शेयेर गर्नुहोस
टीकापुर २४ कार्तिक /
मुलुक निर्वाचनमा टीकापुरमा अहिलेसम्म एउटै पदमा दोहरिएर उम्मेदवारले जितेका छैनन् । कैलाली क्षेत्र नं. १, प्रदेश ‘ख’ र टीकापुर नगरपालिकामा अहिलेसम्म कुनै पनि नेताहरु उम्मेदवार बन्दा दोहरिएर नजितेको इतिहास रहेको छ ।
टीकापुरका जनताले एक पटक जिताएका नेतालाई हेर्ने र उक्त जितेका जनप्रतिनिधिले राम्रोसंग काम नगरेपछि दोस्रो पटक जनप्रतिनिधि बन्नबाट रोक्ने गरेका छन् ।
संसदीय निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट २०४८ सालमा नेपाली कांग्रेसका गंगावहादुर कुँबर, २०५१ सालमा नेकपा (एमाले)बाट हिमाञ्चलराज भट्टराई, २०५६ सालमा सुशिला स्वाँर, २०६४ सालमा नेकपा (माओवादी)की रुपा चौधरी, २०७० साल मधेशी जनअधिकार फोरमका जनक चौधरी र २०७४ सालमा मधेशी जनअधिकार फोरमकै रेशम चौधरी बिजय भएका थिए । जितेका सांसद टीकापुर निर्वाचन क्षेत्र नं. १ बाट कहिल्यै दोहरिएका छैनन ।
यस्तै टीकापुर नगरपालिकामा २०५४ सालमा रत्नप्रसाद सञ्जाल र २०७४ सालमा तपेन्द्र रावल मेयरमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालका निर्वाचनमा टीकापुरमा नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारु निर्वाचित भएका छन् ।
यस्तै २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नं. १ को प्रदेश ख मा रणवहादुर रावल निर्वाचन भएका थिए ।
टीकापुरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई दोहरिएर कहिल्यै जितेको इतिहास छैन । यसपटक पनि टीकापुरका मतदाताले दोहर्याएर होइन नयाँ योग्य, क्षमतावान र युवा नेताको खोजिमा रहेका छन् ।
कैलाली क्षेत्र नं. १ मा नेकपा (एमाले)बाट तपेन्द्र रावल, नेपाली कांग्रेसबाट रामजनम चौधरी र नागरिका उन्मुक्ति पार्टीबाट श्रेष्ठ रन्जिता चौधरी उम्मेदवार बनेका छन् ।
रावल टीकापुर नगरपालिकाका पूर्वमेयर हुन भने रामजनम चौधरी कैलाली क्षेत्र नंं २ वाट २०४८ सालबाट लगातार पाँच पटक निर्वाचन जित्दै आएका हुन् । चौधरी २०७४ सालमा नेकपा (माओवादी केन्द्र) गौरीशंकर चौधरीसंग पराजित भएका थिए । यस्तै नागरिक उन्मुक्तिबाट उम्मेदवार बनेकी श्रेष्ठ रन्जिता रेशम चौधरीकी श्रीमति हुन् ।
यस्तै प्रदेश ख बाट एमालेबाट द्धारिकाप्रसाद न्यौपाने, कांग्रेसका रणवहादुर रावल र नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण चौधरी उम्मेदवार बनेका छन् । टीकापुर क्षेत्रमा मतदाताले निर्वाचनमा घोषणा गरेअनुसार काम नगरेको भन्दै प्रत्येक निर्वाचनमा जनप्रतिनिधिलाई फेर्ने गरेका छन् । अहिले पनि टीकापुरका जनताले पक्कै पनि पहिले जितेका उम्मेदवार भन्दा नयाँ, योग्य र युवालाई खोजिरहेका छन् । संघमा निर्वाचनमा तीन जना नयाँ हुन । यस्तै प्रदेशमा रावल वाहेक न्यौपाने र चौधरी नयाँ उम्मेदवार हुन् ।
प्रदेश ‘ख’ मा एमालेबाट उम्मेदवार बनेका द्धारिकाप्रसाद न्यौपाने टीकापुर बनाउने नयाँ भिजनका साथ चुनावी मैदानमा रहेकोले सवैको आशाका केन्द्र बनेका छन् ।
कर्णाली करिडोर, सत्तिस्थित पद्म प्रकाशेश्वर मन्दिरलाई कैलाश मानसरोबरमा जानुभन्दा अगाडि पूजा गरेर मात्र जानुपर्ने धार्मिक मान्यतालाई स्थापित गर्न, खेलकुद राजधानी, कृषक बैंक जस्ता योजना ल्याएकोले उनको पक्षमा महौल तातेको छ । त्यसैले नयाँ र युवा तथा केही गर्न सक्ने क्षमता भएका न्यौपानेलाई टीकापुरका जनताले मन पराएका छन् ।