जगननथ्या फुटबलको उपाधी स्क्यर्डलाई

शेयेर गर्नुहोस


टीकापुर १६ असोज /
टीकापुर नगरपालिकाको वडा नं. ६ स्थित वेलुवा खेल मैदानमा असोज ७ गतेदेखि आयोजना भएको प्रथम जगननथ्या खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी विजय स्क्यर्ड टीकापुरले हासिल गरेको छ ।
जगननथ्या ग्रुपको आयोजनामा भएको प्रथम खुला पुरुष फुटबल प्रतियोगितालो फाइनल खेलमा मातृभुमी युवा क्लब लम्कीलाई पेनाल्टी सुटआउटमा एक गोलका विरुद्ध चार गोलले जित हासिल गर्दै स्क्यर्डले उपाधी चुम्न सफल भएको हो । खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । प्रतियोगिताको उपाधी हासिल गर्ने विजय स्क्यर्डले एक लाख ११ हजार एक सय एक रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता मातृभुमी युवा क्लब लम्कीले ५१ हजार एक सय एक रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिता निकै सफलतापुर्बक सम्पन्न भएको आयोजकले जनाएको छ । “पहिलोपटक ग्रुपले प्रतियोगिता आयोजना गर्दा सुरुमा जिकै त्रास अनि डर थियो । तर कार्यक्रमको दौरानमा हामीले पाएको माया अनि सहानुभूतिले निकै उर्जा थप्ने काम गरेको छ ।” ग्रुपका अध्यक्ष ओमप्रकाश चौधरीले भने,”आगामी दिनमा यसलाई निरन्तरता दिँदै अझै यसभन्दा ठूलो धनराशिको प्रतियोगिता आयोजना गर्ने हौसला प्राप्त भएको छ ।” उनले आर्थिक रुपमा पनि प्रतियोगिता सफल भएको बताउँदै कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले खेलकुदका गतिविधि टीकापुरमा हुँदै गएको बताउँदै त्यसमा नगरपालिकाले भ्याएको सहयोग गर्दै आएको बताएका छन् । उनले खेलकुदले युवाहरूलाई सहि मार्गमा डोर्‍याउन ठूलो मद्दत गरेको बताएका छन् । कार्यक्रममा समाजसेवी फकिरसिंह कडायतले खेल क्षेत्रको विकासले युवाहरूमा परिवर्तन ल्याउन सकिने बताएका छन् । उनले समुदाय स्तरमा खेलकुदका कार्यक्रम आयोजना भइरहनु पर्ने बताए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । ग्रुपका सदस्य सल्लाहकार लिखराम चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन भरत भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *