टीकापुरबाट विश्वास जितेर फर्कने छु : बुढाथोकी

शेयेर गर्नुहोस


टीकापुर १५ असोज /
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले टीकापुर वासीको विश्वास जितेर फर्किने गरी टीकापुर आएको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र टीकापुरले सोमबार आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरीक्षक बुढाथोकीले शान्तिसुरक्षाका हकमा विगतको भन्दा राम्रो गर्दै टीकापुरवासीको विश्वास जितेर फर्किने बताएका हुन । “दिएका सुझावलाई आत्मसात गर्दै त्यसैअनुसारको सुरक्षा रणनीतिका साथ प्रहरीले काम गर्नेछ ।” उनले भने, “शान्तिसुरक्षाका हिसाबले सबैको मन जितेर फर्किने गरी टीकापुर आएको छु । यर साथ सहयोग भने टीकापुरको चाहिन्छ ।”
उनले यसभन्दा पहिलेको घटनाको तथ्यांकका आधारमा सुरक्षा रणनीति बनाउने बताउँदै सबै टोलटोलमा प्रहरी पुग्ने बताएका छन् । चाडपर्वहरु नजिकिँदै गएको स्थितिमा विशेष सुरक्षा रणनीति अपनाउने उनले बताएका छन् । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले शान्तिसुरक्षाका दृष्टिकोणले बजार क्षेत्रसँग गाउँघरमा पनि पहिलेको भन्दा राम्रो सुधार भएको बताउँदै त्यसलाई अझै प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । उनले सरकारी निकायमा सुशासनको माटो निकै संवेदनशील हुने गरेको बताउँदै सुशासन कायम भएको क्षेत्र हरेक कुरामा सफल हुने बताए ।
केन्द्रका संस्थापक अध्यक्ष गंगाबहादुर कुँवरले गलत नियतले गलत नतिजा दिने भन्दै प्रहरी जनताको साथी हो भन्ने सन्देश दिन आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रका पुर्व अध्यक्ष मोहननाथ योगीले भारतसँगको खुला सिमानाका कारण सुरक्षामा चुनौती थपेको बताउँदै त्यसतर्फ प्रहरी सचेत भएर लाग्नुपर्ने बताए । देवेन्द्र शाहले प्रहरी परिचालन बजार केन्द्रित मात्रै नभएर गाउँगाउँमा पनि परिचालन गर्नुपर्ने बताए । उनले बालबालिका भन्दा अभिभावकलाई सचेत गर्नुपर्ने धारणा राखे ।
समाजसेवी पवन देवी तिमिल्सिनाले व्यापारिक हिसाबले टीकापुरको अवस्था नाजुक रहेको भन्दै घरायसी सामानको नाममा भारतीय बजारबाट हुने आयातलाई रोक्नुपर्ने बताइन् । समाजसेवी दयाराम संज्यालले प्रहरी जनताको साझा बन्नुपर्छ धारणा राखेका छन् । ललित थापाले अभिभावक विहिन बालबालिकाका कारण टीकापुरको शान्तिसुरक्षामा चुनौती थपिएको बताउँदै प्रहरीले सकारात्मक आचरणका साथ निगरानी बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार मात्रै टीकापुर पुगेका प्रहरी नायब उपरीक्षक बुढाथोकीले टीकापुर क्षेत्रका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरिरहेका छन् । छलफलबाट आएका सुझावका आधारमा आगामी सुरक्षा रणनीति तयार हुने बताइएको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रका उपाध्यक्ष तारा प्रसाद अधिकारीले गरेका थिए भने स्वागत केन्द्रका कार्यसमिति सदस्य कल्पेश कुँवरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *