शेयेर गर्नुहोस
टीकापुर १९ साउन/
टीकापुर दौलतपुरहुँदै बर्दिया राजापुर जोड्ने झुलुङ्गे पुल पुनः सञ्चालनमा आएको छ ।
एक महिना अगाडि मात्रै सञ्चालनमा आएको पुलको बर्दिया साइडको पिल्लरमा क्र्याक आएपछि एक हप्ताको लागि बन्द गरिएको पुल सोमबारदेखि पुनः सञ्चालनमा आएको हो । थानी निर्माण सेवाले समयावधि भन्दा एक वर्ष अगाडि निर्माण सम्पन्न गरेको झुलुङ्गे पुल उद्घाटन नहुँदै पिल्लरमा क्र्याक आएको थियो । समस्या आएको भागको मर्मतसम्भारका लागि भन्दै निर्माण कम्पनीले एक हप्ताको लागि पुलबाट हुने आवागमन पुर्ण रुपमा रोकेको थियो ।
पछिल्लो समय पुलको अवलोकन गर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त पुल मानिसको भार थेग्न नसकेर चर्केको हुनसक्ने अनुमान गरिएको छ । त्यसैका कारण पुलको पिल्लरलाई भार परेको निर्माण कम्पनीको दाबी छ । “पुलको क्षमता भन्दा निकै नै बढी मानिसहरूको भिडभाड हुँदा पनि समस्या आएको हो ।” थानी निर्माण सेवाका प्रबन्धक विक्रम गिरीले भने, “अर्को पिल्लरको बेसको माटो कमसल भएका कारणले पनि त्यो समस्या देखिएको भन्न मिल्छ ।”
उनले पुलको डिजाइन स्टिमेटमै पिल्लरको बेस एक मिटर ५० सेन्टिमिटर रहेको बताउँदै त्यसलाई आफुहरुले दुई मिटर भन्दा गहिरो हात्तिपाइले बेस बनाएर पिल्लर निर्माण गरेको जानकारी दिएका छन् । उनका अनुसार यस्तो समस्या अन्य झुलुङ्गे पुलमा पनि आउने गरेको छ । “देखिएको समस्या समाधान गरेर पुल सुचारु गरेका छौँ । आशा छ अब समस्या पुनः दोहोरिने छैन ।” उनले भने, “त्यहीँ समस्या अब दोहोरिएको खण्डमा केन्द्रबाट नै प्राविधिक ल्याएर त्यसको दिगो समाधान हामी गर्छौं ।”
गिरीले पुलमा अस्वभाविक भिडभाड नगर्न नागरिकहरूलाई आग्रह पनि गरेका छन् । निर्माण सम्पन्न भएको एक वर्षसम्म पुलमा कुनै पनि समस्या आए त्यसको पुर्ण जिम्मेवार निर्माण कम्पनी हुने भन्दै स्थानीयलाई शंका नगर्न गिरीले आग्रह गरेका छन् । पुल अवलोकनका लागि शनिबार र आइतबार हजारौं आन्तरिक पर्यटन झुलुङ्गे पुल पुग्ने गर्छन् । फोटो भिडियो बनाउनेको भिडले मोटरसाइकल तथा साइकल आवागमनमा समेत निकै कठिन हुँदै आएको छ ।









