जुम्लामा उत्पादन कैलालीको व्यापार

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २७ भदौ /
कालिकोट घर भएकी हंशिला बमलाई यतिबेला स्याउको व्यापारमा भ्याइनभ्याई छ । जुम्ला माइतीघर भएकी हंशिला जुम्लामा उत्पादन भएको स्याउ कैलालीम ल्याएर व्यापार गर्दै आउनुभएको छ । १३ वर्षदेखि सिजन अनुसारको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यहीँ व्यापारबाट उहाँले कैलालीमा घर र जग्गा जोड्नुभएको छ । घरको सबै खर्च धान्ने माध्यम त्यहीँ व्यापार बनेको छ ।
“श्रीमान गुमाएपछिको अभाव र समाज भित्रको असहज परिस्थितिको मैले राम्रोसँग सामना गरेकी छु । छोराछोरीको पढाई लेखाईका लागि मैले केही गर्नुपर्ने थियो ।” उहाँ भन्नुहुन्छ, “मैले त्यहीँ व्यापार सुरु गरे । जुन जुम्लामा उत्पादन हुन्छ, तराईमा सहजै बजार पाउँछ । यहीँ व्यापारले मेरो सबैथोक पूरा गर्यो ।” यो सिजनमा मात्रै उहाँले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली पुर्याइसक्नुभएको छ । कैलाली मात्रै नभई मागको आधारमा देशमा विभिन्न जिल्लामा उहाँले स्याउ लगायत जुम्लाको उत्पादन पुर्याउने काम गर्दै आउनुभएको छ ।
जुम्लामा उहाँका माइतीघरका आफन्तले स्याउ उत्पादन गर्दै आउनुभएको छ । आफन्तले उत्पादन गरेको स्याउ प्रती केजी ७० रुपैयाँमा उहाँले खरिद गरेर तराई पुर्याएपछि प्रती केजी एक सय देखि एक सय २० रुपैयाँमा बिक्रि गर्ने गरेको उहाँ बताउनुहुँन्छ । “यातायातको सहज पहुँच भएको भए सस्तोमा जुम्लाको स्याउ कैलाली पुग्थ्यो । एउटा ट्रक कैलाली पुर्याउँदा लाख भन्दा बढी खर्च आउँछ ।” हंशिला भन्नुहुन्छ, “आज पनि जुम्लामा उत्पादन भएको आधा स्याउ पनि बिक्री हुनसकेको छैन । किसानले स्याउको मूल्य पाएका छैन ।”
हंशिलाले स्याउसँगै हिउँदको समयमा सीमी, मकै, आलु लगायतका वस्तु तराई पुर्याउने काम गर्नुहुन्छ । जुम्लाबाट एउटा ट्रक सामान कैलाली पुर्याउन हंशिलालाई एक लाख १० हजार खर्च आउँछ । “किसानले उत्पादन गरेको वस्तुको मूल्य भन्दा गाडीको ढुवानी महंगो छ ।” हंशिलाले भन्नुभयो, “सहजरूपमा सानो गाडी पनि त्यहाँसम्म पुग्ने भए आफ्नै गाडी किनेर सामानको आयात गर्न पनि सकिन्थ्यो ।”
हंशिलाले त्यहीँ व्यापारमा आफ्नो भाइ र बहिनीलाई लगाउनु भएको छ । उहाँहरु सामानको माग भएअनुसार विभिन्न जिल्लामा पुग्नुहुन्छ । हंशिला मात्रै नभई कयौंले स्याउको व्यापारबाट मनग्ये आम्दानी गर्दै आएका छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएको स्याउ तराईका जिल्लामा पुर्याउने काम कालिकोटका रामु न्यौपानेले पनि गर्दै आउनुभएको छ । चार महिनादेखि स्याउको व्यापारमा लाग्नुभएका उहाँ हप्तामै जुम्ला पुग्ने बताउनुहुँन्छ । “चार महिनादेखि घर गएको छैन । जुम्लाबाट स्याउ ढुवानीमा दैनिकी बित्दै गएको छ ।” उहाँ भन्नुहुन्छ, ” मसँग आफ्नै गाडी पनि छ । आफै गाडी चलाउँछु । कहिले आफ्नो लागि त कहिले अरुको सामानको लागि जुम्ला पुग्छु ।”
उहाँले सडक संजाल नभएकै कारण आफुले उत्पादन गरेको स्याउ बारीमै कुहिने गरेको गुनासो पनि गर्नुभयो । कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुग्न सकेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोप्नु भएको छ । सडक संजाल नहुँदा आफ्नो बारीको स्याउ कुहाएर अरुको स्याउ बजारमा लिएर जानुपर्ने बाध्यता रामुलाई छ । “मेरो गाउँमा मात्रै सयौं क्विन्टल स्याउ उत्पादन भएको छ । त्यसको निर्यातका लागि यातायातको पहुँच छैन । मान्छेबाट बोकाउँदा बजारसँग प्रतिस्पर्धा गर्न सकिँदैन ।” उहाँ भन्नुहुन्छ, “कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्त्व राज्यलाई थाहा छैन । पेटका लागि काम त जसको पनि जता पनि गर्नै पर्यो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *