शेयेर गर्नुहोस
टीकापुर १९ जेठ /
टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले लैङ्गिक समान्ता सहित समाजको आवश्यकताको आधारमा वडाले काम गर्दै आएको बताएका छन् ।
शुक्रबार वडा कार्यालयको आयोजना तथा सिर्जनशील युवा समाज नेपालको समन्वयमा सञ्चालन भैरहेको बालविवाह, बालश्रम शोषण, लैङ्गिक हिंसा, लागुपदार्थ दुर्ब्यसनी, मनोसामाजिक परामर्श, अपाङ्गता, जेष्ठ नागरिक, एकल महिला, छाउपडी प्रथा र किसानहरूका समस्या विषयक समुदाय र बिधालयमा साहित्य मार्फत सामाजिक रुपान्तरण तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गतको जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको सम्मान तथा पुरस्कार वितरण सहित समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले एउटै कार्यक्रम शिर्षकबाट अधिकांशको सहभागिता रहने गरी लैङ्गिक समान्ता सहितको कार्यक्रम सञ्चालन गरिएको बताएका हुन ।
उनले सात महिना स्थानीयसँगै रहेर सबैको समस्या बुझ्दै समाधानका प्रयासहरु गरेको बताए । “हाम्रा कार्यक्रम कसरी प्रभावकारी हुनसक्छ भनेर फरक तरिकाबाट काम गर्दै आएका छौँ ।” वडा अध्यक्ष चौधरीले भने, “अर्को वर्ष यसभन्दा फरक केही गर्न सकिन्छ कि भनेर सरोकारवालाहरुसँग सुझाव र सल्लाह लिने काम अहिले हुँदै छ ।” स्थानीय क्षेत्रको स्रोतलाई व्यवस्थापन गर्दै आयमुलक कार्य सञ्चालनका लागि सामुदायिक वनहरुसँग दीर्घकालीन योजनाका साथ काम गर्ने रणनीति रहेको बताउँदै वडा अध्यक्ष चौधरीले स्थानीयलाई आत्मनिर्भर बनाउने बाटोमा अगाडि बढेको बताएका छन् । समय व्यवस्थापनलाई विशेष ध्यान दिँदै वडाका गतिविधि सञ्चालन गर्ने कुरामा वडा जिम्मेवार रहेको उनको भनाइ छ ।
“नगरपालिकाले २०८३ सालसम्म बालविवाह मुक्त पालिका बनाउने नीति लिएको छ । त्यसैअनुसार हामीले वडामा यसवर्षबाटै अभियानको रुपमा काम थालनी गर्यौँ । त्यसमा पनि प्रत्यक्ष बालविवाहसँग जोडिएका युवाहरुलाई राखेर कार्यक्रम सञ्चालन गरेका छौँ ।” वडा अध्यक्ष चौधरी भन्छन्, “त्यसैगरी छाउपडी प्रथा उन्मुलन, एकल महिलाको अधिकार स्थापित, लागुऔषधका कारण हुने सामाजिक अपराध न्यूनीकरण, बाल श्रमशोषणले भविष्यमा पार्ने असर, जेष्ठ नागरिकहरुलाई र अपाङ्गता भएका व्याक्तीहरुलाई सम्मान सहित किसानका समस्या समाधानको खोजी गर्ने काम वडाले गरेको छ ।”
जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्याक्तीहरुको सम्मान सहितको पुरस्कार वितरण कार्यक्रममा पुर्व शिक्षक बलबहादुर रावलले जेष्ठ नागरिकहरूलाई वडाले अभिभावकको रुपमा बर्सेनि सम्झने गरेको बताएका छन् । “गतवर्ष केही जेष्ठ नागरिकहरुलाई वडाले तिर्थयात्रामा लग्यो भने यसवर्ष सम्मान पत्र सहित छाता दिएर सम्मान गर्यो ।” उनले भने, “सबै जेष्ठ नागरिकहरुलाई समेट्ने गरी वार्षिक कार्यक्रम सञ्चालन गर्दा पाँच वर्षमा सबै वडाबाट सम्मानित हुने आशा छ ।”
विभिन्न क्षमता भएका व्याक्तीहरुबाट बोल्दै जितबहादुर चौधरीले अन्य वडाले सञ्चालन गरेका कार्यक्रम भन्दा टीकापुर २ नं. वडा कार्यालयले सञ्चालन गर्ने कार्यक्रमको फरक भनेको अनुभुती आफुले गरेको बताएका छन् । सात महिनासम्म समुदायका नागरिकहरूसँग रहेर सबै क्षेत्र, वर्ग, समुदायलाई समेट्दै कार्यक्रम गर्दा त्यसको प्रभावकारिता झन बढ्ने भन्दै त्यस्ता कार्यक्रमले प्रत्यक्ष नागरिकहरुसँग जनप्रतिनिधिको सम्बन्ध स्थापित गर्ने काम गरेको उनले बताएका छन् । चौधरीले जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कार्यक्रम सञ्चालन हुन आवश्यक रहेको बताउँदै राम्रा कुराको सिकाइ अन्य वडाले पनि गर्नुपर्ने बताएका छन् ।
६ चरणमा सञ्चालन भएको कार्यक्रम अनुसार पहिलो चरणको गएको मंसिर २९ गते “लागुऔषध दुर्व्यसनीका कारण परेको सामाजिक असर” शिर्षकमा कविता प्रतियोगिता आयोजना गरिएको थियो । जसमा राहुल विश्वकर्मा प्रथम, बन्दना देवकोटा दोस्रो र पुष्पा ठकुल्ला तृतीय भएका थिए । त्यसैगरी दोस्रो चरणको कार्यक्रम पुस २३ गते आयोजना गरिएको थियो । छाउपडी प्रथा र एकल महिला माथी हुन हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक वडा नं. २ भित्रको तीन स्थानमा प्रदर्शन गरिएको थियो ।
तेस्रो चरण अन्तर्गत फागुन १८ गते “बालविवाह र लौङ्गिक हिंसा” सम्बन्धि नगरपालिकाका माद्यामिक बिधालय स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । जसमा खड्ग स्मृति माद्यामिक बिधालयकी कञ्चन शाही प्रथम, आरएमई स्कुलकी सुप्रीया जोशी दोस्रो, सगुन बिद्या निकेतनका विनोद ढुंगाना तेस्रो र जनजागृती माद्यामिक बिधालयका भरत सार्की शान्त्वना भएका थिए । साथै चौथो चरणको कार्यक्रम पनि सोही दिननै भएको थियो । जसमा “बालश्रम शोषणले पार्ने सामाजिक असर” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा वीरेन्द्र बिद्या मन्दिर माद्यामिक बिधालयकी लक्ष्मी रेग्मी प्रथम, कर्णाली माद्यामिक बिधालयकी बबिता खत्री दोस्रो, आरएमई स्कुलकी आरती उपाध्याय तेस्रो र सगुन विद्या निकेतनका प्रदिप रिमाल शान्त्वना भएका थिए ।
पाचौं चरणको कार्यक्रम वैशाख ११ गते किसानका समस्या समाधानको प्रयास सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।