टीकापुरमा गठबन्धनको सम्भावना कम हुँदै

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०८ बैशाख /
टीकापुर नगरपालिकामा मेयरको लागि नेपाली काँग्रेस र माओवादी केन्द्रले लिखित रुपमै दाबी गरेका छन् ।
यसअघि नै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले टीकापुर नगरपालिकामा मेयरमा आफुहरुको दाबी रहेको बताइसकेको अवस्थामा बुधबार नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ टीकापुर नगर समिती र प्रदेश समितीले संयुक्त बिज्ञाप्ति जारी गर्दै आफुहरुले नगरपालिकामा मेयरको उम्मेदवार नपाएको खण्डमा गठबन्धन भत्किने बताएको हो । गठबन्धनको विपक्षमा देखिएको काँग्रेसले टीकापुरमा मेयरको टिकट मागेपछि अब टीकापुरमा गठबन्धन हुने नहुने कुरामा शंका पैदा भएको छ ।
माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा टीकापुरमा आफुहरु उपविजेता भएको बताउँदै आफुले मेयरको टिकट पाउनुपर्छ भन्ने अडान राख्दै आएको अवस्थामा काँग्रेसबाट आएको अडानले गठबन्धनलाई झन चुनौती थपेको छ । उसो त केन्द्रले पनि सहमति जुट्न नसकेका स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने सहमति समेत गरेको छ । यो अवस्थामा टीकापुरमा मित्रवत प्रतिस्पर्धा होला कि गठबन्धन भएर चुनावमा जाने सम्भावना होला त्यो चासोको विषय बनेको छ । अहिलेको जस्तो आआफ्नो दाबीले टीकापुरमा गठबन्धन नहुने संकेत पनि बढ्दै गएको छ ।
नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीका अध्यक्ष खडक शाहले टीकापुरमा आफुहरुले नै मेयरको टिकट पाउने दाबी गरेका छन् । उनले निति, नियम, विधि र सिद्धान्तलाई सबैले मान्नुपर्ने बताउँदै गठबन्धनको औचित्य पनि ती सिद्धान्तहरुलाई आत्मसात गर्नसके पछि मात्रै हुने बताएका छन् । “केन्द्रको निर्णयअनुसार २०७४ सालको स्थानीय तहमा जस्ले जहाँ जितेको छ त्यहाँ त्यसैको नेतृत्वमा चुनावमा जाने, जहाँ एमालेले जितेको छ त्यहाँ दोस्रो भएको पार्टीले नेतृत्व गर्ने भन्ने सहमति भैसकेको छ ।” नगर अध्यक्ष शाहले भने, “त्यसैअनुसार गठबन्धन अगाडि बढ्ने कुरा हो भने टीकापुरमा हामिले मेयरको उम्मेदवार पाउनुपर्छ । अहिले बाहिर जे बोले पनि हुने केही छैन ।”
उनले पार्टीले केन्द्रकै निर्णय नै मान्नुपर्छ भन्ने नभएको बताउँदै स्थानीय तहमा पनि केही अधिकार दिएकोले अन्तिममा आफ्नै निर्णयअनुसार अगाडि बढ्नुपर्ने अवस्था पनि आउन सक्ने बताएका छन् । “जुन सहमति केन्द्रिय तहमा भएको छ । त्यसको कार्यान्वयन भएर हामीले टीकापुरमा मेयरको टिकट पाउनुपर्छ । नभए हामी बिद्रोह गर्छौं । त्यस्तो अवस्थामा एक्लै पनि चुनावमा जानुपर्ने अवस्था आउन सक्छ ।” शाहले भने, “हामी गठबन्धनको विरोधी होइनौं । हाम्रो माग भनेको सम्मानजनक गठबन्धन हुनुपर्छ भन्ने चाहिँ हो ।”
नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले टीकापुरमा काँग्रेसले नै मेयरको टिकट पाउने दाबी गरेका छन् । उनले २०७४ सालको निर्वाचनमा पार्टी तेस्रो भएपनि पछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा समाहित भएपछि टीकापुरमा काँग्रेस पहिलो भएको बताउँदै काँग्रेसले नै पाउने विश्वास ब्याक्त गरेका छन् । “काँग्रेस कति टीकापुरमा कति बलियो छ भन्ने कुरा प्रदेश तहको निर्वाचनले पनि देखाइएको छ । हामी माओवादी मात्रै होइन टीकापुरमा एमाले भन्दा पनि अगाडि छौं । शाहले भने, “त्यसैले पनि मेयरको टिकट हामिले पाउँछौं । त्यसमा कसैले शंका नगरे हुन्छ ।”
क्षेत्रीय सभापति शाहले नगरपालिकामा मेयरको टिकट नपाएको खण्डमा काँग्रेस एक्लै पनि चुनाव लड्न सक्षम रहेको बताउँदै आफुहरु गठबन्धनको विपक्षमा नरहेको तर टिकटको बाडफाड गर्दा न्याय हुने गरी निर्णय हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *