शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०३ साउन /
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईको गत आर्थिक वर्षको वित्तीय प्रगति ५० प्रतिशत भन्दा कम देखिएको छ । कृषि कार्यक्रम कार्यान्वयन इकाईले विनियोजन बजेटको ४७ दशमलव ७९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।
गत वर्ष आयोजनाको लागि चालू तथा पुजीगत गरी १४ करोड ८६ लाख बजेट विनियोजन गरिएको थियो । चालू तर्फ १४ करोड ८४ लाख बजेट विनियोजन गरिएकोमा ७ करोड ८२ हजार ९ सय १० रुपैयाँ अर्थात ४७ दशमलव ७२ प्रतिशत खर्च भएको कार्यान्वयन इकाईकी सुचना अधिकारी आकृति ठाकुरले जानकारी दिनुभएको छ । पुजीगत तर्फ दुई लाख बजेट विनियोजन भएकोमा ९९ दशमलव ४४ प्रतिशत प्रगति भएको उहाँले बताउनुभयो ।
“कार्यान्वयन इकाईमा ठूलो बजेट शीत भण्डार निर्माणका लागि रहेको थियो । उक्त आयोजनाको काम सम्पन्न नहुँदा वित्तीय प्रगति कम देखियो ।” सुचना अधिकारी ठाकुरले भन्नुभयो, “अन्य अधिकांश कार्यक्रम सम्पन्न हुँदा पनि आधा रकम शीत भण्डारको फिर्ता हुँदा खर्च प्रगति कम भयो ।” गत वर्ष शीत भण्डार निर्माणका लागि ६ करोड ६० लाख बजेट कार्यान्वयन इकाईले विनियोजन गरेको थियो । शीत भण्डारको काम सुरु भए पनि भौतिक प्रगतिको आधारमा ७५ लाख मात्रै भुक्तानी भएको देखिएको छ ।
आयोजनाको मुख्य कार्यक्रम अन्तर्गत शीत भण्डार प्राथमिकतामा पर्दै आएको छ । शीत भण्डारको काम गत वर्षदेखि सुरु भए पनि प्राविधिक समस्याका कारण निर्माणको कामले गति लिन नसकेको आयोजना प्रमुख भरत कडेलले बताउनुभयो । “जगको काम सम्पन्न भएपछि विश्व बैंकको प्राविधिक टोलीले अनुगमन गरेको आयोजनामा केही त्रुटि भएपछि त्यसभन्दा अगाडिको काम हुन सकेन ।” उहाँले भन्नुभयो, “अहिले त्यो त्रुटि समाधान भएको छ । अब शीत भण्डारको काम निरन्तर हुन्छ ।” पाँच तलाको निर्माण हुन लागेको शीत भण्डारको भवन प्राविधिक समस्या देखिएपछि चार तलाको बन्ने भएको छ ।शीत भण्डार निर्माणका लागि ७ करोड ६ लाखमा सम्झौता भएको छ ।
कार्यक्रम कार्यान्वयन इकाईले चालू आर्थिक वर्षका लागि आयोजनाले १३ करोड ६६ लाख बजेट पाएको छ । जसमध्ये पाँच करोड २५ लाख शीत भण्डारमा खर्च हुने आयोजना प्रमुख कडेलले बताउनुभयो । चालू आर्थिक वर्षका लागि कृषि उत्पादन विविधीकरण, खाद्यान्न बाली, मुक्तकमैया, दलित कृषि विशेष कार्यक्रम, आलु क्षेत्र विस्तार कार्यक्रम, बेमौसमी तरकारी बाली क्षेत्र विस्तार, तरकारी बेर्ना उत्पादनमा सहयोग, पशु उत्पादन प्रविधि प्रदर्शन, पशु आहारा व्यवस्थापन तथा नश्ल सुधार सहित रोग व्यवस्थापन कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले।जानकारी दिनुभयो ।
गौरवको आयोजना सँगै आर्थिक वर्ष २०६९/०७० बाट सञ्चालनमा आएको आयोजनाको पहिलो चरण २०७४/०७५ मा सम्पन्न भएर त्यसपछि दोस्रो चरणमा सञ्चालन हुँदै आएको छ । आयोजना कार्यान्वयन भएका टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको केही क्षेत्रका किसानहरूका लागि वरदान सावित भएको छ । चालू आर्थिक वर्ष कृषि कार्यक्रम कार्यान्वयन इकाईको अन्तिम वर्षको रुपमा रहेको छ । “चालू आर्थिक वर्ष सकिएसँगै दोस्रो चरणमा सुरु भएको कार्यक्रम सम्पन्न हुन्छ ।” आयोजना प्रमुख कडेलले भन्नुभयो, “त्यसपछि तेस्रो चरण सञ्चालन हुने वा त्यसैलाई निरन्तरता दिने कि के गर्ने भन्ने कुनै जानकारी आएको छैन ।”