शेयेर गर्नुहोस
टीकापुर १२ जेठ /
पछिल्लो समय टीकापुरमा नागरिकहरूले शान्तिसुरक्षाको प्रत्याभूति गर्न पाएको सरोकारवालाहरुले बताएका छन् ।
सामुदायिक सेवा केन्द्र टीकापुरको आयोजनामा भएको टीकापुरको शान्तिसुरक्षाको विषयक समिक्षा कार्यक्रममा सरोकारवालाहरुले पछिल्लो समयमा प्रहरी प्रशासनको सक्रियताले नागरिकहरूले शान्तिसुरक्षाको प्रत्याभूति गर्न पाएको बताएका हुन । समाजसेवी ललित थापाले टीकापुरमा आफ्नो दाइत्व बिर्सने परिपाटी रहँदै आएको बताएका छन् । उनले प्रहरी प्रशासनको कामको प्रशंसा गर्दै आफू अनुकुलतामा हुने कामहरुले समाजलाई विखण्डन तिर लैजाने गरेको बताए ।
“आज प्रहरी प्रशासनको कामले नागरिकमा आशा जागेको छ । तर प्रहरीले कुलतमा लागेकालाई कारबाही गर्दै गर्दा बिक्रि कर्तालाई पनि त्यो दायरामा ल्याउनुपर्यो ।” थापाले भने, “गलत एउटा गर्ने सजाय अर्को पाउने पनि भएको त्यसमा ध्यान दिनुपर्छ । किनभने यहाँ पैसामा कानुन पनि बिक्रि हुन्छ ।” त्यस्तै बिरेन्द्र साउँदले ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेर काम गर्न सकिने अवस्थामा मात्रै समाजलाई परिवर्तन गर्न सकिने भन्दै प्रहरी प्रशासनले मात्रै जिम्मेवार भएर समाजलाई परिवर्तन गर्न नसकिने बताएका छन् ।
जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिप कुमार चौधरीले कानुन सबैका लागि बराबर हुनुपर्ने भन्दै व्यावहारिक रुपमा सानो र ठूलो छुट्याउन नहुने बताएका छन् । उनले केही सामान्य कुरामा प्रहरी प्रशासन पनि नम्र हुनुपर्ने बताए । त्यस्तै सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष मोहन नाथ यौगीले शान्तिसुरक्षाका दृस्टीले टीकापुरमा ठूलो परिवर्तन भएको बताए । उनले ग्रामीण क्षेत्रका नागरिकहरूमा पनि प्रहरी छ भन्ने आभास भएको बताउँदै कैयौं आपराधिक घटनाहरुमा कमि आएको बताए ।
समाजसेवी सुर्यचन्द्र भट्टराईले अभिभावक आफ्नो बालबालिका प्रती जिम्मेवार नभएकै कारण सामाजिक रुपमा आपराधिक घटना बढेको बताउँदै त्यसको न्यूनीकरणमा प्रहरी प्रशासनको प्रयास सुखद रहेको बताए । “शान्तिसुरक्षामा राम्रा प्रयासहरु भएका छन् । यतिले सबै राम्रो भैहाल्यो भन्न मिल्दैन ।” भट्टराईले भने, “अझै धेरै गर्नु छ । ती कार्यहरुमा प्रहरी प्रशासन मात्रै नभई नागरिक सहभागिता पनि आवश्यक छ ।” नेकपा माओवादी केन्द्रबाट बालकृष्ण चौधरीले हिजो र आजलाई तुलना गर्दा धेरै कुरामा टीकापुरले एउटा लय समातेको बताएका छन् । उनले प्रहरी प्रशासनकै कारण बिछिप्त भएको टीकापुरले प्रहरी प्रशासनकै कारण सुधारको बाटो देखेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र टीकापुरका अध्यक्ष हरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक उद्घव सिंह भाट रहेका थिए । कार्यक्रमको सञ्चालन सचीव प्रकाश खड्काले गरेका थिए ।