शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १३ मंसिर /
टीकापुरमा निर्माण सम्पन्न भएर व्यावसायिक प्रयोजनका लागि प्रयास हुँदै आएको घण्टा घरको अस्तित्व संकटमा पर्दै गएको छ ।
टीकापुरको दृश्य अवलोकन सहित पुस्तकालय र रेष्टुरेन्ट सञ्चालन गर्न सकिने अवधारणामा निर्माण भएको घण्टा घर नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि पटकपटक सुचना आव्हान गर्दा पनि सञ्चालनको लागि कसैले इच्छा जाहेर नगर्दा घण्टा घरको अस्तित्व संकटमा पर्दै गएको हो । नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि हालसम्म पाँचपटक सुचना आव्हान गर्दा पनि घण्टा घर कसैको मजरमा पर्न सकेको छैन । त्यो अवधिमा घण्टा घर भाडा लिएर सञ्चालन गर्ने कुनै व्यक्ति र फार्म सम्पर्कमा नआएपछि अहिले त्यसको अस्तित्व नै सकिने स्थिति सिर्जना भएको छ ।
त्यहाँ जडान भएका अधिकांश सिसामा प्वाल परिसकेका छन् । अज्ञात व्यक्ति वा समुहको ढुङ्गा प्रहारले लाखौंका सिसा चक्नाचुर भएर फुटेका छन् । फुटेका सिसाको प्वालबाट भित्र पसेका चराले त्यस भित्र फोहोर गर्ने काम गरेका छन् । जुन प्रयोजनका लागि निर्माण गरिएको थियो त्यसको कुनै एक प्रतिशत पनि सदुपयोग हुन नसकेको स्थानीय पहल बहादुर साउँद बताउँछन् । “जहाँ आवश्यक थियो त्यहाँ सरकारको ध्यान पुग्दैन । यत्रो करोडौं खर्च गरेर के काम लाग्यो त ?” उनले प्रश्न गरे, “योजना नबनाएर भएका विकासका कामको हालत यस्तै हुने हो र हुन्छ । जनप्रतिनिधिले पनि मभन्दा जान्ने कोहि छैन सोच्छन ।”
त्यतिमात्र होइन घण्टा घरका घडीको सुई चल्न छोडेको पनि वर्ष भयो । न घडीले समय दिन सकेको छ, न घण्टा घर चडेर टीकापुर हेर्ने टीकापुरबासीको सपना पूरा नै । “अहिले सिसाबाट भित्र पसेर चराहरुले राम्रो बासस्थान पाएका छन् । आम नागरिकहरूको हिड्ने सडक ग्राभेल गर्न नसक्ने नगरपालिकाले चराका लागि राम्रै बासस्थान बनाइदिएको छ ।” राजकुमार विश्वकर्माले भने, “कम्तिमा नगरपालिकाले एकजना कर्मचारी राखेर घण्टा घर चड्ने वातावरण सिर्जना मात्रै गरिदिएको भए पनि त्यसको संरक्षण र केही आम्दानी हुन सक्थ्यो ।”
आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले घण्टा घरको तीनपटक ठेक्का आव्हान गरेको थियो । नगरपालिकाले दिएको जानकारी अनुसार २०८० साउन २४ गते पहिलोपटक ठेक्का आव्हान भएको थियो । त्यसपछि भदौ ११ गते आह्वान भएको ठेक्कामा पनि कसैले चासो दिएन । त्यसैगरी नगरपालिकाले २०८१ जेठ ८ गते पुनः घण्टा घरको ठेक्का आह्वान गरेको थियो । त्यसमा पनि कसैले ध्यान दिन सकेन । त्यतिले पनि नगरपालिकाको प्रयास पूरा नभएपछि चालू आर्थिक वर्षमा घण्टा घरको दुईपटक ठेक्का आव्हान भएको छ । यसवर्ष साउन १७ गते पहिलोपटक ठेक्का आह्वान गरेको नगरपालिकाले दोस्रोपटक भने भदौ २४ गते अर्को सुचना आह्वान गरेको नगरपालिकाका राजश्व उपशाखा प्रमुख नन्द केसीले जानकारी दिएका छन् ।
नगरपालिकाले आव्हान गरेको ठेक्कामा घण्टा घर मात्रै नभई अन्य स्रोतको पनि ठेक्का लाग्न नसक्दा अहिले ठेक्का सम्झौता सम्बन्धि कानुन संशोधन गर्ने तयारीमा नगरपालिका लागेको छ । उनका अनुसार गएको असोज ४ गतेको कार्यपालिकाको बैठकले नगरपालिकाको ठेक्का सम्झौता सम्बन्धि कानुन संशोधन गर्ने निर्णय गरेको छ । “अहिलेको कानुनले तीनवर्षसम्मको लागि ठेक्का दिने कुरा निर्धारण गरेको थियो । त्यो समयावधि कम भएर ठेक्का नपरेको होकि भन्ने भएपछि कानुन संशोधन गर्न लागिएको हो ।” राजश्व उपशाखा प्रमुख केसीले भने, “तीन वर्षको समयावधि बढाएर घण्टा घर लगायतको ठेक्का खोल्ने तयारी गरिरहेका छौँ ।”