शेयेर गर्नुहोस
टीकापुर १९ माघ /
नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश उपसभापति तथा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका जनकराज चौधरीले जनताले पुनः एकपटक आफुलाई विश्वास गर्ने बताएका छन् ।
तत्कालीन मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका चौधरीले दुई दशकभन्दा लामो समयपछि जनताको माझमा आफ्ना लागि भोट माग्दै आएकोले पुनः एकपटक विश्वास गर्ने बताएका हुन । “मलाई यसभन्दा पहिले पनि एकपटक जनताले विश्वास गर्नुभएको छ । यसपटक पुनः मलाई त्यहीँ विश्वास गर्नेमा विश्वस्त छु ।” उनले भने, “जनताले गरेको विश्वासलाई आत्मसात गर्दै समग्र कैलाली क्षेत्र नं. १ को विकास र सम्भावनाका लागि कटिबद्ध भएर लाग्ने प्रतिज्ञा गर्छु ।”
चुनावी प्रचारप्रसारका क्रममा चौधरी पछिल्लो समयमा देश आर्थिक रुपमा धराशायी बन्दै गएको भन्दै देशको आर्थिक व्यवस्था सबल बनाउँदै जनतालाई आत्मनिर्भर बनाउनकै लागि आफ्नो उम्मेदवारी रहेको जिकिर गरे । वृहतर सोचका साथ जनताको आवश्यकताका आधारमा चुनावी एजेण्डालाई बोकेर हिडेको बताउँदै चौधरीले त्यसैअनुसार जनताको माझमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन् । “सबैको आवश्यकता एउटै छैन । कृषि, पर्यटन, भौतिक संरचनाको निर्माण लगायत जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नेमा म प्रतिबद्ध छु ।” उनले भने, “त्यहीँ आत्मविश्वासका साथ जनताको माझमा उभिएको छु ।”
देशका लागि लामो इतिहास बोकेको पार्टी नेपाली काँग्रेस प्रती जनताको विश्वास अझै कायम रहेको बताउँदै उनले त्यो विश्वासलाई काँग्रेसले कहिल्यै मर्न नदिने बताएका छन् । उनले जनताले पाएको दु:खको पहिचान गर्दै अग्रपंक्तिमा उभिएर जनताको सेवकको रुपमा काम गर्ने बताएका छन् । चौधरीले जनताको सेवा गर्नकै लागि लामो समयदेखि गर्दै आएको शिक्षण पेशालाई छोडेर जनताको माझमा आएको बताएका छन् ।
कैलाली क्षेत्र नं. १ बाट काँग्रेसबाट चौधरी सहित नेपाली कम्युनिस्ट पार्टीबाट रामलाल डगौरा थारु, नेकपा एमालेबाट द्वारिका प्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्र कुँवर लगायत १८ जनाले उम्मेदवारी दिएका छन् ।










