शेयेर गर्नुहोस
टीकापुर १६ साउन /
जानकी गाउँपालिकाले पछिल्लो चार वर्षमा वर्षमा आन्तरिक आम्दानी बढ्दै गएको तथ्यांकले देखाए पनि गत आर्थिक वर्षमा मात्रै गाउँपालिकाले राजश्वको लक्ष्य पूरा गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९ /०८०देखि लक्ष्य अनुसारको आन्तरिक राजश्व संकलन गर्न नसके पनि गत आर्थिक वर्ष २०८२/०८३ मा भने लक्ष्य अनुसारको राजश्व संकलन गरेको हो । आर्थिक वर्ष २०७९/०८० मा एक करोड ८७ लाख ७२ हजार ९ सय ३७ रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यसवर्ष तीन करोड २९ लाख २० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको ५७ प्रतिशत मात्रै संकलन भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा तीन करोड ७९ लाख ३७ हजार राजश्वको लक्ष्य लिएकोमा दुई करोड ७९ लाख ३७ हजार चार सय ८९ रुपैयाँ राजश्व संकलन भएको गाउँपालिकाका राजश्व शाखा प्रमुख गंगाराम चौधरीले जानकारी दिएका छन् । उनका अनुसार त्यसवर्ष लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत राजश्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा २०८०/०८१ को भन्दा बढी राजश्व संकलन गरिएको चौधरीले जानकारी दिए । आर्थिक वर्ष २०८१/०८२ मा तीन करोड एक लाख २५ हजारको लक्ष्य लिएको गाउँपालिकाले दुई करोड ९४ लाख ९३ हजार पाँच सय ३४ रुपैयाँ अर्थात लक्ष्यको ९७ दशमलव ९० प्रतिशत राजश्व संकलन गरेको छ । बर्सेनि बढ्दै गएको राजश्वको लक्ष्य गत आर्थिक वर्ष २०८२/०८३ मा भने लक्ष्य भन्दा माथी पुगेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०८२/०८३ मा तीन करोड १६ लाख ३१ हजार दुई सय ५० रुपैयाँ लक्ष्य लिएकोमा तीन करोड ८० लाख ३२ हजार चार सय ८९ रुपैयाँ संकलन भएको शाखा प्रमुख चौधरीले बताएका छन् । जुन एक सय २० प्रतिशत हुन आउँछ ।
गाउँपालिकाले एक करोड ७१ लाख ३३ हजार ६ सय रुपैयाँ राजश्व दहत्तर बहत्तर शुक्लबाट संकलन गरेको छ । त्यसैगरी भुमीकरबाट ३६ लाख २९ हजार ८ सय ६० रुपैयाँ राजश्व संकलन गरेको छ । बेरुजु अशुलबाट मात्रै गाउँपालिकामा पाँच लाख १३ हजार चार सय ८७ रुपैयाँ संकलन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले कर्मचारीको मिहिनेत र नागरिकहरूमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुँदा गाउँपालिकाको स्रोत बढेको बताएका छन् ।
उनले पछिल्लो चार वर्षको आन्तरिक स्रोतको ग्राफ हेर्दा बर्सेनि आन्तरिक राजश्व संकलन बढ्दै गए पनि गाउँपालिकाको प्रमुख स्रोत नदीजन्य स्रोत भएको उल्लेख गरे । “हामीले नदीजन्य पदार्थको उत्खननका लागि समयमै प्रक्रिया पूरा गरेर आवश्यक क्षेत्रबाट संकलन गर्दा लक्ष्य भेटाउन सहज भयो ।” उनले भने, “उता वडा नं. ८ र ९ बाट पहिलेका वर्षभन्दा गत वर्ष स्थायी कर्मचारी पठाएपछि राजश्व सुधार हुँदा पनि राजश्व बढेको छ ।”










