खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष विक

शेयेर गर्नुहोस


टीकापुर २२ फागुन /
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले बालबालिकालाई सकारात्मक बाटोमा लैजानको लागि खेलकुदका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
वडा नं. १ को आयोजना तथा टीकापुर सितोरियो कराँते एकाडेमीको संयुक्त आयोजनामा सुरु भएको तेस्रो वडा नं. १ स्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष विकले यस्तो बताएका हुन । उनले पछिल्लो समय युवाहरु लागुऔषधमा फस्दै गएको प्रती चिन्ता व्यक्त गर्दै त्यसलाई न्यूनीकरण गर्नका लागि पनि खेलकुदका गतिविधि सञ्चालन हुन आवश्यक रहेको बताएका छन् । “हामीसँग सम्भावना छन् । खेलकुद मैदानको अभाव छैन । हाम्रा घर अगाडिका ओपन स्पेसहरुलाई खेलकुद मैदानको रुपमा विकास गर्न सके पुग्छ ।” वडा अध्यक्ष विकले भन्नुभयो, “त्यसका लागि वडाको बजेटबाट हुन सक्ने सहयोग र समन्वय सधै रहने छ ।”
कार्यक्रममा वडा नं. १ का निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्यले कराँते खेल जीवन सुरक्षाका लागि पनि महत्त्वपूर्ण खेल भएको बताउँदै खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार जिम्मेवार हुन नसकेको बताएका छन् । “हिजो पनि वडास्तरबाट सिमित स्रोतसाधनका बाबजुद पनि खेलकुदका लागि बजेट विनियोजन गर्दै आएका थियौं । आज पनि निरन्तरता हुँदा खुशी लागेको छ ।” आचार्यले भने, “कम्तीमा एउटासम्म भएपनि टीकापुरमा इनडोर ग्यामका लागि कभर्डहल हुन जरुरी छ ।”
सामुदायिक सेवा केन्द्र टीकापुरका अध्यक्ष हरि तिमिल्सिनाले सोच सकारात्मक भए विकासका लागि पर्खनु पर्ने स्थिति नआउने बताएका छन् । उनले राष्ट्रलाई चिनाउनको लागि खेलकुद क्षेत्र निकै महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै त्यसमा राज्यले लगानी नै गर्न नसकेको बताएका छन् । टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले खेलकुदमा गरेको लगानी खेर नजाने बताएका छन् ।
उनले स्थानीय सरकारले खेलकुदमा समुदायको लागि नभई आफ्ना लागि काम गर्दै आएको बताएका छन् । “आफ्ना लागि लाखौं खर्चेर ब्याडमिन्टन कोर्ड बन्छन् । समुदायको साझा हितका लागि एउटा कभर्डहल बनाउने हैसियत स्थानीय सरकारले राख्दैन ।” अध्यक्ष भण्डारीले भने, “योजना बनाउँदा एकल बनाउने कि साझा बनाउने भन्न्र सम्मको हेक्का स्थानीय सरकारले राख्न जरुरी छ ।”
टीकापुर सितोरियो कराँते एकाडेमीका अध्यक्ष बबरजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव गिता रावल कुँवरले गरेकी थिइन भने स्वागत कल्पेश कुँवरले गरेका थिए । प्रतियोगितामा ८० जनाले सहभागिता जनाएका थिए ।

ताजा खबर

लाखौंको गरगहना सहित नगद चोरी

स्थापना दिवसको अवसरमा फलफुल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *