शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर ०८ जेठ /६
स्थानीय तहको दोस्रो निर्वाचन भएको एक वर्ष पूरा भएको छ । २०८९ बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय तहमा एक वर्ष आफ्नो कार्यकाल पूरा गरेका हुन । निर्वाचनको समयमा नागरिकहरूसँग बाडेका आश्वासन र जनताको जनभावनाअनुसार काम गर्ने योजनाका साथ नेतृत्वमा आएका जनप्रतिनिधिहरुले काम गर्न नसकेको स्थानीयको गुनासो छ । नागरिकहरु विश्वस्त हुने गरी जनप्रतिनिधिले काम गर्न नसकेको भन्दै हिजो र आजको नेतृत्वले गरेको कामलाई तुलना गर्दा खासै फरक नभएको गुनासो बढ्दै गएको छ ।
तर, स्थानीय तहको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरु आफ्नो कार्यकालको पहिलो वर्षमा थुप्रै काम गर्न सफल भएको बताउँदै आएका छन् । उहाँहरुले स्थानीय तहमा विकास र समृद्धिको जग बसालेको बताउँदै त्यसलाई पुर्ण गर्न समय लाग्ने बताउँछन् । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नागरिकहरूको जनभावनाअनुसार काम गर्न नसकिएको बताउनुभयो । उहाँले केही राम्रा कामहरूको सुरुवात भएको बताउँदै नागरिकहरुले तत्काल नतिजा खोज्दा त्यस्तो देखिएको बताउनुभएको हो ।
“सुरुवाती चरणमा छौँ । धेरै कुराको तालमेल नमिल्दा पनि महसुस हुने कामको नतिजा एक वर्षमा देखाउन सकिएको छैन ।” नगर प्रमुख थारु भन्नुहुन्छ, “स्थानीय तहसँग संघ र प्रदेशको तालमेल नमिल्दा पनि समस्या भएको छ । हामी वैशाखमा सबै काम सम्पन्न गर्ने योजनामा हुन्छौं । प्रदेश र संघका योजनाको प्रक्रिया वैशाखमा सुरु हुन्छ । अनि कसरी फलदायी काम हुनसक्छ ?”
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भजनी नगरपालिकामा एक वर्षमा थुप्रै कामहरु भएको दाबी गर्नुभयो । जनताको चाहनाअनुसार आफुले निर्वाचनको समयमा बोलेका कुराहरूलाई पूरा गर्ने कार्यमा आफ्नो कार्यकाल सफलता तर्फ उन्मुख भएको बताएका नगर प्रमुख चौधरी बताउनुहुँन्छ ।
“नागरिकहरूका अपेक्षा धेरै हुनु, हाम्रा स्रोतसाधनको सिमितताले पक्कै पनि नागरिकहरूको अपेक्षाअनुसार काम नभएको हुनसक्छ ।” नगर प्रमुख चौधरी भन्नुहुन्छ, “तर हाम्रो तर्फबाट हामीले थुप्रै कामहरूको सुरुवात गरेका छौं । त्यसको परिणाम अहिले नै देखिने स्थिति छैन । बाँकी चार वर्षमा नागरिकहरूलाई महसुस हुनेगरी कामको थालनी भएको छ ।” उहाँले भजनी बाढी प्रभावित क्षेत्र भएको भन्दै विपत व्यवस्थापन, शिक्षाका सबैको सहभागिता र स्वस्थ्य क्षेत्रमा सबैको पहुँचका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभयो ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अहिले नै कामको मुल्यांकन गरिहाल्नुपर्ने स्थिति आइनसकेको बताउनुभएको छ । उहाँले पहिलो वर्षमा नागरिकहरूका माझमा बोलेका कुराहरूको जग बसाल्न सफल भएको बताउनुभयो । “नागरिकहरूका माझमा गरेको प्रतिबद्धताअनुसार हाम्रो गन्तव्यको यात्रा सुरु भएको छ । सबै कामको नतिजा अहिले नै खोजे त्यो प्राप्त नहुन सक्छ ।” अध्यक्ष चौधरी भन्नुहुन्छ, “सुरुवात भएको छ । चार वर्षमा नतिजा आउँछ । ” उहाँले कुनै पनि काम गर्न सहज नहुने भन्दै चुनौतीलाई सामना गर्दै आफ्ना कार्यहरूलाई सफल बनाउनका लागि गाउँपालिका क्रियाशिल भएर लागेको बताउनुभयो ।
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले अहिले नै नतिजा खोज्ने समय नआएको भन्दै एक वर्षको कार्य उपलब्धिले जनताको आत्मविश्वास बढेको बताउनुभएको छ । उहाँले पनि कामको सुरुवात गरिएको भन्दै सबै कामको नतिजा आइनसकेको बताउनुभयो । । “नागरिकहरू सन्तुष्ट हुनेगरी हाम्रा कार्यहरू अगाडि बढेका छन् । नागरिकहरूलाई त्यसको अनुभुती हुने समय भने भैसकेको छैन ।” अध्यक्ष चौधरीले भन्नुभयो, “अनुभुती हुने समय छ । हाम्रो कार्यकालमा हामीले बोलेका मुलभुत कुराहरूलाई पूरा गर्छौं ।” कर्मचारीहरुको र जनप्रतिनिधि बिचको सम्बन्ध अझै नजिक हुन नसकेको बताउँदै अध्यक्ष चौधरीले त्यसले कामलाई पुर्णता दिन चुनौती पनि रहेको बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले बजेटको संकुचनले सोचेको उपलब्धि हासिल गर्न नसकिएको बताउनुभएको छ । लम्कीचुहा नगरपालिकामा एक वर्षमा बादी वस्तीमा लालपुर्जा वितरण , शिविर वस्तीमा आठवटा घर निर्माण लगायतका केही उल्लेख काम हुन सकेको भएपनि नेतृत्वमा आएको दिनदेखि प्रयास गरेको ट्रमा सेन्टर स्थापनाको कामलाई जग्गाको अभावका कारण पूरा गर्न नसकिएको नगर प्रमुख शाही बताउनुहुँन्छ ।
“काम गर्नुपर्ने धेरै छ । नागरिकहरुको अपेक्षा पनि धेरै छ । त्यो अपेक्षा पूरा गर्न समय पक्कै लाग्छ ।” नगर प्रमुख शाहीले भन्नुभयो, “अहिले संघीय सरकारले कटौती गरेको बजेटले पनि काममा समस्या ल्याएको छ । अर्को समस्या जनप्रतिनिधि र कर्मचारीहरु बिचको समन्वयमा देखिएको उल्झन पनि छ ।”
उहाँले जनप्रतिनिधिले बनाएको नितिलाई कर्मचारीहरुले सहज रुपमा कार्यान्वयन नगर्दा थुप्रै कामहरू नतिजा बिहिन भएको बताउनुभएको छ । उहाँको गत आर्थिक वर्ष कर्मचारीहरुले बजेट कार्यान्वयनमा गरेको आनाकानीले नगरपालिकाको साढे १३ करोड बजेत फ्रीज गएको गुनासो छ ।