खेलकुदमा प्रयाप्त बजेट छ : विक

शेयेर गर्नुहोस


टीकापुर ०८ माघ /
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले खेलकुदका लागि स्थानीय तहबाट प्रयाप्त बजेट विनियोजन भएको बताएका छन् ।
नगरस्तरीय अन्तर बिधालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेस्रो कलस्टर अन्तर्गतको कार्यक्रममा बोल्दै वडा अध्यक्ष विकले स्थानीय तहको स्रोतसाधनलाई मध्यनजर गर्दा खेलकुद क्षेत्रका लागि प्रयाप्त बजेट विनियोजन हुँदै आएको बताएका हुन । “बजेट प्रयाप्त छ । त्यसको वितरण एकद्वार प्रणालीबाट हुन नसक्दा स्थानीय सरकारको खेलकुदमा लगानी कम देखिएको हो ।” उनले भने, “एकद्वार प्रणालीबाट जाने हो भने हरेक बिद्याका खेलकुदका कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।”
उनले सामुदायिक र संस्थागत बिधालयलाई सँगसँगै लैजाने कुरामा नगरपालिका सधै सकारात्मक रहेको बताएका छन् । “सामुदायिक र संस्थागत बिधालय बिचको दुरी घटाउनको लागि पनि विभिन्न यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिन आवश्यक छ ।” वडा अध्यक्ष विकले भने, “त्यसमा स्थानीय सरकार अभिभावकको भुमिका खेलिरहेको छ ।” वडा अध्यक्ष विकले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि महत्त्वपूर्ण माध्यम खेलकुद हुने बताएका छन् ।
टीकापुर नगरपालिका शिक्षा समिती सदस्य धर्मराज शर्माले बालबालिकाको सर्वाङ्गिण विकासको लागि खेलकुद अपरिहार्य विधा रहेको बताएका छन् । उनले पठनपाठनका गतिविधिसँगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै लैजानुपर्ने बताएका छन् । त्यस्तै अर्का सदस्य रघुनाथ उपाध्यायले सामुदायिक र संस्थागत बिधालयलाई हेर्ने दृस्ठिकोणमा कुनै फरक नभएको बताएका छन् । उनले शिक्षा समिती आगामी दिनमा संस्थागत बिधालयलाई पनि सँगै समेटेर अगाडि बढ्ने कुरामा ढुक्क रहन आग्रह गरेका छन् ।
उपाध्यायले स्थानीय सरकारको भर मात्रै पर्नुभन्दा आफ्नो तर्फबाट पनि केही लगानी खेलकुद लगायतका कार्यक्रममा गर्नुपर्ने बताए । टीकापुर नगर खेलकुद विकास समितिका अध्यक्ष तथा खेलका मुख्य निर्णायक अर्जुन ठकुल्लाले स्थानीय सरकार खेलकुदका नाममा औपचारिकतामा सिमित पार्ने काम गर्दै आएको बताएका छन् । उनले खेलकुदको क्षेत्रमा नगरपालिकाको ध्यान पुग्न नसकेको बताउँदै ठकुल्लाले टीकापुरमा नगर खेलकुद विकास समिती छ भन्ने समेत थाहा नभएको गुनासो गरेका छन् ।
त्रिपथ बिद्या निकेतनको आयोजनामा भएको कार्यक्रमको सहयोग टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको रहेको छ । बिद्या निकेतनका बिधालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मत विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत बिधालयका प्रीन्सिपल मानबहादुर थापाले गरेका थिए, भने सञ्चालन सप्तऋषी माद्यामिक बिधालयका लेखा शाखा प्रमुख शिवराम चौलागाईंले गरेका थिए । कार्यक्रममा मञ्जुमोर्डन एकेडेमीका प्रीन्सिपल देवेन्द्र बहादुर शाह, मालिका शिशु निकेतनका प्रीन्सिपल चेतराज देवकोटा, न्युलाइट एजुकेसन होमका अध्यक्ष युवराज शर्मा, लगायतले बोलेका थिए ।
प्रतियोगितामा निजि तथा आवासीय अन्तर्गतका २२ बिधालयको सहभागिता रहेको छ । यसभन्दा पहिले सामुदायिक अन्तर्गतका साविकको टीकापुर नगरपालिका र साविकको नारायणपुर र धनसिंहपुर गाविस अन्तर्गतका बिधालयहरुलाई समेटेर प्रतियोगिता सम्पन्न भैसकेको छ । तिनै कलस्टरबाट फाइनल पुगेका खेलाडीहरुको प्रतिस्पर्धाबाट जिल्ला तहका लागि बिद्यार्थी छनोट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *