अस्पतालको शिलान्यास गर्न समय लाग्ने भएको छ । अध्यक्ष रावलले आफू कोरोना संक्रमित भई टीकापुर–मा उपचार गराइएको बताउँदै अस्पतालको शिलान्यासको लागि केही तयारीहरु गर्न बाँकी रहेकोले समय लाग्न सक्ने बताएका छन् । गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुन लागेको हो ।
कैलालीको धनगढी उप–महानगरपालिका, टीकापुर नगरपालिका, गोदावरी नगरपालिकामा पुरानै अस्पतालहरु रहेको बताउँदै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले बाँकी रहेको स्थानीय तहमा अर्को बर्ष अस्पताल निर्माणको काम हुने बताएका छन् । उनले सुदूरपश्चिम प्रदेशका १५ शैयाको २३ र १० शैयाको ३१ अस्पताल निर्माण गरिने बताए । उनका अनुसार प्रदेशका १३ वटा स्थानीय तहमा अहिले पनि अस्पताल सञ्चालनमा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शैयाको अस्पतालको डोटीको सिलगढीमा सिलान्यास गरिएको छ । विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ ग्वालासैनमा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण हुन लागेको हो ।
टीकापुरमा बन्ने सरुवा रोग अस्पताल
सुदूरपश्चिम प्रदेश सरकारको लागतमा टीकापुरमा पनि सरुवा रोग अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले सुदूरपश्चिम प्रदेश सरकारको २ करोडको लगानीमा सरुवा रोग अस्पताल निर्माण हुन लागेको बताएका छन् । ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै प्रदेश सरकारले टीकापुरमा सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।’ अध्यक्ष रावलले भने, ‘तर, पछिल्लो समय अस्पताल निर्माणको प्रक्रियाका लागि आफूहरुले प्रदेश सरकारलाई तीन पटक परिपत्र गर्दा समेत सुनुवाइ हुन सकेन ।’
अध्यक्ष रावलले अन्ततः प्रदेश सरकारले टीकापुरमा सरुवा रोग अस्पताल निर्माणका लागि टिप्पणी उठाएको जानकारी आएको बताउँदै २÷४ दिनभित्रै अस्पतालको डिजाइन बाहिर आउने बताएका छन् ।