शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर २६ मंसिर /
कैलालीको टीकापुर स्थित जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रले किसानहरुलाई मेन्था खेतीमा आकर्षित गर्दै आएको छ ।
मेन्था लगायतका जडिबुटीको बेर्ना सस्तोमा उपलब्ध गराउनुका साथै नि:शुल्क प्रशोधन सहित उत्पादन भएको तेल खरिद गरेर किसानलाई मेन्था खेतीमा आकर्षित गर्दै आएको हो । उत्पादन भएको मेन्था नि:शुल्क प्रशोधन गर्दै खरिदको काम पनि केन्द्रले गर्दै आएको छ । बर्सेनि मेन्था खेती गर्ने किसानको लगत संकलन गरेर खेती विस्तार गर्ने काम केन्द्रले गर्दै आएको छ ।
गत वर्ष प्रशोधन केन्द्रले तीन हजार दुई सय केजि तेल खरिद गरेको थियो । यसवर्ष पाँच हजार केजि तेल खरिद गर्ने लक्ष्य लिइएको छ । मेन्थाको तेल प्रती केजि एक हजार पाँच सय रुपैयाँमा खरिद गर्दै आएको कार्यालय प्रमुख कमलराज बेलबासेले जानकारी दिनुभयो । प्रशोधन केन्द्रको नाममा टीकापुरमा तीन हेक्टर जमिन छ । त्यो जमिनको केही भागमा मेन्था र क्यामोमाइलको बीउ उत्पादन हुन्छ । उत्पादन भएको बीउ किसानलाई प्रती केजि १२ रुपैयाँमा बिक्रि गरिँदै आएको छ । क्यामोमाइलको बीउ नि:शुल्क वितरण हुँदै आएको छ ।
“एक केजि बीउ उत्पादनमा हामीले झन्डै ८६ रुपैयाँ खर्च गर्दै आएका छौँ । त्यहीँ बीउ किसानलाई १२ रुपैयाँ प्रती केजि वितरण गर्छौं ।” उहाँ भन्नुहुन्छ, “एक बिघा क्षेत्रफलका लागि एक सय २० केजि सम्म बीउ चाहिन्छ ।” कार्यालय प्रमुख बेलबासेका अनुसार एक बिघा क्षेत्रफलमा न्युनतम एक सय केजि तेल उत्पादन गर्न सकिन्छ ।
झन क्यमोमाइलको तेलको मुल्य निकै महंगो छ । एक केजि क्यामोमाइल प्रशोधन केन्द्रले १९ हजारमा खरिद गर्दै आएको छ । यसको खेती माघ महिनामा गरिन्छ । किसानले तोरी खेती भित्र्याएर मेन्था खेती गर्न सकिन्छ भने जेठमा यसलाई भित्र्याउनुपर्छ । त्यसो गर्दा किसानले असारमा सहजै धान खेती पनि गर्न सकिने कार्यालय प्रमुख बेलबासेले बताउनुभयो ।
कार्यालय प्रमुख बेलबासेका अनुसार प्रशोधन केन्द्रके लिप्टिसको पातबाट समेत तेल उत्पादन गर्दै आएको छ ।तराईका जिल्लाहरुमा व्यावसायिक रुपमा गरिँदै आएको लिप्टिसका पातलाई प्रशोधन गरेर उत्पादन भएको तेल केन्द्रले प्रती केजि एक हजार एक सय ५० मा खरिद गर्दै आएको छ । गत वर्ष ६ सय केजि लिप्टिसको तेल प्रशोधन केन्द्रले उत्पादन गरेको थियो ।
केन्द्रले वार्षिक पाँच हजार भन्दा बढीलाई रोजगारी समेत दिँदै आएको छ । दैनिक ज्यालादारीमा केन्द्रमा अधिकांश महिलाहरूले काम गर्ने गर्छन् । मेन्थाको गोडमेल, दाउरा संकलन, सिँचाइ, बीउ निकाल्ने, तेल प्रशोधनका अन्य काममा केन्द्रले रोजगारी सिर्जना गर्दै आएको कार्यालय प्रमुख बेलबासे बताउनुहुँन्छ । “मैले झण्डै ११ वर्षदेखि यसैमा काम गर्दै आएकी छु ।” स्थानीय सम्झना पाण्डेले भन्नुभयो, “घरायसी कामकाज सकेर दिउसोको समयमा काम पाउँदा घर खर्चको जोहो गर्न अर्को विकल्प खोज्नुपरेको छैन ।”










