खेलकुदका गतिविधि बढाउन लगानीको खाँचो

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २७ मंसिर /
कैलालीको टीकापुरका गजेन्द्र शाही (गज्जु) फुटबलका लागि निकै लोकप्रिय नाम हो । सानै उमेरदेखि फुटबल खेलमा निपुण हुँदै जानुभएका शाहीको उर्जावान समय खेलकुदमै बित्यो । ले मेयरकपबाट फुटबल खेल सुरु गर्नु भएको थियो । त्यो बेला टीकापुरका लागि मेयर कप निकै महत्त्वपूर्ण खेलकुद प्रतियोगिताको रुपमा चिनिन्थ्यो ।
उहाँले फुटबल खेल्दै जादा थुप्रै फुटबल प्रतियोगिताहरु खेल्ने अवासर पनि पाउनुभयो। गजेन्द्रले ए डिभिजन लिग सम्मको फुटबल यात्रा पुर्याएको बताउदै सुदुरपश्चिमलाई मेडल जिताउन सफल भएको बताउनुभयो । “२०७१ मा सुदुरपश्चिमबाट राष्ट्रिय लिग खेलेको थिए । मुख्यमन्त्री कपको सुदुरपश्चिमको कप्तनी गर्ने अवसर पनि पाए ।” गजेन्द्रले भन्नुभयो, “पाँच बर्षदेखी सुदुरपश्चिमको कप्तानको रुपमा काम गरे । मेरा लागि खेलकुद सुखद र दु:खद दुबै रहयो ।”
खप्तड गोल्डकप २०७६ को उपाधी पनि गजेन्द्रले कप्तानी गरेको टिमले हात पार्न सफल भएको थियो । उहाँ पहिलेका खेलकुदका गतिविधि हेर्ने हो भने अहिले खेलकुद क्षेत्र स्थानिय क्षेत्रबाट हराउदै गएको जस्तो देखिएको बताउनुहुँन्छ । टीकापुरलाई चिनाउन खेलकुद क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभएको छ । शाही खेलबाट भविष्य सुनिश्चित नभएकै कारण होटल व्यवसाय सञ्चालन गर्दै पनि आउनुभएको छ ।
कैलालीको जानकी गाउँपालिका खैरिफाटका बिष्णु भाट १७ बर्षको उमेर देखि भलिबल खेल सुरु गर्नुभयो । सानैमा गाउँमा मोजा भित्र कागजका टुक्रा हालेर भकुण्डो भनाएर खेल्न सुरु गर्नुभएका भाटले २०५७ मा पहिलो भलिबल प्रतियोगिता गाबिस स्तरीय खेल्नुभएको थियो । त्यसभन्दा पछि उहाँ क्षेत्रीय हुँदै राष्ट्रिय स्तरको खेलमा समेत थुप्रै खेल खेल्नु भयो । त्यति मात्र नभई सुदुरपश्चिमबाट राष्ट्रिय कप्तानको अवसर समेत पाउनुभएका भाटले खेल जिबनबाट सन्यास लिसक्नुभएको छ ।
“खेल पनि एक नशा जस्तै हो । जहाँ भबिस्य छैन भन्ने थाह पाउदापाउदै पनि लागिसकेपछी छोडन सकिँदैन । ” बिष्णुले भन्नुभयो, ” पहुँचकै आधारमा खेलाडीले अवसर पाउछन् । राम्रो सम्भावना भएको खेलाडी अहिले पनि ओझेलमा परेका छन ।” उहाँले खेलकुद मैदानकै अभावमा समुदायस्तरमा रहेका थुप्रै खेलाडीहरुले अवसर पाउन नसकेको बताउनुभएको छ । उहाँले स्थानीय सरकारले पनि खेलकुद क्षेत्रको विकासका लागि काम गर्न नसकेको बताउनुभयो ।
टीकापुरको बिरेन्द्र बिध्यामन्दिर माद्यामिक बिद्यालयका पुर्व शिक्षक अर्जुन ठकुल्लाको खेलकुद क्षेत्रमा ठूलो योगदान छ । सेपेकताक्रो खेलका अन्तरास्ट्रिय रेफ्री समेत रहनुभएका ठकुल्लाले थुप्रै खेलाडीहरुलाई उत्प्रेरणा दिनुभएको मात्रै छैन आफ्नै खर्चमा समेत कयौं प्रतियोगितामा सहभागिता जनाउन पुग्नुभएको छ ।टीकापुरबाट एथलेटिक्समा सिमा चौधरी, सेपेकताक्रोमा गंगा चौधरी, मुकुन्द गौतमलाई राष्ट्रिय स्तरको खेलमा सहभागी गराई उपाधी जिताउन सफल हुनुभएका ठकुल्ला आर्थिक अबस्थाका कारणले कैयौं खेलाडीहरु विस्थापित हुँदै गएको बताउनुहुँन्छ ।
“थुपै खेलाडीहरुमा सम्भावनाहरु छन तर आर्थिकले तिनलाई खेल क्षेत्रमा बन्देज बनाइदिएको छ । सरकारले खेलकुदमा लगानी गर्दैन ।” ठकुल्लाले भन्नुभयो, ” स्रोतसाधनको अभाव, स्थानिय सरकारको उदासिनताले पनि खेल क्षेत्र अगाडि बढ्न सकेको छैन भने कैयौं प्रतिभा भविष्य सुनिश्चित नदेखेकै कारण पनि आउन सकेका छैनन् ।
उसो त टीकापुर क्षेत्रमा खेलकुदको निकै सम्भावना छ । टीकापुरमा २२ बिघा जग्गा खेलकुदको नाममा छ् । टीकापुर खेलकुद विकास समितिको नाममा रहेको उक्त जग्गा यतिबेला गौचरनमा परिणत छ । करोडौं बजेट खर्च हुँदा पनि खेलकुद मैदानलाई सञ्चालनमा ल्याउन सकिएको छैन । बर्सेनि बजेट आउने तर टुक्रे बजेटले कुनै काम पूरा नहुँदा टीकापुरमा खेलकुद मैदानको अभावमा खेलकुदका गतिविधि अगाडि बढ्न सकेका छैनन् ।
स्रोत हुँदाहुँदै पनि त्यसको योजनाबद्ध रुपमा काम हुन नसक्दा कैयौं खेल क्षेत्रमा आफ्नो भविष्य देखेकाहरु विस्थापितको अवस्थामा पुगेका छन् । ” टीकापुर नगर खेलकुद विकास समितीको नाममा रहेको जग्गा उपयोगका लागि स्थानीय सरकारले पनि कुनै ठोस योनना ल्याउन सकेको छैन । नगर खेलकुद विकास समिती पनि निकै निष्क्रिय छ ।
खेलकुद मैदानकै अभावमा खेलाडीहरु खेलकुदका गतिविधिबाट बञ्चित हुनुपर्ने अवस्था रहेको भलिबल खेलाडी लोकेन्द्र साउँद बताउनुहुँन्छ । “टीकापुरमा खाली जग्गा जति पनि छ । त्यसलाई थोरै लगानी गरेर खेलकुद मैदानको रुपमा विकास गर्न सकिने भएपनी त्यो हुन सकेको छैन ।” साउँद भन्नुहुन्छ, “बिना तयारी कुनै प्रतियोगितामा जाँदा परिणाम आफू अनुकुल आउँदैन ।”
गत वर्ष टीकापुर नगरपालिकाले कभर्डहलमा निर्माणका लागि तत्कालीन नगर प्रमुख तपेन्द्र बहादुर रावलले शिलान्यास गर्नुभएको थियो । नगर विकास समितीको दुई करोड बजेटबाट कभर्डहल निर्माणको कार्य प्रारम्भ गर्ने भनिए पनि बजेट व्यवस्थापन नहुँदै शिलान्यास भएको कभर्डहल निर्माण नै हुन सकेको छैन । चालू आर्थिक वर्षमा पनि कभर्डहल निर्माणका लागि बजेटको व्यवस्थापन नभएको नगरपालिकाकी लेखा प्रमुख लक्ष्मण ओड बताउनुहुँन्छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३० लाख बजेट खेलकुदका लागि छुट्याएको छ । जसमध्ये १५ लाख नगर स्तरीय मेयर तथा उपमेयर कपका लागि छ छ भने बाँकी अन्य स्थानीय तहमा हुने प्रतियोगिताको लागि भनिएको छ । नगर प्रमुख रामलाल डंगौरा थारुले खेलकुद क्षेत्रको विकासका लागि निकै गम्भीर रहेको बताउनुभयो । ” खेलकुद प्रतियोगिताका लागि नगरपालिकाले प्रयाप्त बजेटको व्यवस्था गरेको छ । संरचना निर्माणको लागि संघ र प्रदेश सरकारसँग समन्वय भैरहेको छ ।” नगर प्रमुख थारुले भन्नुभयो, “खेलकुदको विषयमा हामी गम्भीर छौं । म आफै पनि खेलाडी भएकोले खेलाडीहरुलाई अब निराश हुने अवस्था रहन दिने छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *